काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो प्रभावित नागरिकको राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । संघ र सदस्य उद्योगहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेका हुन् ।
गत भदौ १० गते बुधबार बिहान चीनको सिजाङ (तिब्बत)तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासी लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको संघले जनाएको छ ।
बाढीका कारण धेरै नागरिकको मृत्यु तथा बेपत्ता भएको र ठूलो संख्यामा नागरिक घाइते भएको संघले जनाएको छ । घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको संघको भनाइ छ ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारले शीघ्र कदम चाल्नुपर्ने संघले जनाएको छ । साथै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापना तथा पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्नेमा संघले जोड दिएको छ ।
सहयोग रकमको चेक संघका अध्यक्ष विकास दुगडले संघका अन्य सदस्यहरूसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणलाई गति दिन सरकारसहित सबै सम्बन्धित पक्षको संवेदनशीलता, सहकार्य र सहयोग आवश्यक रहेको संघले जनाएको छ ।