नेपाली चिया क्षेत्र संकटमा परेको भन्दै तत्काल कूटनीतिक पहल गर्न नेफाको माग
काठमाडौं । चिया निर्यातमा पछिल्लो समय भारतीय बजारमा देखिएको प्रक्रियागत र प्राविधिक अवरोधप्रति नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन (नेफा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय पक्षको ढिलासुस्ती र अवरोधका कारण पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै संघले चिन्ता व्यक्त गरेको हो । नेपालबाट भारततर्फ निर्यात गरिएको तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षण र विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममै रोकिदिँदा नेपाली चिया उद्योगको उत्पादन, बिक्री वितरण र समग्र निर्यात श्रृंखला नै नराम्ररी प्रभावित भएको छ । भारतीय अवरोधका कारण विशेष गरी नेपालको पूर्वी क्षेत्रमा रहेका चिया उद्योगहरू बन्द हुन थालेका छन् भने सयौं चिया बगानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । हाल नेपालभर करिब १२० वटा चिया उद्योग सञ्चालनमा छन्, जसमा हजारौं किसान र करिब ५० देखि ६० हजार श्रमिकहरू आश्रित छन्। नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा सिर्जना भएको यो गतिरोधले सिंगो अर्थतन्त्रलाई नै धक्का दिएको नेफाले उल्लेख गरेको छ । धेरै संख्यामा श्रमिक र किसान जोडिएको यो संवेदनशील क्षेत्र ठप्प हुँदा नेपालको निर्यात व्यापार, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा जनाइएको छ । ‘चिया क्षेत्रको गतिविधि ठप्प हुनु भनेको नेपालको निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु हो । यस प्रकारको अवरोधले चिया उद्योगी तथा निर्यातकर्तालाई मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रलाई प्रतिकूल असर पु‍र्याएको छ,’ नेफाले भनेको छ । नेपालको निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणमा चिया क्षेत्रले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै संघले नेपाल सरकार समक्ष यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक पहल गर्न समेत आग्रह गरेको छ । संघले भारतीय सम्बन्धित निकायहरूसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएको प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाउन तथा व्यापारलाई सहज, सरल र निर्वाध बनाउन सरकारसँग माग गरेको छ। साथै देशको निर्यात व्यापार र आपूर्ति श्रृंखलाको सुदृढीकरणका लागि आफू सदैव प्रतिबद्ध रहेको जानकारी दिँदै नेफाले यस जटिल परिस्थितिमा चिया उद्योगी, निर्यातकर्ता र सम्पूर्ण सरोकारवालाहरूप्रति ऐक्यबद्धता समेत व्यक्त गरेको छ ।
बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना बन्द
काठमाडौं । ललितपुरस्थित सदर चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष–सदर चिडियाखानाले परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना बन्द गर्ने निर्णय गरेको हो । कोषका अनुसार संक्रमणका कारण सर्वसाधारण दर्शकको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै आज (असार ५ गते) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको हो । चिडियाखाना प्रशासनले सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको जनाएको छ । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना समेत गरेको छ ।
७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात् भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग ७२ हजार रूपैयाँ घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिबासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरी मुद्दा दायर गरेको छ ।