भोटेकोसी बाढी र अविरल वर्षाले विभिन्न राजमार्ग ठप्प

काठमाडौं । भोटेकोसी बाढी तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ । 

सडकको ठूलो भाग क्षतिग्रस्त भएपछि मानिससमेत आवतजावत गर्न नसक्ने गरी उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण मुगुबाट गमगढीतर्फ आउने सडकसमेत अवरुद्ध भएको छ । वर्षाकै कारण ओखलढुंगास्थित सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडकखण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन ।

यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Share News