गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ, निजगढ विमानस्थल बन्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् । ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।  राजनीतिक तथा कूटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनले बताए । पौडेलले भन्नुभयो, ‘घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ ।  यसका लागि काठमाडौँ जान पर्दैन ।’ मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवर्द्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने उनको भनाइ छ ।

तनहुँ जलविद्युतद्वारा ९६ योजना सम्पन्न, थप ७ वटा निर्माणाधीन

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत ७ योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ७ वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका-३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका-१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन् । आयोजनामार्फत् हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालनमा रहेको भण्डारीले उल्लेख गरे । उपभोक्ता समितिहरुमार्फत् सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन गरिएको छ । ऋषिङ गाउँपालिका-७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, भिमाद नगरपालिका-५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका-७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, भिमाद नगरपालिका-५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे गाउँपालिका-५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य र ऋषिङ गाउँपालिका-१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्य जारी छन् । आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीको भनाइ छ । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’ आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ । 

आजको मौसमले बढायो दोहोरो चुनौती, एकातिर भारी वर्षा, अर्कोतिर तातो लहर

काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।