‘हाम्रो गाडी लोकल होइन, एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ’

काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शाहले आफूहरूले अघि बढाइरहेको अभियानलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गर्दै निर्धारित गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

राष्ट्रिय पार्टीको प्रथम महाधिवेशनमा बोल्दै शाहले आफूहरूको काम योजनाबद्ध र नियन्त्रणमै रहेको दाबी गरे ।

‘हाम्रो गाडी लोकलमा होइन, एक्सप्रेसमा हिँडेको गाडी हो । यो अनियन्त्रित छैन । यो लोकल गाडी होइन, एक्सप्रेस गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ,’  उनले भने ।

आफ्नो नेतृत्वमा भएका कामको बचाउ गर्दै उनले बाढी नियन्त्रण र नदी व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे ।

‘हामीले बाढी रोकेर खोला फर्काएका हौं । यो हावा गफ होइन,’  उनले भने ।

सरकार र नेतृत्वबारे व्यक्त भइरहेका चिन्ताप्रति प्रतिक्रिया दिँदै उनले चिन्ता व्यक्त गर्नेहरूलाई धन्यवाद दिए । ‘सबै कुरा नियन्त्रणमा छ । कुनै पनि विषयमा अनावश्यक चिन्ता लिनु पर्दैन,’  उनले भने ।

शाहले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै ‘जनता सधैं स्पटलाइटमा रहन्छन् । हाम्रो सरकारले जनतालाई प्रतिबिम्बित गर्छ,’ भने ।

उनले आफ्नो राजनीतिक सोचलाई विकासमुखी रहेको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्ने बताए ।

‘हाम्रो पार्टी विकासवादी पार्टी हो । हामी प्रतिशोधको राजनीति गर्दैनौं । तर, कसैले निहुँ खोजे विगतमा भएका भ्रष्टाचार र अनियमितताका विषय उठाउन पछि पर्दैनौं’ , उनले भने ।

सीमा विवादबारे बोल्दै शाहले कालापानी–लिपुलेक नेपालको भूमि भएको दाबी दोहोर्याए ।

‘कालापानी–लिपुलेकका प्रमाण छन् । हामीले ब्रिटिसलाई मध्यस्थता गर्न खोजेका होइनौं । मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्ने आवश्यकता छैन, ’  उनले भने ।

उनले विगतको गुट-उपगुटको राजनीतिक अभ्यासबाट देशले अपेक्षित परिणाम नपाएको पनि उल्लेख गरे ।

Share News