काठमाडौं । गाजामा भएका इजरायली आक्रमणहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ, जसमा अल जजीराका एक क्यामेराम्यान र कम्तीमा एक बच्चा सामेल छन् । यो जानकारी स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरूले दिएका हुन् ।
अल जजीराले आफ्ना संवाददाता अहमद विशाहको हत्याको जघन्य अपराधको कडा निन्दा गरेको छ । अहमद विशाहको शनिबार मध्य गाजाको एक घरमा भएको आक्रमणमा मृत्यु भएको थियो ।
अल जजीराले अहमद विशाहको मृत्यु ुअन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको स्पष्ट उल्लंघन भएको र यसले पत्रकारहरूलाई निशाना बनाउने तथा सत्यको आवाजलाई दबाउने लगातार जारी एक व्यवस्थित नीतिलाई दर्साउनेु कुरा पनि उल्लेख गरेको छ ।
अर्कोतर्फ, इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आरोप लगाउँदै अहमद विशाहलाई हमासको सैन्य शाखासँग आवद्ध आतंकवादी बताएको छ र उनी ‘स्नाइपर अपरेटिभका रूपमा काम गरिरहेका थिए’ भनेको छ।
तर, इजरायली सेनाले यस दाबीको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेको छैन ।
गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबीच लागू भएको युद्धविराम यता इजरायली सेनाको कारबाहीमा १,००७ जनाको मृत्यु भइसकेको छ।
गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्दै आएकाे छ ।