काठमाडौं । नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुने भएको छ । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्नुपर्ने भएकाले ५ दिन इन्टरनेट, टेलिफोन तथा एनआईटीभी सेवा अवरुद्ध हुने जनाएको हो ।
टेलिकमका अनुसार असार ८ गते राति १० बजेपछि सोमबार आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय लगायत आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्नेछ ।
यस्तै, असार ९ गते मंगलबार राति १० बजेपछि लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक, ब्रह्मा चोक, रामटोल तथा बाइपास रोड आसपासका क्षेत्रमा सेवा प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ ।
यस्तै, असार १० गते बुधबार राति १० बजेपछि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्ने जनाइएको छ ।
त्यस्तै, असार ११ गते बिहीबार राति १० बजेपछि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना आसपास, तेजारथ टोल, मुरली बगैँचा, पावर हाउस चोक, गण्डक आसपास, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय आसपासका क्षेत्रमा सेवा प्रभावित हुनेछ ।
असार १३ गते शनिबार बिहान ५ बजेपछि माइस्थान आसपास, महावीर गल्ली क्षेत्र, नेपाल टेलिकम घण्टाघर तथा रेडक्रस आसपासका क्षेत्र, श्रीपुर, रानीघाट, रामगढवा लगायत आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्नेछ ।
