रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा पछाडि धकेलिँदै गएपछि महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने संकेत देखिएको छ । सोमबार बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिन सक्ने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले कार्यक्रम प्रभावित हुन सक्ने विषयमा महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल गरिएको थियो । ‘बन्दसत्र ढिला भएर हामी आत्तिएका छैनौं । यसलाई स्वाभाविक रूपमा लिएका छौं । यस्ता सम्भावनाका कारण महाधिवेशन एक दिन लम्बिन सक्छ भन्ने विषयमा अस्ति केन्द्रीय समितिको बैठकमै चर्चा भएको थियो । त्यसैले हामी मानसिक रूपमा तयार छौं,’ झाले भने । रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहे पनि प्रतिनिधि व्यवस्थापन, दाबी–विरोध तथा नेतृत्व चयनसम्बन्धी आन्तरिक छलफलका कारण निर्धारित समयमा कार्यक्रम अगाडि बढ्न सकेको छैन । यसैबीच, महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको रास्वपाले जनाएको छ । प्रवक्ता झाले सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि दर्ता भएको जानकारी प्राप्त भएको बताए । प्रतिनिधिको संख्या बढेसँगै व्यवस्थापन र प्रक्रियागत काममा थप समय लागेको उनको भनाइ छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । महाधिवेशनको कार्यसूची प्रभावित भए पनि नेतृत्व भने प्रक्रिया सम्पन्न गरेर मात्रै कार्यक्रम टुंग्याउने तयारीमा रहेको छ ।

प्रधानमन्त्रीले हात्ती प्रजनन केन्द्रको गरे निरीक्षण

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको सोमबार निरीक्षण गरेका छन् ।  प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् । 

३० अर्बका कार आयात, २५ अर्बभन्दा बढी राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् साउन देखि जेठसम्ममा नेपालमा कुल १५ हजार ४६६ युनिट कार, जीप र भ्यान आयात भएको छ । भन्सार विभागका अनुसार यस वर्ष पेट्रोलियम र विद्युतीय (ईभी) दुवै गरी समग्र कार आयातमा गत वर्षको तुलनामा साढे १० प्रतिशत (१ हजार ७८६) युनिटले गिरावट आएको हो ।  गत वर्षको जेठ मसान्तसम्म कुल १७ हजार २७२ युनिट सवारी साधन भित्रिएका थिए । चालु आवको ११ महिनामा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात हुँदा सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत वर्ष सोही अवधिमा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएका थिए। विगतका वर्षहरूमा ईभीको दबदबा रहे पनि चालु आवको ११ महिनामा विद्युतीय कार आयातमा १९.२७ प्रतिशतले गिरावट आएको छ ।  गत वर्ष यस अवधिमा १३ हजार ४९२ युनिट ईभी कार भित्रिएकोमा चालु वर्ष घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ ।  चालु आवमा कुल २५ अर्ब ६८ करोड रुपैयाँ बराबरका ईभी भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ । विगतका वर्षहरूमा बजेट अगाडि वैदेशिक मुद्रा र नीतिगत परिवर्तनको डरले ठूलो संख्यामा गाडी आयात हुने गरे पनि यसपालि त्यसो नहुँदा समग्र तथ्यांक घटेको हो । यद्यपि, जेठ महिनामा मात्रै २ हजार युनिट ईभी आयात भएका छन् । व्यवसायीहरूका अनुसार गत वर्ष जेठमा भित्रिएका ३ हजारभन्दा बढी ईभीहरू अझै पूर्ण रूपमा बिक्री भइसकेका छैनन् । क्षमताका आधारमा चालु आवमा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ७९८ युनिट र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएका छन् भने ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएका छन् । यसैगरी, चालु वर्षमा ईभीको आयात सुस्ताउँदा पेट्रोल कार (आइस) को मागमा भने उत्साहजनक सुधार देखिएको छ । ११ महिनाको अवधिमा पेट्रोल कारको आयात २१.६२ प्रतिशतले बढेर ४ हजार ५७४ युनिट पुगेको छ ।  जुन गत वर्ष सोही अवधिमा ३ हजार ७६१ युनिट मात्र थियो । बजारमा पेट्रोल गाडीको माग बढे पनि पछिल्लो समय इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयातको गति केही सुस्ताएको छ ।  नेपालको पेट्रोल कार बजारमा हुन्डाईको वर्चस्व देखिएको छ । आयात भएका कुल पेट्रोल कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल (खुला पार्टपूर्जा) रहेका छन् ।