अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
काठमाडौं । बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् । दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो । प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उनले बताए । हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ । क्रमशः नसक्नेका लागि एक/दुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उनले बताए । उनले भने, ‘म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ ।’ मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा. बगालेले बताए । स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ । आजदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ । क्रमशः काउन्टर घटाउँदै लैजाने उनले बताए । रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ । परीक्षण गर्दा दिईएको रसिदमा रहेको बार कोर्ड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ । अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गर्दछन् । सबै सुविधा अस्पतालमा हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन् ।
विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
काठमाडौं । गर्मीसँगै विद्युतीय उपकरणको अत्याधिक प्रयोगलाई धान्न नसक्दा विद्युत् आपूर्ति अनियन्त्रित हुनाका साथै सेवा प्रभावित भएको छ । कतिपय ठाउँमा ट्रान्सफर्मरहरूमा समस्या आउने गरेको छ भने कतिपय ठाउँमा तार जलेर चुडिने समस्या आउने गरेको हो । प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै अस्वभाविक माग हुँदा पुराना तारमा भार बढेर जल्ने गर्दछ । एकै पटक धेरै ठाउँमा यस्ता समस्या आउँदा प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने र समय लाग्ने गरेको उनले बताए । उनले भने, ‘मेसिन तार भएको ठाउँमा पग्लिने, तार जोडेको ठाउँमा चुडिने, ट्रान्सफर्मरमा रहेको फ्युज जल्ने, ट्रान्सफर्मर नै जल्ने समस्या हुने गरेको छ । हामी सीमित स्रोत साधनमा काम गर्नुपर्दा, समयमा काम भ्याइएको छैन ।’ गर्मीले घर, कार्यालयमा एसी, पङ्खालगायत उपकरण चल्ने, किसानले मोटर चलाएर खेत रोपाई गर्नेजस्ता काम गर्दा विद्युत्को खपत बढेको छ । हरेक वर्ष १० प्रतिशत विद्युत्को माग बढ्ने उनी बताउँछन् । भरतपुर महानगरको अधिकांश भाग र इच्छाकामना गाउँपालिका क्षेत्र हेर्दै आएको यस कार्यालयमा ७५ हजार ५०० ग्राहक छन् । हरेक वर्ष तीन हजार हाराहारी ग्राहक थपिने गरेको उनले बताए । दिगो समाधानका लागि ट्रान्सफर्मर थप गरी कमजोर तार परिवर्तन गरी स्तरोन्नति आवश्यक रहेको छ । चौधरीले पावर ट्रान्सफर्मरको अवस्था भने २० वर्ष धान्ने गरी व्यवस्था भएको बताए । आँपटारीमा रहेको नयाँ सवस्टेशनमा ९० मेघावाटको पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता बनाइएको छ । बसेनीमा रहेको स्टेशनमा ११२.५ मेघावाट पावर ट्रान्सफर्मर रहेको छ । उनले भने, ‘हामीसँग विद्युत्को अभाव छैन, तार र ट्रान्सफर्मर समस्या हो ।’ ट्रान्सफर्मर जडान गर्नुपर्ने ठाउँहरूमा स्थानीयको अवरोधका कारण कतिपय ठाउँमा जडान गर्न नसकिएको उनले बताए । १४ ठाउँमा पोष्ट तयार गरिएको छ । छिट्टै ती ठाउँमा ट्रान्सफर्मर आउने पनि उनले बताए ।
कमीकमजोरी हटाएर पार्टीलाई नयाँ उँचाइमा लैजान्छौं: संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा आज (बुधबार) आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म सङ्गठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पु¥याउने अठोट व्यक्त गरे । ‘हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौं । सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,’ संयोजक दाहालले भने, ‘विगतमा जस्तै राष्ट्रिय स्वाधिनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीबाट सुधारिनेछौं र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ ।’ आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभइ वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्नेगरी अघि बढ्ने उनले बताए । ‘पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौं । हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिने छौं,’ संयोजक दाहालले भने । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए । राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले बामपन्थी दलहरूकाबीचमा सहकार्य हुने उनले उल्लेख गरे । ‘पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्, पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ । तत्कालै कम्युनिष्ट पार्टीबीच एकता हुँदैन’, सहसंयोजक नेपालले भने । उनले ठूलो पार्टी कमिटी नबनाउन आग्रह गर्दै उनले गाउँगाउँका जनताको बीचमा पार्टीलाई स्थापित बनाउने गरी खटिन निर्देशन दिए । कार्यक्रममा पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज श्रीनाथ बराल, केन्द्रीय सदस्य ज्ञानु आचार्य, शिव बास्तोला, पार्टी प्रदेश संयोजक कृष्ण नेपाली, सहसंयोेजक गायत्री गुरुङलगायतले तल्लो तहसम्मको पार्टी एकतालाई छिटो पूर्णता दिएर जनताको बीचमा जाँदा पार्टीप्रतिको जनआकर्षण वृद्धि गर्न सकिने बताएका थिए । कार्यक्रममा गण्डकीका ११ वटै जिल्लाका संयोजकहरूले चुनावी समीक्षा तथा एकता प्रक्रियाका बारेमा रिर्पोटिङ गरेका थिए ।