सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट

काठमाडौँ । किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।   सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८० प्रतिशत कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट गरेको छ । त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक रु एक लाख र घातक रोगका हकमा सेवा अवधिभर रु १० लाखसम्म उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पताल  जनाएको छ । सो अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवाको उपचारमा सो छुट पाइने छ । कोषले उपलब्ध गराएको परिचयपत्रसहित अस्पतालमा रहेको सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी सेवाग्राहीले सहज रुपमा विशेष छुट लिनसक्ने सो अस्पतालले जनाएको छ ।     

डेटएक्सपायर वस्तु भेटिएपछि अदोरा होल्डिङ्सलाई साढे २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका-३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यवसायिक फर्महरूको बजार अनुगमन गर्ने क्रममा अदोरा होल्डिङ्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ठ) विपरीत म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएको जनाएको छ। उक्त कसुर ऐनको दफा ३८(ङ) अन्तर्गत प्रमाणित भएपछि दफा ३९(१)(ख) बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अन्य केही व्यवसायलाई भने आवश्यक निर्देशन दिएको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित बागबजार स्टोर, ललितपुर महानगरपालिका-४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालि, गोकर्णेश्वर नगरपालिका-५, नयाँवस्तीस्थित एभरेष्ट फ्युल डिष्ट्रीब्यूटर्स, काठमाडौं महानगरपालिका-२९, पुतलीसडकस्थित टेक्नो ट्रेड प्रालि, काठमाडौं महानगरपालिका-३१, देवकोटा मार्गस्थित रुद्र किचेन मार्ट स्टोर तथा मध्य बानेश्वरस्थित प्रिन्स मार्ट प्रालिलाई सामान्य निर्देशन दिइएको छ। विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु खानेपानी लिफ्ट आयोजनामा भ्रष्टाचार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरिस कन्सक्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका अनुुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित उक्त लिफ्ट खानेपानी आयोजनाको ठेक्का सम्झौता शिरिस कन्स्ट्रक्सन, भक्तपुरसँग भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेपछि गाउँपालिकाको बैठकले २०७८ माघ २९ मा ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने र बैंक जमानत जफत गर्ने निर्णय गरेको थियो । तर, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निर्माण कम्पनीका सञ्चालकसँगको मिलेमतोमा उक्त निर्णय लुकाएको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोग लागेको छ ।  अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुेवदी र कन्सक्ट्रक्सनका सञ्चालक राईलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।