मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी एजेन्डामाथि छलफल हुने जनाइएको छ । 

असई विक मृत्यु प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई पाँच वर्ष कैद

जनकपुरधाम । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो । यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरु प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (३) नम्बरबमोजिम जन्मकैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेलले जानकारी दिए । महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई २०८० मङ्सिर २८ गते जन्मकैद र पूर्वसांसद महतो तथा पवन कापरलाई सफाइ दिएको थियो । महोत्तरी जिल्ला अदालतको जन्मकैदसम्बन्धी फैसला मिलेको ठहर गर्दै तीनै जनाको हकमा फैसला सदर गरेको सूचना अधिकारी पाण्डेले बताए । उच्च आदलतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको, तीनै जना प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानको क्रममा तीनै जनाले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृतसमक्ष उनीहरुको संलग्नता पुष्टि गर्ने काज गरेको उल्लेख छ । घटनास्थलको तस्बिरबाट पनि प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ । यस्तै पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने कथन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ट प्रमाण नभेटिएको तर जन्मकैद सजाय पाएका प्रतिवादीहरुको पोलयुक्त बयानका आधारमा उनीहरु ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐनको ज्यानसम्बन्धीको १७(२ं) नम्बरको कसुर गरेको ठहर गरिएको उल्लेख छ । मधेस आन्दोलनका क्रममा गत २०७२ भदौ २५ गते कार्यस्थलको लागि महोत्तरी आएका असई विकको आन्दोलनकारीको कुटपिट मृत्यु भएको जनाइएको छ ।

प्रतिनिधि सभा आज बस्दै, सहकारी संशोधन विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सरकारले तीन महत्वपूर्ण संशोधन विधेयक पारित गराउने तयारी गरेको छ । बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ । त्यसपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ पेश गरी अन्ततः विधेयक पारित गर्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश गरिएको छ । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ । त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन् । संशोधनहरू टुंग्याएपछि उक्त विधेयक पनि आजै प्रतिनिधि सभाबाट पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा सरकारले सार्वजनिक खरिद प्रणाली, सम्पत्ति शुद्धिकरण नियन्त्रण तथा सहकारी क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा महत्वपूर्ण संशोधनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।