काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ ।
सरकारले बाढीपीडितका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न थालेको हो ।
पछिल्लो ६ घण्टामा विभिन्न दाता तथा कम्पनीबाट २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि परिचालन गरिनेछ ।
बाढीबाट रसुवालगायत प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएपछि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सरकारको राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ ।
