काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारेको छ ।
बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
गृह प्रशासनका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् ।
सडक सञ्जाल अवरुद्ध भएका कारण कतिपय क्षेत्रमा उद्धार टोलीलाई स्थलमार्गबाट पुग्न कठिन भएपछि हवाई तथा पैदल मार्गबाट उद्धार अभियान सञ्चालन भइरहेको छ ।
विशेषगरी स्थलगत पहुँच कठिन र जोखिमपूर्ण स्थानमा हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको छ ।
नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म ६९ पटक उडान भरेर ३५१ जना नागरिकको हवाई उद्धार गरेका छन् ।
सुरक्षाकर्मीहरूले ज्यान जोखिममा राखेर उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको खोजी, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउँदै लगेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि जोखिम कायम रहेकाले बेपत्ता तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ ।