काठमाडौं । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको सूचनाप्रति मौसम पूर्वानुमान महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ ।
महाशाखाका अनुसार असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेबारे कुनै पनि पूर्वानुमान गरिएको छैन । पछिल्लो मौसमी गतिविधिमा समेत खासै फेरबदल नदेखिएको भन्दै महाशाखाले यस्ता भ्रामक सूचनाको पछि नलाग्न र त्यस्ता सूचना नफैलाउन आग्रह गरेको छ ।
मौसमसम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित रूपमा अद्यावधिक हुन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।