आलोचना बढेपछि सरकारले खेलाडीलाई पुरस्कार दिने भयो
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा उनीहरूको प्रशिक्षण र व्यवस्थापनमा संलग्न जनशक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट (फिजियो) तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । सरकारका अनुसार उक्त निर्णयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने खेलाडी र उनीहरूको सफलतामा योगदान पुर्याउने प्रशिक्षक तथा सहयोगी टोलीको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यस निर्णयसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक जित्ने खेलाडी र उनीहरूको तयारी तथा प्रदर्शनमा प्रत्यक्ष भूमिका खेल्ने प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकले सरकारले तोकेको मापदण्डअनुसार नगद पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् । यसअघि यस्ता खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरिए पनि प्रदान नगरेको गुनासो खेलाडीले गर्दै आएका थिए ।
मिटरब्याज सम्बन्धी प्रतिवेदनहरू कार्यान्वयन गरिने
काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको निर्णयबमोजिम मिटरब्याज समस्याका विषयमा अघिल्लो समय गठन भएका विभिन्न आयोगले दिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णय गरेको हो । सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउने, अनुचित लेनदेन नियन्त्रण गर्ने तथा आयोगहरूले दिएका सुझाव र सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ । यस निर्णयसँगै मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदनमा उल्लेख भएका सिफारिस, कानुनी सुधार, पीडितको संरक्षण तथा दोषीमाथिको कारबाहीलगायतका विषय कार्यान्वयन प्रक्रियामा अघि बढ्ने अपेक्षा गरिएको छ । सरकारले गृह मन्त्रालयलाई आवश्यक समन्वय गरी आयोगका प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हाे ।
निगममा नयाँ अभ्यास, एकै व्यक्ति अध्यक्ष र महाप्रबन्धक
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गरेकाे हाे । उक्त निर्णयअनुसार उनले सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत निर्वाह गर्नेछन् । महाप्रबन्धकको जिम्मेवारीसमेत कार्यकारी अध्यक्षलाई दिइएपछि निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व एउटै पदमार्फत सञ्चालन हुने भएको छ । सरकारले निगमको व्यवस्थापनलाई थप प्रभावकारी, निर्णय प्रक्रियालाई छरितो तथा संस्थागत सुधारलाई गति दिने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले निगमको दैनिक प्रशासन, सञ्चालन तथा रणनीतिक व्यवस्थापनको नेतृत्व गर्नेछन् ।