वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौं ।  नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले भने, निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पुर्ण रुपमा समर्पित हुनेछु । कार्यकारी अध्यक्ष श्रेष्ठले जिम्मेवारी निकै चुनौतीपुर्ण भए पनि आफ्नो अनुभव, विज्ञता र सम्बन्धका आधारमा निगमलाई आत्मनिर्भर बनाउने अठोट व्यक्त गरे । हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।   विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त हुनुभएका श्रेष्ठलाई नेपालको हवाई सेवाको क्षेत्रमा विषयविज्ञ, अनुभवी र सफल व्यक्तित्वका रूपमा लिइन्छ । यसअघि उनले निगमको बजार विभाग, संस्थागत विभाग र व्यवसाय प्रवर्द्धन विभागको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।  बेलायतको लण्डनस्थीत वेस्टमिनिष्टर विश्वविद्यालयबाट हवाई यातायात सम्बन्धमा अध्ययन गरेर फर्किने श्रेष्ठ पहिलो नेपाली हुन् । उनले क्यानडामा पनि हवाई सेवा सम्बन्धमा अध्ययन गरेका छन् भने अमेरिका र भारतका प्रतिष्ठीत शैक्षिक संस्थाबाट हवाई सेवाको व्यवस्थापन, योजना निर्माण, बजार प्रवर्द्धनलगायतका विषयमा अध्ययन पुरा गरेका छन् ।  अनुभवी, विषयविज्ञ र उडान सेवाको क्षेत्रमा राम्रो छवि भएका व्यक्ति भएकाले सरकारले श्रेष्ठलाई निगमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले श्रेष्ठसहित पाँच जनालाई यसअघि नै खुल्ला प्रतिस्पर्धाका आधारमा निगमको बोर्ड सदस्यको रूपमा छनौट गरेकामा उनलाई अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।       

जोखिमयुक्त उद्धारमा खटिने सशस्त्र प्रहरीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

काठमाडौं । रकारले विपद् खोज तथा उच्च जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । असार ३० गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार उच्च जोखिमयुक्त उद्धार कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मासिक रूपमा आफ्नो तलबको १५ प्रतिशत र उद्धारमा खटिएको दिन प्रतिव्यक्ति दैनिक ५ सय रुपैयाँका दरले जोखिम भत्ता पाउनेछन् ।  यो व्यवस्था विशेष गरी गोताखोर, उच्च भूभाग, खोंच तथा हिमाली क्षेत्र जस्ता चुनौतीपूर्ण स्थानमा खटिने सुरक्षाकर्मीहरूका लागि लागू हुनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेतृत्व सम्हालेदेखि नै यस विषयलाई उच्च प्राथमिकतामा राखेर पहल गर्दै आएका थिए । सरकारको यस रणनीतिक निर्णयले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप चुस्त, प्रभावकारी र हौसलापूर्ण बनाउन ठूलो मद्दत पुग्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।

४८ करोड कर्जा दुरुपयोग गरेको आरोपमा एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी तथा एशियन भिलेज रिसोर्ट प्रा.लि.का अध्यक्ष शशीधर शर्मा पक्राउ परेका छन् ।  नेपाल राष्ट्र बैंकको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिई एशियन भिलेज रिसोर्ट प्रा.लि.का अध्यक्ष शर्मालाई काठमाडौंको पिङ्गलास्थानबाट पक्राउ गरेको हो ।  नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त रिसोर्टले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी, पछि गर्ने कबुलियतनामा गराएर कर्जा लिएको खुलेको थियो ।  रिसोर्ट निर्माणका लागि लिइएको उक्त मोटो रकम अध्यक्षले आफ्नो पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । कर्जाको रकम तोकिएको शीर्षकमा खर्च नगरी अन्यत्रै प्रयोग गरेर ’बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ को दफा ८ बमोजिम कर्जा दुरुपयोगको कसूर गरेको देखिएपछि राष्ट्र बैंकले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । पक्राउ परेका ती व्यक्तिमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।