पुँजी बजारमा सेबोन आक्रामक : शुल्क घट्ने, आईपीओ प्रक्रिया र सामाजिक सञ्जालमा कडाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ता संरक्षण, आईपीओ प्रणाली सुधार, मार्जिन कारोबार कार्यान्वयन, शुल्क पुनरावलोकन र सामाजिक सञ्जालमार्फत हुने अनधिकृत लगानी गतिविधिमाथि कडा निगरानी गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजार सुधारका प्राथमिकता सार्वजनिक गर्दै सेबोनले यस्तो जनाएको हो । मंगलबार जारी गरेको प्रेस नोटमा बोर्डले नेपालको पुँजी बजारमा संस्थागत विकास, डिजिटल प्रविधिको विस्तार र लगानीकर्ताको पहुँच बढेको उल्लेख गरेको छ ।  तर बजारको आकार, वित्तीय उपकरणको विविधता, संस्थागत लगानीकर्ताको भूमिका र कर्पोरेट ऋणपत्र बजार अझै सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धान प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वय मजबुत बनाइने सेबोनले जनाएको छ ।  सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार र वित्तीय ठगीमाथि कडा निगरानी गरिनेछ ।  त्यस्तै, विशेषगरी फिनफ्लुएन्सरहरूको गतिविधिमाथि निगरानी बढाइने सेबोनको भनाइ छ । आईपीओ प्रक्रिया थप व्यवस्थित बनाउन नीतिगत सुधार गरिनुका साथै कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय पक्षको वस्तुपरक मूल्याङ्कनपछि मात्र आईपीओ निष्कासन अनुमति दिने व्यवस्था लागू गरिने सेबोनले जनाएको छ । मार्जिन कारोबार निर्देशिका कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेप्से, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी आवश्यक व्यवस्था छिट्टै मिलाइने सेबोनले जनाएको छ । सेबोनका अनुसार दोस्रो बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न म्युचुअल फन्डको लक–इन अवधि र बाँडफाँट व्यवस्था पुनरावलोकन गरिनेछ ।  लगानीकर्ताको कारोबार लागत घटाउन प्राथमिक र दोस्रो बजारका शुल्क पनि पुनरावलोकन गरिने पनि जनाइएको छ । बोर्डले नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लोट सेयरका आधारमा नयाँ बेन्चमार्क सूचकाङ्क विकास गर्ने योजनासमेत अघि सारेको छ । आईपीओ जारी हुनुअघि सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट संगठित रूपमा पुँजी संकलन गर्ने अभ्यासलाई पनि नियमनको दायरामा ल्याइने बोर्डले स्पष्ट गरेको छ । बोर्डले ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ र आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यान्वयन कार्ययोजना वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

बुधबारदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको सहज आपूर्तिसँगै भोलि (बुधबार) देखि उपभोक्ताले बजारमा पूरा सिलिन्डर ग्यास किन्न पाउने भएका छन् ।  नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै असार ३१ गतेदेखि साविक बमोजिमकै १४.२ केजीको भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो   यसअघि ग्यासको अभावका कारण निगमले ७.१ केजीको आधा सिलिन्डर मात्र बिक्री गर्दै आएको थियो। उपभोक्ताको माग र बजारमा आपूर्ति सहज भएसँगै निगमले यो कदम चालेको हो ।  निगमका अनुसार अब बजारमा उपलब्ध हुने १४.२ केजीको भरी सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकिएको छ । यद्यपि, बजारमा रहेका आधा सिलिन्डरहरू पूर्ण रूपमा फिर्ता वा प्रतिस्थापन नहुँदासम्मका लागि केही समय ७.१ केजी र १४.२ केजी दुवै नापका सिलिन्डरहरू समान्तर रूपमा बिक्री भइरहने निगमले जनाएको छ । आयल निगमले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग यकिन गरेर मात्र लिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।

पूर्वअर्थमन्त्री पौडेलसँग कारोबार देखिएपछि शशिधर पौडेल पक्राउ

काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग कारोबार देखिएपछि बुटबलका शशिधर पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार (आज) शशिधरलाई पक्राउ गरेको सीआईबीका प्रमुख उमा चतुर्वेदीले पौडेललाई पक्राउ गरेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको हो ।  पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।  पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौंपटक तीन दिनको म्याद थप गरेको छ  ।