हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम क्षेत्रमा टेलिकमको टुजी र फोर-जी सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नम्बर २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । त्यसैगरी, बारा जिल्लाको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया, कलैयामाई लगायत क्षेत्रका ४ वटा विद्यालय क्षेत्र र भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका ५ वटा विद्यालय क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् । रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका आसपासका बस्तीहरू लाभान्वित भएका छन् । त्यस्तै, नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा बाहुनबेसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै सो क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् । यस सेवा विस्तारले स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक कार्य र डिजिटल बैंकिङलाई सहज बनाउनुका साथै पर्यटकीय एवं सीमावर्ती क्षेत्रमा पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
व्यापारी अग्रवालले भाडाको घरबाट हामफालेर गरे आत्महत्या
काठमाडौं । व्यापारी नवीन अग्रवालले चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले सोमबार बेलुकी ६ बजे उनले कामपा– ७, कुमारीगालको एक घरबाट हामफालेको जानकारी दिए । उनका अनुसार अग्रवाल सोही घरमा तेस्रो तलामा भाडामा बस्दै आएका थिए । अग्रवाललाई स्थानीयले देखेर स्तुपा अस्पतालमा लगेका थिए । उनको साढे ७ बजे बेलुकी मृत्यु भएको प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार अग्रवाल उच्चरक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य (डिप्रेसन) को औषधि सेवन गर्दै आइरहेका थिए । अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे ।
पोखरामा श्रृङ्खलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ, ४ जना विदेशी
काठमाडौं । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ । पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निसाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव तथा चीनको वन्जाका ३० वर्षीय वेन जी र स्याङडोङका ३७ वर्षीय वाङ लिया इन रहेका छन् । यस्तै, चोरीमा संलग्न तथा सहयोग गर्ने नेपाली नागरिकहरूमा स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल विक रहेका छन् । प्रहरीका अनुसार यो गिरोहले योजनावद्ध रूपमा भूमिका बाँडफाँड गरी चोरी गर्ने गरेको पाइएको छ । भारतीय नागरिकहरू प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँ नागरिकहरूले चोरीपूर्व ‘रेकी’ (निगरानी) गर्ने र नेपाली सहयोगीहरूले घर देखाउने तथा चोरीका सामान किनबेचमा सहयोग गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार चिनियाँ नागरिकहरूले नेपाली र हिन्दी भाषा बुझ्ने भएकाले समूहमा सञ्चार गर्न सहज भएको छ । गिरोहले पोखरामा २०८३ असार १४ गते पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनचाँदीका गहना र ७० हजार रुपैयाँ, असार ४ गते पोखरा–१७ छोरेपाटनका शिवप्रसाद बरालको घरबाट सुन, नगद १ लाख १५ हजार, ल्यापटप र मोबाइल, २०८३ असार १५ गते पोखरा–१८ भकुण्डेका गिरिधारी श्रेष्ठको घरबाट १ तोला ५४ लाल सुन र दुई थान मोबाइल, २०८३ असार २३ गते, पोखरा–८ का मोहसिन खतामीको कोठाबाट मोबाइल र ८५ हजार नगद, २०८३ असार २३ गते पोखरा–६ लेकसाइडका हिरामणी लामिछानेको घरबाट आइफोन लगायतका सामग्री चोरी गरेका छन् । प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, विभिन्न तौलका सुनका ढिक्का र टुक्राहरू (करिव १५ तोला) र नगद २ लाख ८१ हजार २२० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान भइरहेको पासवानले जानकारी दिए । यसैबीच, कास्की प्रहरीले सार्वजनिक बसमा यात्रुको पर्स चोरी गर्ने अर्को एक गिरोहलाई पनि पक्राउ गरेको छ । असार ३२ गते रूपा गाउँपालिकाबाट पोखरा आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा अनिता श्रेष्ठको पर्स चोरी गर्ने रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाईं, ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय टेकबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट चोरी भएको सुनको हार, चाँदीको औंठी र नगद बरामद गरिएको छ । पछिल्लो समय स्थानीय व्यक्तिहरू भन्दा पनि बाहिरी जिल्ला र विदेशी नागरिकहरू समेत चोरीमा संलग्न हुनुले सुरक्षा चुनौती थपिएको प्रहरीको विश्लेषण छ । पक्राउ परेका सबैमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।