४८ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व संकलन गरेको  छ ।   रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, अन्य  सेवा शुल्कबाट ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख २८ हजार ३०० रुपैयाँ, चालक अनुमति पत्र प्रदानबाट आठ करोड ५३ लाख ३३ हजार ४७५ रुपैयाँ,  दण्ड जरिवाना र जफतबाट एक लाख तीन हजार १०० रुपैयाँ र सवारी साधन करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ रुपैयाँ जम्मा भएको सूचना अधिकारी लेखप्रसाद आचार्यले बताए ।   

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं । स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ पुनः सक्रिय बनाउने तयारी गरेको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६’ को दफा ५ बमोजिम गठन भइसकेको उक्त समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा हुने तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो । ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ । अदालतको फैसलाबमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ । ऐनअनुसार समितिको अध्यक्ष मन्त्रालयका सचिवले तोकेको मन्त्रालयको बाह्रौँ तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था छ । साथै, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्य–सचिव पनि रहनेछन् । हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग चर्किरहेका बेला मन्त्रालयले निष्क्रिय रहेको यो समितिलाई सक्रिय बनाएर तत्काल देखिएका समस्या समाधान तथा आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको हो ।  

ऊर्जा मन्त्री विराजभक्तको विज्ञ सल्लाहकारमा विवेक राज कँडेल नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन् ।  सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्नेछन् ।  साथै, उजले बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान पुर्याउनेछन् ।  त्रिभूवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए)  तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् ।  उनीसँग युएन डीपी, विश्व बैंक र आइरिनालगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा डेढ दशकभन्दा बढी काम गरिसकेको अनुभव छ ।