प्रदीप अधिकारीलाई १० वर्षको कैद माग, पौने २ करोड बिगो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्कापट्टा दिलाएबापत १ करोड ७१ लाख रुपैयाँ घुस लिई उक्त रकम आफ्नी श्रीमतीको नाममा जग्गा खरिद गर्न प्रयोग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । 

अख्तियारको आरोपपत्र अनुसार अधिकारी क्यानको सिभिल इन्जिनियर (सातौं तह) देखि महानिर्देशकसम्मको जिम्मेवारीमा रहँदा ‘उमा एण्ड कम्पनी प्रा.लि.’ (जेभी समेत) लाई ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र ठेकेदार प्रेम प्रकाश ढकाल प्रमुख रहेको ‘गायत्री निर्माण सेवा’ लाई १ करोड ११ लाख रुपैयाँभन्दा बढीका ठेक्का पारिदिएको अभियोगपत्रमा उल्लेख छ । 

त्रिभुवन, पोखरा, गौतमबुद्ध, जनकपुर, रारा, कालिकोट तथा नलीनचोक हेलिपोर्ट लगायतका आयोजनाका बोलपत्र स्वीकृत गर्ने र सहजीकरण गरिदिएबापत उनले ठेकेदारसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिने काम गरेको अभियोगपत्रमा उल्लेख छ । 

घुसबापतको रकम सोझै नलगाएर अधिकारीले मनि लाउण्डरिङ  गर्ने नियतले जग्गा खरिदमा प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ स्थित १३ आना (कि.नं. २२४) जग्गा जग्गाधनी रजनी श्रेष्ठबाट अधिकारीकी श्रीमती सुफल के.सी.को नाममा खरिद गर्दा जग्गाधनीका श्रीमान् सूर्य ताम्राकारको बैंक खातामा ठेकेदारहरूकै खाताबाट सोझै रकम जम्मा गर्न लगाइएको उल्लेख छ । 

२ करोड ७५ लाखमा तय भएको उक्त जग्गाको खरिदमा कर छलछाम र रकम लुकाउन लिखतमा भने ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी मालपोतमा रजिष्ट्रेशन पास गराइएको पाइएको छ ।

बैंक स्टेटमेन्ट र बयानका क्रममा सूर्य ताम्राकारको खातामा उमा एण्ड कम्पनीको खाताबाट ५० लाख, सञ्चालक वासु खड्काको खाताबाट ४० लाख, सञ्चालकहरूको संयुक्त खाताबाट ४७ लाख, कर्मचारी राजन खड्काको खाताबाट १२ लाख र सञ्चालक प्रेम प्रकाश ढकालको खाताबाट २२ लाख रुपैयाँ दाखिला भएको अभियोगपत्रमा उल्लेख छ । 

उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनाले क्यानको ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीले भनेकै खातामा एकाउन्ट पेयी चेक काटेर रकम दिएको स्वीकारेका छन् । 

यस प्रकरणमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, उमा एण्ड कम्पनीका सञ्चालक प्रेम प्रकाश ढकाल र गायत्री निर्माण सेवालाई प्रतिवादी बनाएको छ । 

अधिकारीकी श्रीमती सुफल के.सी नेपाली सेनामा कार्यरत रहेकाले निजको हकमा संविधान र सैनिक ऐन बमोजिम कारबाही गर्न जङ्गी अड्डामा फिर्ता पठाइएको  छ । अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम १ करोड ७१ लाख बिगो, सोही बमोजिम कैद तथा जरिवानाको माग गर्दै गैरकानुनी रूपमा खरिद गरिएको जग्गा जफत गर्न मागदाबी गरेको छ । उनलाई ८ वर्षदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । 

Share News