भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिका विद्यालय जान थाले
काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा आश्रय लिएका १३२ जना बालबालिकालाई विद्यालय पठाउन सुरु गरेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा बसिरहेका बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययनको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । विद्यालय जाने बालबालिकालाई पुस्तक र दिवा खाजाको व्यवस्था गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए भने दोस्रो दिन उपस्थित हुनेको संख्या बढेर ६१ पुगेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालय पुगेर बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरेकी छन् । प्रधानाध्यापक र शिक्षकसँग उनले बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राखेर आत्मीय व्यवहार गर्न आग्रह गरिन् । 'वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ । उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात बिर्सन सघाउनुहोस् । किताब र पाठभन्दा पहिले उनीहरूको त्रास कम गराउन परामर्शमा ध्यान दिनुहोस्,' डंगोलले भनिन् । बालबालिकालाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिक्षा विभागका अधिकारीहरू पनि विद्यालय पुगेका थिए । महानगरका अनुसार विद्यालय जाने बालबालिकामध्ये केहीले बुबा–आमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमा छैनन् । कतिपय परिवार सुरक्षित भए पनि उनीहरूको घर र बसोबास बाढीले बगाएको छ । विद्यालय जाने बालबालिकाका लागि कोशिस नेपालले झोला र विद्यालय पोशाक उपलब्ध गराएको छ । संस्थाले मनोसामाजिक परामर्श सेवा पनि प्रदान गरिरहेको छ । यस्तै, आश्रयस्थलदेखि विद्यालयसम्म आउजाउका लागि एलआरआई स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए । महानगरपालिकाको सम्पर्कमा इसीडीदेखि कक्षा १२ सम्म अध्ययनरत १३२ जना विद्यार्थी रहेका छन् । उनीहरूमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन् । कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६/६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेका छन् । इसीडी, नर्सरी र कक्षा १० मा २/२ जना तथा युकेजी र कक्षा १२ मा १/१ जना विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने विषयलाई बालबालिकाको इच्छामा आधारित राखिएको बताए । उनका अनुसार गहिरो मानसिक आघातमा रहेका बालबालिकालाई जबर्जस्ती विद्यालय आउन बाध्य नपारिएको र परामर्शमार्फत विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ । विद्यालय आउने विद्यार्थीको संख्या दैनिक बढिरहेको उनले बताए ।
असोज ३ देखि उपत्यकामा ६ नयाँ रुटमा २८ रात्रि बस सञ्चालन हुने
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ । आगामी असोज ३ गतेदेखि ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन गर्ने निर्णय भएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, साझा यातायात र सरोकारवाला अधिकारीहरूको बैठकले रात्रिकालीन बस सेवालाई विस्तार गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार गोदावरी–बुढानीलकण्ठ रुटमा ६ वटा, भक्तपुरको जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, एअरपोर्ट–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–नयाँ सडक–नेपाल वायुसेवा निगम रुटमा ४ वटा तथा चक्रपथमा दुईतर्फी ८ वटा बस सञ्चालन गरिनेछ । चक्रपथमा रात्रिकालीन सेवा सञ्चालन भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा यात्रा गर्न सक्नेछन् । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ । रात्रिकालीन बस सेवा यसअघि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको थियो । तीन महिनाको परीक्षणपछि विज्ञहरूको कार्यदलले सेवाको व्यवस्थापन तथा वित्तीय पक्षबारे अध्ययन गरेको थियो । अध्ययनले सेवा निरन्तरताका लागि विभिन्न विकल्प सुझाएपछि उपत्यकाका स्थानीय तहबीच वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा कार्यवाहक प्रमुख डंगोलले नागरिकलाई सुलभ र सुरक्षित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले तत्काल भाडा बढाउनेभन्दा स्थानीय तहले आफ्नो जनसंख्या, क्षेत्रफल र आर्थिक क्षमताका आधारमा सेवा सञ्चालनको खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेकी थिइन् । रात्रिकालीन बस सेवा विस्तारसँगै रुट परमिट सहज बनाउन विद्यमान यातायात कानुन संशोधनका लागि सरकारलाई अनुरोध गर्ने८८ निर्णयसमेत भएको छ । साथै उपत्यकामा रात्रिकालीन गतिविधि बढाउन स्थानीय तहले सार्वजनिक स्थलमा जात्रा, मेला तथा महोत्सव सञ्चालन गर्ने भएका छन् । साझा यातायातको सेवा थप प्रभावकारी बनाउन यात्रु संख्या वृद्धि, गन्तव्यमा चार्जिङ स्टेसन निर्माण र रात्रिकालीन बसपार्क व्यवस्थापनमा सम्बन्धित स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा भक्तपुर, कीर्तिपुर, गोदावरी, चन्द्रागिरि र बुढानीलकण्ठलगायत स्थानीय तहका जनप्रतिनिधि, काठमाडौं महानगरपालिकाका अधिकारी, ट्राफिक प्रहरी, यातायात विज्ञ तथा साझा यातायातका पदाधिकारी सहभागी थिए ।
तनाव र चिन्ता कम गर्न राष्ट्रिय सभा गृहमा निःशुल्क मनोसामाजिक परामर्श
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकलाई मानसिक र भावनात्मक सहयोग गर्न राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा तनाव, चिन्ता, दुःख र अन्य मनोसामाजिक समस्या भोगिरहेका नागरिकलाई केन्द्रमा निःशुल्क परामर्श सेवा दिइने महानगरले जनाएको छ । यो सेवा महानगरको स्वास्थ्य विभागले मनोसामाजिक परामर्श दिने विभिन्न संघसंस्थासँगको सहकार्यमा सुरु गरेको हो । केन्द्रमा मनोविद्ले प्रभावित व्यक्तिको कुरा सुन्ने, भावनात्मक सहयोग गर्ने र आवश्यक परामर्श दिनेछन् । स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार बाढीबाट घाइते भएर काठमाडौंका अस्पताल वा अन्य स्थानमा बसिरहेका व्यक्तिले पनि यो सेवा लिन सक्नेछन् । अस्पतालले मानसिक स्वास्थ्य परामर्श आवश्यक भएका बिरामीलाई केन्द्रमा पठाउन सक्ने व्यवस्था गरिएको छ । केन्द्रले आवश्यक परे मानसिक स्वास्थ्य उपचारका लागि सम्बन्धित अस्पतालमा पनि सिफारिस गर्नेछ । महानगरको विपद् व्यवस्थापन हेल्प डेस्क र विपद् सूचना केन्द्रबाट आएका व्यक्तिलाई पनि आवश्यकताअनुसार यही केन्द्रमा पठाइनेछ । महानगरका अनुसार केन्द्रको मुख्य उद्देश्य बाढीबाट प्रभावित व्यक्तिलाई डर, चिन्ता, तनाव र दुःखबाट बाहिर आउन सहयोग गर्नु हो । साथै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहलाई विशेष प्राथमिकताका साथ सेवा दिइनेछ । महानगरपालिकाले सेवा लिने सबै व्यक्तिको गोपनीयता र सम्मान सुरक्षित राखेर व्यावसायिक रूपमा परामर्श सेवा सञ्चालन गरिने जनाएको छ ।