१ करोड ८५ लाख लागतमा वडा २३ को आफ्नै प्रशासनिक भवन तयार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । करबाहेक १ करोड ८४ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले उद्घाटन गरेका हुन् ।

बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा निर्माण गरिएको भवन नियोक्लासिक अर्थात् राणाकालीन शैलीमा बनाइएको छ । भवन जुद्ध बारुण यन्त्र कार्यालयसँग मेल खाने शैलीमा निर्माण गरिएको हो ।

विश्व सम्पदा क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्डअनुसार भवन निर्माण गरिएको महानगरपालिकाले जनाएको छ ।

भवन उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सबै वडाका आफ्नै प्रशासनिक भवन निर्माण गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको बताइन् । आफ्नै स्थायी भवन भएपछि वडावासीलाई सेवा लिन सहज हुने उनको भनाइ थियो ।

उनले वडाको आफ्नै भवनबाट सेवाको गुणस्तरमा सुधार आउने र नागरिकले परिवर्तनको अनुभूति गर्ने अपेक्षा व्यक्त गरिन् । महानगरपालिकाको केन्द्रीय कार्यालय निर्माणको काम पनि चाँडै सम्पन्न गर्ने गरी अघि बढिरहेको उनले जानकारी दिइन् ।

वडाध्यक्ष महर्जनले निर्वाचनका क्रममा वडावासीसँग गरेको आफ्नै प्रशासनिक भवन निर्माणको प्रतिबद्धता पूरा भएको बताए । उनले वडामा सडक तथा गल्ली निर्माण, मर्मतसम्भार, विपद् व्यवस्थापन, उद्यमशीलता विकास र सम्पदा संरक्षणका काम निरन्तर भइरहेको जानकारी दिए ।

भवन निर्माणका क्रममा विभिन्न चुनौती आए पनि वडावासीलाई आफ्नै प्रशासनिक भवन उपलब्ध गराउन सफल भएको महर्जनले बताए ।

पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले नयाँ भवनले वडावासीमा गौरवको अनुभूति गराएको बताए । स्थानीय गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण भएको भवनले सम्पदामैत्री संरचना संरक्षणमा समेत योगदान पुग्ने बताए ।

१०७ फिट ६ इन्च लम्बाइ र १९ फिट चौडाइमा निर्माण गरिएको भवन तीन तले छ । भवनको उचाइ ३२ फिट रहेको छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल २ हजार ४८ वर्गफिट रहेको छ ।

भवन निर्माणका लागि एसबी कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो। २०८३ असोज ३० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

Share News