काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ अन्तर्गत ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ विधाका २२ वटा भिडियो छनोट भएका छन् ।
फेस्टिभलमा १० देशका ४० वटाभन्दा बढी चलचित्र प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले शुक्रबार पर्यटन बोर्डमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी दुवै विधामा छनोट भएका भिडियोको नतिजा सार्वजनिक गरेको हो ।
‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत पाँच मिनेटसम्मका १२ वटा र ‘नेपाल पानोरमा’ अन्तर्गत ३० मिनेटसम्मका १० वटा भिडियो छनोट भएका छन् ।
४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा आह्वान गरिएको युथ भिडियो च्यालेञ्जमा ३५ वटा भिडियो प्राप्त भएका थिए । त्यस्तै, वृत्तचित्र, कथानक, एनिमेसन र प्रयोगात्मक विधाका ३० मिनेटसम्मका भिडियो माग गरिएको नेपाल पानोरमामा ७५ वटा भिडियो प्राप्त भएका थिए ।
नतिजा सार्वजनिक गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका सम्पदा, स्मारक, प्राचीन इतिहास, सामाजिक जीवन र संस्कृतिसँग जोडिएका अनेकौं कथा अझै उजागर हुन बाँकी रहेको बताइन् ।
चलचित्रका माध्यमबाट सहरको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको उनको भनाइ छ ।
‘मौलिक खानाका परिकार, पोसाक, भाषा, साहित्य र सिर्जनाका चाखलाग्दा विशेषता छन् । चलचित्रमार्फत यस्ता विशेषताको प्रवर्धन गर्न, स्थानीय कलाकारका सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान र अन्तर्राष्ट्रिय कलाकारलाई महानगरका बस्ती तथा टोलमा ल्याउने कामको थालनीका लागि फेस्टिभल गरेका हौं,’ उनले भनिन् ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार नेपाल पानोरमा विधामा सुरज पौडेलको ‘रिहाना’, सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मरिछा’ छनोट भएका छन् ।
यस विधाका निर्णायकमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डीसी, निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता तथा पटकथा लेखक सम्पदा मल्ल र फिल्म क्रिटिक्स सोसाइटी अफ नेपालका लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना थिए ।
युथ भिडियो च्यालेञ्जमा राज दोङको ‘सिग्रेट’, शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैंचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा ः द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन् ।
यस विधाका निर्णायकमा चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार एवं सम्पदा संरक्षणकर्मी रीजा जोशी थिए ।
छनोट भएका दुवै विधाका भिडियो कात्तिक १५ गते राष्ट्रिय सभागृहमा प्रदर्शन गरिनेछ । युथ भिडियो च्यालेञ्जमा पहिलो हुनेलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाल पानोरमा विधामा छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार दिइने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले फेस्टिभललाई काठमाडौंको मौलिकता र गरिमा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको बताए ।
उनले यसलाई लामो यात्राको सुरुआत भन्दै सहरको सांस्कृतिक पहिचानलाई विश्वमाझ पुर्याउन अझै धेरै काम गर्नुपर्ने बताए ।
१० देशका चलचित्र र पुराना नेपाली फिल्म विशेष आकर्षण
फेस्टिभलअन्तर्गत अन्तर्राष्ट्रिय पानोरमा विधामा विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन् । जय नेपालमा प्रदर्शन हुने चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ फिल्म ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय फिल्म ‘बयान’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियन फिल्म ‘मिस एन प्लेस’, जेनेभाइभ क्ले स्मिथ निर्देशित ‘स्टेयर्स’, टम पाइजेट निर्देशित ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ र फ्रान्सेली फिल्म ‘ला ग्राभिडा’ लगायत छन् ।
त्यस्तै, जाङहाङ जुन निर्देशित कोरियाली फिल्म ‘द किङ्स वार्डेन’, रिमा दासको ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित ‘नो गुड मेन’ र फ्रान्सिस फोर्ड कोपोलाको चर्चित अमेरिकी फिल्म ‘द गडफादर’ पनि प्रदर्शन गरिनेछ । जापानको यामागाता सहरबाट आएका ‘भ्यु पिपुल’ र ‘भ्यु सिटिज’ नामक लघु चलचित्रसमेत फेस्टिभलमा समावेश छन् ।
नेपाली पुराना चलचित्रको सम्मानस्वरूप सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ पनि विशेष प्रदर्शनमा राखिनेछन् । यसले नेपाली चलचित्रको इतिहास, सिर्जना र योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउने अपेक्षा गरिएको छ ।
फेस्टिभलका कार्यक्रमअन्तर्गत असोज २३ गते नै ‘एलिफेन्ट्स इन द फग’को विशेष प्रदर्शन गरिएको छ । त्यसपछि चलचित्र अध्ययन गरिरहेका विद्यार्थी र चलचित्र क्षेत्रका पेशाकर्मीबीच चलचित्र टोलीसँग अन्तरसंवादसमेत आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
कात्तिक ८ गते वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै पुनः वसन्तपुरसम्म हेरिटेज रन आयोजना हुनेछ । कात्तिक १३, १४ र १५ गते मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । सांस्कृतिक प्रस्तुतिसहित वसन्तपुरमा हेरिटेज वाक, खुला स्थानमा चलचित्र प्रदर्शन तथा राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम आयोजना गर्ने तयारी छ । नेपाली पानोरमा विधाका चलचित्र प्रदर्शन र पुरस्कार वितरण पनि राष्ट्रिय सभागृहमा हुनेछ ।
चलचित्रमार्फत रचनात्मक उद्योगको प्रवर्धन
काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध छ । महानगरपालिकाले चलचित्रलाई समुदाय र शिक्षासँग जोड्दै स्थानीय रचनात्मक उद्योगको विकास तथा प्रवर्धन गर्ने माध्यमका रूपमा अघि बढाएको छ ।
यसै अभियानअन्तर्गत ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । घरमै सीमित दर्शकलाई चलचित्र हेर्ने संस्कृतिसँग जोड्ने तथा स्थानीय समुदाय, क्लब र संघसंस्थाको महोत्सव आयोजना गर्ने क्षमता विकास गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत गत वर्ष सुन्धारा, बागबजार, लगनटोल, खुला मञ्च, बालाजु बाइपास, यट्खा बहालस्थित भाष्करकीर्ति महाविहार र मैतीदेवी मन्दिरको खुला चौरलगायत स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो ।
महानगरपालिकाले चलचित्रकर्मी, विज्ञ, संघसंस्था तथा महोत्सव आयोजकसँग सहकार्य गर्दै स्थानीय सिर्जनालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने, चलचित्र क्षेत्रलाई प्राज्ञिक तथा प्राविधिक उद्योगका रूपमा विस्तार गर्ने र स्थानीय समुदायको सहभागितामार्फत आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।
फेस्टिभलले विद्यार्थी, समुदाय र पेशाकर्मीमा चलचित्रप्रतिको रुचि बढाउनुका साथै चलचित्रका माध्यमबाट शिक्षा, सूचना र सामाजिक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।