म पनि नेवार बन्न चाहन्छु : जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताएका छन् ।

ज्यापु समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको, केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रस्ताव राखेका हुन् ।

ललितपुरमा आयोजित ज्यापु समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताए । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापु समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गरे । उनले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’ का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताए ।

उनले भने, ‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानुन र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन । तर एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भए पनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ?” भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु ।'

सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताए । उनले ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसद्मा सशक्त भूमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदासम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सांसद खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त सहरका रूपमा परिभाषित गर्दै यहाँको सम्पदाको जगेर्ना गर्न समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनले हालसम्म नेपालमा अमूर्त सम्पदासम्बन्धी ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको भन्दै नयाँ विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापन र स्थानीय समुदायको निर्णायक भूमिका रहने गरी कानुन बनाउन पहल गरिरहेको बताए ।

उनले ललितपुरको पर्यटन प्रवर्द्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सारे । उनले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज र अनुसन्धानलाई निष्कर्षमा पुर्याई त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

सांसद खरेलले आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत गरेको स्मरण गर्दै आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको बताए । उनले ज्यापु समाजको मानार्थ सदस्य बन्ने आफ्नो इच्छा प्रकट गर्दै अधिकारभन्दा पनि कर्तव्य निर्वाह गर्ने थलोका रूपमा आफूलाई उभ्याउन चाहेको उल्लेख गरे ।

Share News