एनआईसी एशियाका ग्राहकले एभरेष्ट अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

१७ महिनाका लक्की विक जीवन मरणको दोसाँधमा, आर्थिक सहयोगका लागि अभिभावकको याचना

काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको उपचारका लागि सहयोग गरिदिन राजेशले आग्रह गरेका छन् । उनका छोरा लक्कीलाई निमोनिया हुनुका साथै हातखुट्टा र पेटमा समेत समस्या भई बैखाख ११ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । कृतिम स्वासप्रश्वासको सहायताले उपचार भइरहेको र दैनिक १०–१५ हजार खर्च लाग्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा विनय गुरुङले बताए ।

उच्च रक्तचापका बिरामीले औषधी नियमित नखाए प्यारालाईसिस हुने सम्भावना बढी : डा. अनिल भट्टराई

वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई व्यस्त र तनावपूर्ण जिन्दगीको कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचापको कारण मात्र संसारभरमा वर्सेनि ७५ लाख भन्दा बढी मानिसको मृत्‍यु हुने गरेको छ । यो संख्या मानिस मृत्यु हुने कूल संख्याको १२ प्रतिशत हो । बढ्दो उमेरलाई यसको मुख्य कारणको रुपमा मानिन्छ । युवा अवस्थामा पनि यो समस्या देखिएता पनि ६०–६९ बर्षको उमेर समूहलाई यसले बढी सताउने गरेको छ । हृदयघातको हुनुको कारणहरु मध्ये उच्च रक्तचाप पनि एक हो भनिन्छ, तर यी दुई बिच के–कस्तो सम्बन्ध छ भन्ने बिषयमा थोरै मानिसलाई मात्र अवगत छ । शुक्रबार विश्व उच्च रक्तचाप दिवस हो, यसै सन्दर्भमा  उच्च रक्तचाप र हृदयघात कसरी सम्बन्धित छन्, प्रेसरको औषधी खानु ठीक छ कि छैन ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईसँग विकासन्यूजका लागि डोमी शेर्पाले  गर्नु भएको कुराकानी: उच्च रक्तचाप र हृदयघातको कस्तो सम्बन्ध छ ? उच्च रक्तचाप भएको मानिसलाई हृदयघात (हार्ट अट्याक) हुन्छ भन्ने ग्यारेन्टी छैन तर उच्च रक्तचाप हुने मानिसको रगतमा बढी चिल्लो (कोलेस्ट्रोल) र मधुमेह (सुगर) हुनेगर्छ । सुगर र कोलस्ट्रोल भएका मानिसलाई अन्य मानिसभन्दा हृदयघात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यो अवस्थालाई निम्ताउने रोगको जोखिमका  कारण पनि एउटै हुन्छ । उच्च रक्तचाप र हृदयघात दुवै वंशानुगत रोग पनि हुन् । मोटोपना, रगतमा चिल्लोको मात्रा बढी (कोलेस्ट्रोल), धुम्रपान, मधुमेह, मध्यपानको अत्याधिक सेवन, चिल्लो(बोसो भएको) र तारेको(भुटेको) खाना ब्ढी खानु यी दुवै रोग लाग्ने कारणहरु हुन् । साथै हृदयघात भएको मानिसको ईतिहास हेर्ने हो भने प्रायःमा उच्च रक्तचाप देखिन्छ, जसकारण उच्च रक्तचाप हुने मानिसलाई हृदयघात हुने सम्भावना बढी हुन्छ भन्न सकिन्छ । यिनै विविध कारण रक्तचाप र हृदयघात एकअर्कासँग सम्बन्धित छन् । हृदयघातका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । हृदयघात हुँदा रक्तचापको अवस्था के हुन्छ ? हृदयघात हुने बित्तिकै मानिसको रक्तचाप घटेर जान्छ किनभने हृदयघात भनेको मुटुको मांसपेशीको कुनैपनि भागमा रक्तसंचार अवरोध भएर एकहद सम्म मरे तुल्य हुनु हो । यो अवस्थामा मुटुको रगत फाल्ने शक्ति कम भएर जान्छ । जसकारण हृदयघात भएको तत्कालीन अवस्थामा ब्लड प्रेसर घटेर जान्छ । रक्तचापको सबैभन्दा माथिल्लो लेभल र तल्लो लेभल कुन हो ? सबैभन्दा त पहिला सामान्य ब्लड प्रेसर कति हो भन्ने जान्न जरुरी छ । प्रेसर दुई किसिमका हुन्छन्, एक माथिको प्रेसर र दोस्रो तलको प्रेसर । ११०-१३० सम्मलाई माथिल्लो प्रेसरको सामान्य अवस्था मानिन्छ । यसमा प्रेसर १३० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ११० भन्दा कम हुनु निम्न रक्तचाप(लो ब्लड प्रेसर) को अवस्था हो । त्यस्तै, तलको प्रेसर ६०-८० को अवस्थालाई सामान्य मानिन्छ। यसअघि ९० लाई सामान्य मानिन्थ्यो । यसमा प्रेसर ८० भन्दा माथि हुनु उच्च रक्तचापको अवस्था हो र ६० भन्दा कम हुनु निम्न रक्तचाप (लो ब्लड प्रेसर)को अवस्था हो। उच्च रक्तचाप घटाउने तरिका के के हुन् ? ब्लड प्रेसरका विभिन्न औषधीहरु छन्, जुन बिशेषज्ञ डाक्टरलाई देखाएर मात्र खानु पर्छ । हामीले घरमै बसेर पनि उपचार गर्न सक्छौं । उच्च रक्तचाप भएको अवस्थामा नुनको मात्रा कम खाने किनभने नुनले शरीरमा पानीलाई राखिरहन्छ । जसकारण शरीरमा रगतको मात्रा बढ्न प्रेसर बढेर जान्छ । यी जोखिमका कारणलाई घटाउन खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्न आलु, चिनी, सेतो भात कम खाने गर्नुपर्‍यो । हामीले उच्च रक्तचापलाई व्यवस्थित गर्न खानपानमा व्यवस्थापन, नियमित व्यायाम, शरीरको चाल सामान्य राख्ने, धुम्रपान मध्यपान छोड्ने, तनावयुक्त जीवनबाट सक्दो टाढा बस्नु पर्छ । अहिलेको अवस्थामा हरेक पेशामा प्रतिस्पर्धा छ, जसकारण मानिसहरु हरसमय तनाबमा रहन्छन् । यदी हामी अरुसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि आँफैमा प्रतिस्पर्धा गर्ने हो भने धेरै हदसम्म तनावबाट टाढा बस्न सक्छौं । यसरी हामीले धेरै हदसम्म ब्लड प्रेसरलाई सामान्य अवस्थामा राख्न सक्छौँ र भविश्यमा हुने हृदयघातबाट पनि आफुलाई बचाउन सक्छौं । घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । ब्लड प्रेसरको औषधी खानु कत्तिको उचित हुन्छ ? घरेलु उपचार भनेको प्रेसर थप नबढोस् भनेर हो । यसले हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने हो, तर प्रेसर आँफैमा बढीसकेको छ भने त्यो आफैमा भने औषधी नखाई घट्न सक्दैन । त्यसले गर्दा उच्च रक्तचाप भएको बिरामीले विशेषज्ञ डाक्टरलाई देखाई औषधी नै खानु पर्ने हुन्छ । किनभने औषधी सेवन नगरेको अवस्थामा शरीरमा लामो समयसम्म प्रेसर रहन्छ जसले भविश्यमा मृगौला फेल हुने, आँखाको ज्योति कम हुँदै जाने, मस्तिस्कघात भएर प्यारालाईसिस हुने, सुगर र कोलेस्ट्रोल नियन्त्रण नहुँदा हार्ट अट्याक हुने संभावना रहन्छ । त्यसैले भबिश्यमा हुने ठूलो जोखिमबाट बच्न पनि प्रेसरको औषधी नियमित खानु जरुरी छ। त्यसको साथै समय समयमा चेकअप गराईराख्नु पर्छ । के हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौं ? पक्कैपनि हामी घरमै बसेर प्रेसर जाँच्न सक्छौ, किनभने अहिले प्रेसरका डिजिटल मेसिनहरु बजारमा उपलब्ध छन् । आँफैले आफ्नो प्रेसर जाँच्न गाह्रो भएतापनि यदी घरमा कोही मेडिकल क्षेत्रका सदस्य हुनुहुन्छ भने उहाँबाट पनि तपाईँले आफ्नो प्रेसर जाँच्न सक्नुहुन्छ । एउटा प्रेसरको बिरामीले कति समयको अन्तरालमा आफ्नो प्रेसर चेक गराउनु पर्छ ? लामो समयसम्म प्रेसर भएका बिरामीलेहरुले हप्तामा दुईपटक सम्म आफ्नो प्रेसर जाँच्नु राम्रो हुन्छ, त्यस्तै सामान्य मानिसले महिनामा एक पटक आफ्नो प्रेसर जाँच्दा राम्रो हुन्छ ।