होशियार, ई-चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ

वासिङ्टन । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई-चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई-साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ । सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन् । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ । अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनैपनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताए । उनले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताए । जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए । उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भने । उनले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताए । अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए । रासस/एएनआई

डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान, स्थानीयलाई सावधानी अपनाउन सुझाव

काठमाडौं । कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताएका छन् । “डेङ्गुको भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न सातै नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्नेछ”, उनले भने । स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत हुने उनले बताए । डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी माधवानन्द भट्टले बताएका छन् । देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप बढ्नसक्ने भएकाले सबैले सचेत हुनुपर्ने उनको सुझाव छ । स्वास्थ्यकर्मी हरि नाथका अनुसार डेङ्गु भएमा एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुनेलगायतका लक्षण देखा पर्छन् । यसैगरी, केही बिरामीमा शुरुमै शरीरभरि खटिरा आउने, ज्वरो आइरहेका बेला नाक तथा गिजाबाट रक्तश्राव हुने, छालामुनि रक्तश्राव हुनेलगायतका लक्षण देखा पर्न सक्छन् । डेङ्गु ज्वरो भाइरसको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएको लक्षणका आधारमा उपचार हुने गरेको छ । ज्वरो घटाउन सिटामोल र प्रशस्तरूपमा झोल पदार्थ पिउन बिरामीलाई लगाइने शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताए । डेङ्गुको लक्षण देखापरे तुरुन्त अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्ने उनको सुझाव छ । सुदूरपश्चिम प्रदेशमा यस वर्षको अहिलेसम्म कुनै पनि डेङ्गुका बिरामी फेला परेका छैनन् । डेङ्गुको भाइरस सर्न नदिन लार्भा नष्ट गर्ने अभियानसँगै सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुने बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राखेको तथ्याङ्कअनुसार सन् २०१७ मा डेङ्गुका एक बिरामी फेला परेका थिए । सन् २०१८ मा सात बिरामीमा डेङ्गुको भाइरस सङ्क्रमण भएको पाइएको थियो । डेङ्गुको सङ्क्रमण भएका सबै भारतमा काम गरेर फर्केका व्यक्ति थिए । रासस

गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।