जिल्ला अस्पताल एम्बुलेन्सविहीन, गण्डकी प्रदेश सरकारसँग माग

स्याङ्जा । जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करिब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ । पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् । जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठले बताए । जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करिब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताएका हुन् । पोख्रेलले भने, “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट दिए । शर्माले भने“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।

८ वटा औषधी नमुना परिक्षणमा फेल, बजारबाट फिर्ता मगाईयो

काठमाडौं। ८ वटा औषधीहरु नमुना परिक्षणको क्रममा फेल भएका छन्। परिक्षणमा फेल भएको कारण ति ८ वटा औषधीहरुलाई बजारबाट फिर्ता मगाईएको छ। फेल हुनेम औषधीमा २ वटा भारतिय र ६ वटा नेपाली कम्पनीको रहेका छन्। विभागका अनुसार जीडी फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेको PITI-1702 Pantona, गोरखा आयुर्वेद कम्पनीका 1351 Avipattikar churna, Pet safa गरी दुईवटा, नेपाल फर्मास्यूटिकल्स लेब्रोटरी बीरगञ्जले उत्पादन गरेको LPN-74165 Formin -GI forte, आरोग्य भवन वर्क प्रालि र सगरमाथा आयुर्वेदिक औषधि उद्योगका क्रमश 0169 Aarogya Balbel churna, 014 Pushyanug churna सहित छ नेपाली उद्योगका औषधि रिकल गर्न भनिएको हो । यस्तै अलकेम लेब्रोटरिज मुम्बई भारत 8282346 Almok-500 , सागा लेब्रोटरिज अमदावाद भारत बाट Ex-014018 Amoxyn-500 आएका क्रमश व्याजका औषधि पनि गुणस्तरमा फेल भएका छन । नमूना परीक्षणका क्रममा फेल भएपछि बजारमा गएका सबै औषधिहरु रिकल गर्न निर्देशन दिइएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकरी दिए। उक्त औषधीहरु माईक्रोवेल टेष्ट र घुलनसिल क्षमतामा फेल भएको उनले बताए ।

अछामका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । प्रत्येक समूहमा तीन-तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।