ग्लोबल आइएमई बैंक र क्यान्सर काउन्सिलको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतना

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतना मूलक कार्यक्रममा कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षक उपस्थित रहेका थिए । उक्त जनचेतना मूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट गरेको थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिए । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ ।

नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरिसिद्धी ललितपुरबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी दिएको छ । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ को लागि स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान

काठमाडौं – उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञहरुकाे सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल हुने मन्त्रालयले जनाएको छ। रासस