बिपी कोइराला अस्पतालको चैतदेखि आफ्नै फार्मेसी सञ्चालनमा आउँदै, औषधिकाे मूल्य ६०% सस्ताे हुने

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै  फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि फार्मेसी सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उनले तीन ठाउँमा फार्मेसी सञ्चालन हुने जानकारी दिएका छन्। चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ । सञ्चालक समितिले औषधि खरिदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको फार्मेसीले औषधि बिक्री गर्दै आएको छ । अस्पतालमा आउने बिरामीले भित्र रहेका फार्मेसीबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै फार्मेसी भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए।

‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ’ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए। एक्स्पोमा मन्त्री यादवले भने ‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।’ सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै मन्त्री यादवले नेपाल सरकारले अब चाँडै नै नेपालमा पर्यापता मात्रामा उत्पादन हुने औषधीको आयतमा पनि रोक लगाउने बताएका छन्। नेपाल औषधी उत्पादक संघद्वारा आयोजित नेपाल फार्मा तथा हेल्थ एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ । नेपालमा हाल ४० प्रतिसत औषधी उत्पादन हुन्छ भने बाकीँ ६० प्रतिसत भने आयत गरिन्छ। नेपालमा उत्पादन गरिएको औषधीहरु अन्तर्राष्ट्रिय स्तरको रहेको छ। काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएका छन्।

कर्णालीका १ लाख नागरिक स्वास्थ्य बीमामा, ३५ हजार लिए सेवा, ४ करोड भुक्तानी

सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् । नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२÷७३ देखि कार्यक्रम सञ्चालन गरेको हो । कर्णालीमा भने आर्थिक वर्ष २०७३/७४ असार १ गतेदेखि जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो । हाल यहाँका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम सञ्चालनमा छन् । स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले हालसम्म ३५ हजार ५१९ ले सेवा लिएको जानकारी दिए । उनका अनुसार बिमितलाई सेवा दिएवापत सेवाप्रदायकलाई चार करोड ४० लाख ५६ हजार ७३८ भुक्तानी भइसकेको छ । झण्डै एक लाख बिमितबाट चार करोड ७८ लाख ६६ हजार ३२० योगदान रकम सङ्कलन भएको बताइएको छ । बिमितमध्ये अति गरिब परिवारको सङ्ख्या २५ हजार ५५४ रहेको छ । “कतिपय जिल्लामा सेवाप्रदायक संस्था न्यून छन्”, संयोजक पण्डितले भने, “ती स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको छ ।” चालू आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बीमा बोर्डको तयारी छ । स्वास्थ्य बीमासम्बन्धी प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारिताका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । “स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकलाई अनिवार्य बिमित हुन आकर्षित गरिनेछ” उनले भने । रासस