निःशुल्क औषधिको ४१ करोड फ्रिज, केही औषधि भने बिग्रिने गरी अत्याधिक खरिद

काठमाडौँ । स्वास्थ्य सेवा विभागले केही औषधि भने बिग्रिने गरी अत्याधिक खरिद गरेको भेटिएको छ । सुगरको औषधि मेटफर्मिन ५०० एमजी बढीमा नौ महिना भण्डारण गर्न सकिन्छ, तर विभागले ८८ महिना अर्थात् ७ वर्ष ४ महिनालाई पुग्ने गरी खरिद गरेको छ । त्यस्तै सल्फामथोजाजोल ट्रिमथोप्रिम ४८० एमजी एन्टिबाइटिक नौ महिना मात्र भण्डारण गर्न सकिन्छ । तर, विभागले ५८ महिनालाई पुग्ने गरी खरिद गरेको महालेखापरीक्षकको कार्यालयले भेटाएको छ । ११ महिनासम्म मात्र भण्डारण गर्न सकिने क्षयरोगविरुद्धको बिसिजी भ्याक्सिन पनि साढे १३ महिनासम्म पुग्ने गरी खरिद गरिएको छ । तर, जिल्ला अस्पतालमा आइरन चक्की र जुकाको औषधिसमेत अभाव छ । विभागले त्यसको व्यवस्था गर्न सकेको छैन । सरकारी अस्पतालमा निःशुल्क औषधि नपाएर विपन्न नागरिक निजी पसलबाट महँगोमा किन्न बाध्य छन् । तर, सरकारले निःशुल्क औषधिका लागि छुट्याएको बजेट खर्च नभई ‘फ्रिज’ भएको छ । सरकारको बजेट फ्रिज हुने र विपन्न नागरिकले औषधि नपाउने स्थिति औँल्याउँदै महालेखानियन्त्रक कार्यालयले स्वास्थ्य सेवा विभागको क्षमतामै प्रश्न उठाएको छ । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको कार्यसञ्चालन निर्देशिका ०७४र७५ मा २५ शड्ढयासम्मको अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३१ प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । यसका लागि सरकार र वैदेशिक सहायताबाट ८० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर, विभागले सरकारतर्फको ३५ करोड २९ लाख र वैदेशिक सहायताबाट प्राप्त चार करोड ११ लाख रुपैयाँ मात्र खर्च गरेको छ । विभागले वितरण गर्दै आएको कतिपय औषधि गुणस्तरहीन र कम सुरक्षित भएको महालेखाले जनाएको छ । निःशुल्क वितरण हुँदै आएको औषधिबारे स्वास्थ्यविज्ञसँग परामर्श गर्दा ती औषधि कम सुरक्षित र गुणस्तरहीन भेटिएको भन्दै महालेखाले प्रश्न उठाएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाली बैज्ञानिकले विकास गरे अति सुक्ष्म-प्रकाशकीय चिप, स्वासप्रस्वासका बिरामीलाई उपयोगी

काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् । सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई उपयोगी हुने चिप बनाइएको हो । नेपाली बैज्ञानिकको यो उपलब्धीमा फ्रीवेयर, थ्रिडी प्रिन्टीङ प्रविधिको व्यापक विकास र प्रयोग र थोरल्याब्स (यूएसए), ल्यूमेरिकल (क्यानाडा) र लुसीडा फोटोनिक्स (बेल्जियम) लगाएतका कम्पनीहरुले फुटुङका बैज्ञानिकलाई सहयोग गरेका छन् । बुधबार राजधानीमा बैज्ञानिक संस्थाहरुले आफ्नो खोजको बारेमा समेत जानकारी दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयका अधिकारीहरु, नास्टका तथा त्रिवि बैज्ञानिकहरु, समाज कल्याण परिषद्का अधिकारीहरु, अभियन्ता महाबिर पुन, चिकित्सकहरु, म्यान्चेस्टर विश्व विद्ययालयका प्राध्यापकहरु, वोल्ड इनोभेसन फोरम (जेनेभा) का अध्यक्ष लगायत स्वदेशी र विदेशी बिज्ञहरुले सहभागिता जनाएका थिए । प्राविधिक विकासका लागि छलफल गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए । कार्यक्रममा डाक्टर गोपाल लामाले नेपालमा बढ्दो वायू प्रदुषणले दमको रोग वृद्धीमा सघाउ पुर्याएको भन्दै आगामी दिनमा यसको औषधी खोज्न भन्दापनि सकेसम्म रोग नै नलाग्ने बातावरण निर्माण गर्न जोड दिनुपर्ने बताए । साथै, आगामी दिनमा फोक्सोको समस्याका लागि अती–सुक्ष्म–प्रकाशकीय चिप सहयोगी हुने बताए ।

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने

काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ । चैत १ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ । यसअघि सनराइज बैंकले भारत स्थित अपोलो, बीएलके सुपर स्पेशालिटी र नानाभाटी हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने छन् ।