स्थापनाको ५७ औं वर्षमा रेडक्रस
काठमाडौं। मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस आज देशैभर विविध कार्यक्रमसहित सम्पन्न भएको छ । नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको तस्विरमा माल्र्यापण गरी सोसाइटीका अध्यक्ष संजीव थापाले दिवसको शुरुवात गर्नुभएको थियो । अध्यक्ष थापाले भने, ‘यस वर्षको मूल नारा ‘माया’ ले हामी सबै रेडक्रस प्रेमीलाई एक बनाउन मद्धत गरिरहेको छ।’ रेडक्रसको अन्तरराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तरराष्ट्रिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पिताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्नुहुदै यसलाई अझै सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिवद्धता व्यक्त गरे। दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्यारथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरुलाई सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे। माया झल्काउने फोटोतर्फ धनकुटाका हरी राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा र प्रेरणादायी फोटोतर्फ कमल बास्तोला पुरस्कृत भएका छन्। नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरु तर्फ कक्षा ८ र एसइई परिक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे। यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गर्नुभएका नौजना कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्मकला मिश्र, माधवप्रसाद गुनी, मानवहादुर सिंह, इश्वरी पन्त, दुर्गा वेलवासे, हुतराज भट्टराई र नारायण शाही रहेका छन्। सम्मानित हुनेहरुको तर्फबाट बोल्दै नेरेसोका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले २५ वर्ष संस्थामा काम गर्दा आफूले मानवीय क्षेत्रका धेरै कुरा सिकेको र सेवाको अवसर प्राप्त भएको बताए। केन्द्रीय कार्यालयमा ४३ जनाले रक्तदान गरेका थिए। नेरेसोका स्वयंसेवक तथा कर्मचारीहरुले वार्षिकउत्सवको अवसरमा प्रतिभा प्रर्दशन तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए । दिवसको पूर्व सन्ध्यामा बुधबार केन्द्रीय कार्यालय परिसर सरसफाई गरिएको थियो । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । धादिङ र गोरखा जिल्लामा प्रभातफेरी र रक्तदान, पर्सामा प्रधानाध्यापकहरुसँगको अन्र्तक्रिया, पर्वतमा सरसफाई कार्यक्रम, बाँकेमा वृक्षारोपण र रक्तसमूह परिक्षण, भक्तपुरमा पत्रकार भेटघाट, सुर्खेतमा कविता वाचन जस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् । २०२०, भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।
हेपाटाईटिस बि नियन्त्रणमा उपलब्धी हाँसिल गरेकोमा नेपाल सम्मानित
काठमाडौं। हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार सम्मान गरिएको हो। नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ। संगठनले विभिन्न विधामा जनस्वास्थ्यमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेकोमा नेपाल सहित अन्य ५ मुलुकलाई सम्मान गरेको छ। सम्मान हुने अन्य ५ मुलुकमा बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंका परेका छन्।
शुक्रराज अस्पताललाई डेंगुको उपचारको सबै व्यवस्था मिलाउन राज्यमन्त्री यादवको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका हुन्। यादवले अस्पतालका,स्वास्थ सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहशाखा,चिकित्सा महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेंगुको उपचारको लागि निशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। त्यस्तै डेगुको बिरामी शुक्रराज ट्रपिकल आएपछी अन्यन्त्र जानू नपर्ने गरि आवश्यक सबै प्रबन्ध मिलाउन पनि राज्यमन्त्री यादवले निर्देशन दिएका छन्।