सानो उपचारका लागि विदेश माेहले चिकित्सकको मनोबल गिर्दै, नर्भिक भन्छ-‘हामी गर्छाै राम्राे उपचार’

काठमाडाैं । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार सेवा दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमित जस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको छ । उक्त अस्पताल स्थापनको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य सेवामा आधुनिक प्रविधि उपयोगका साथ सर्वसाधरणको पहुँचमा सेवा पुर्याउन प्रतिबद्ध भएको जनाइएको छ । अस्पतालका अध्यक्ष वसन्त चौधरीले अन्तर्राष्ट्रियस्तरको विश्वसनीय सेवा पुर्याउन आफूहरू प्रतिबद्धताका साथ लागि परेको बताए ।  केही जटिल रोगबाहेक साधारण र संवेदनशील उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । “अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिले नै नर्भिकलाई अग्रणी विश्वास दिलाएको छ । यो देशका लागि गौरवको कुरा हो तर सानो रोगका लागि पनि विदेश जाने मोहले दक्ष चिकित्सकको मनोबल गिराउने काम भएको छ, यसले हामीलाई निकै चिन्तित तुल्याएको छ”, अध्यक्ष चौधरीले भने । कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक प्रत्येक नेपालीले आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख बताए । उनले भने, “आजभन्दा १० वर्ष अघि नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे अवस्था थियो तर अहिले धेरै सङ्ख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन्, यो हाम्रो सफलता हो किनकी साधारणदेखि जटिल रोगको उपचार तल्लो वा कमजोर वर्गदेखि माथिल्लो तहका व्यक्तिलाई समेत समान सेवा दिने हैसियत बनाएका छौँ ।” निजी क्षेत्रको अग्रणी अस्पतालको रुपमा जिकिर गर्दै आएको उक्त अस्पतालले केही जटिल अवस्थाका बाहेक सबै खाले रोगको उपचार सहजरुपमा गर्दै आएको छ । आजभन्दा २५ वर्षअघि जम्मा २५ श्ययामा करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १५० श्ययामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९०० भन्दा बढीले सेवा दिइरहेको जनाएको छ । अस्पतालले करीब दुई अर्बको लगानीमा थापाथलीस्थित ‘नर्भिक हस्पिटल’ परिसरमै २५० श्ययाको अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागेको र उक्त कार्य आगामी तीन वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले प्रविधिको दायरा बढाउँदै चिकित्सकीय सेवालाई थप गुणस्तरीय बनाउन लागि परेको बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा यादवकुमार देव भट्ट, अर्थोपेडिक प्रमुख डा प्रवीन नेपाल, वरिष्ठ चिकित्सक प्रा डा रमेशकुमार चोखानी, स्त्री रोग विभागकी प्रा डा अचला वैद्यलगायतले आधुनिक उपकरणयुक्त विशिष्टिकृत सेवा प्रदान गर्न लागि परेको बताए ।

वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्ने १२६ अस्पतालमा अनुगमन हुँदै

काठमाडौं। वैदेशिक रोजगारकोमा जाने कामदारको स्वास्थ्य परिक्षणको लागि निवेदन पेश गरेका अस्पतालको अनुगमन हुने भएको छ। स्वास्थ्य परिक्षणको लागि सुचिक्रित हुन निवेदन पेश गरेका १२६ वटा अस्पतालमा बैशाख ८ गते आईतबारबाट अनुगमन हुन लागेको हो। स्वास्थ्य परिक्षणको लागि अस्पतालको मापदण्ड पुरा भएको छ वा छैन भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गर्न लागेको हो। मन्त्रालयले अनुगमनको लागि देशैभर ४ वटा टोली खटिउने जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोली जसको १० दिन भित्र सुचना संकलन गरिसक्नुपर्ने र त्यस्तै उपत्यकामा १ टोली खटाईनेछ जसले १५ दिन भित्रमा सबै सुचना संकलन गरी सक्नुपर्नेछ। हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछन। अनुगमनमा आउने प्राविधिक समितिका टोलीलाई अस्पतालले आवश्यक विवरन सबै बुझाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

एनआईसी एशियाका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।