एउटै औजारमा करोडौं कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैनः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका-४ असैंना स्वास्थ्यचौकीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र नबन्ने बताएका हुन् । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको जानकारी दिए । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरेका छन्। अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताए । “सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ”, उनले भने, “जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ । नडराइकन बस्नोस् । अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ ।” सो अवसरमा प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीले पिपलाडी स्वास्थ्य चौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत चालु आवमा २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेकाले सो कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्न चिकित्सककाे आग्रह
नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय ९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् । औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे । आधारभूत स्वास्थ्य केन्द्र स्थापना खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताएका छन् ।
कान्तिबाल अस्पतालको ब्लड बैंक सेवा पुनः सुचारु हुने, राउन्ड टेबल नेपालसँग सम्झौता
काठमाडाैं । कान्तिबाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु हुने भएकाे छ । साे सम्बन्धि राउन्ड टेबल नेपाल र कान्तिबाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप काठमाडाैं जिल राउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयंम सेवकलाई लाग्ने खर्च व्यहोर्ने गरी उक्त सेवा पुन: सञ्चालन गरिने छ । रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिईएको छ । यसका साथसाथै राउन्ड टेबल नेपालले अस्पतालाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ । गत अक्टोबर २०१९ मा पुन: सञ्चालनमा ल्याईएको यस ब्लड बैंकले हालसम्म करिब १० औं हजार बालबालिकाहरुको हित गरेको छ । साथै, आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउने छ । राउन्ड टेबल नेपाल बालबालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाजसेवामा समर्पित युवाहरुको समुह हो ।