डाेटीमा ब्लड बैंक नहुँदा चारजनाले गुमाए अकालमा ज्यान
डोटी । रगत अभावका कारण अहिलेसम्म डाेटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए । उनले भने, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौं बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे । नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्य रूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताएका छन् । शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।” जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।रासस
वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट
काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।
साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण
बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका हुन् । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए । “स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ ।” स्थानीयस्तरमै सुविधायुक्त स्वास्थ्य संस्था बनाउने उद्देश्यले स्थानीयवासी चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए । अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याइने उनको भनाइ थियो । हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ । यसैबीच, शहरी विकास तथा भवन निर्माण कार्यालयले कचनकवलको घेराबारीमा रु एक करोडको लागतमा निर्मित स्वास्थ्यचौकी भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । रासस