हरेक बर्ष जाँच गराए पाठेघरको क्यान्सर हुनबाट बच्न सकिन्छः डा. समिरा सफिन खान
डा. समिना सफिन खान स्वास्थ्य हरेक मानिसको लागि निकै नै महत्वपूर्ण बिषय हो । चाहे महिला होस् अथवा पुरुष दुबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु एकदमै आवश्यक छ । नेपालको सन्दर्भमा स्वास्थ्यको ख्याल गर्ने पाटोमा पुरुषहरु महिला भन्दा अगाडि छन्। पुरुषको दाँजोमा महिलाहरु सीप र शिक्षा आर्जन गर्ने अवसरबाट वञ्चित रहेका छन्, जसका कारण महिलाहरु पुरुषले जस्तो अत्यावश्यक स्वास्थ्य सेवा लिने निर्णय आफैँ गर्न सक्दैनन् । जसकारण उनीहरु विभिन्न रोगको सिकार हुन्छन् र ज्यान समेत गुमाउँछन् । महिलाहरु महिनावारी, गर्भवती जस्ता अवस्थाबाट गुज्रिने भएको कारण पनि पुरुषको दाँजोमा महिलाहरुको स्वास्थ्यमा अझै बढी समस्या देखिने गरेको छ । महिला स्वास्थ्यको कुरा गर्दा प्रजनन् अंगमा सबैभन्दा धेरै समस्या देखिने गर्छ । सेतो पानी बग्ने, आङ खस्ने, पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने समस्या हुन् । प्रस्तुत छ महिला प्रजनन् स्वास्थ्यका बिषयमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. समिरा सफिन खानसँग विकासन्यूजको लागि डोमी शेर्पाले गरेको कुराकानीः पछिल्लो समय महिलाको स्वास्थ्यमा सबैभन्दा बढी समस्या के मा देखिएको छ ? पछिल्लो समयमा महिलाहरुमा सबैभन्दा बढी देखिने समस्या भनेको पाठेघरको संक्रमण हो, जुन प्रजनन् उमेर समूहका महिलामा बढी देखिन्छ । सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी र पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ । यो महिनावारी सुकीसकेका महिलामा पनि देखिने गर्दछ । महिनावारी सुकीसकेको अवस्थामा महिलाहरुको शरीरमा हर्मोनको लेभल कम हुन जान्छ, जसले योनीको छालाहरु पातलो हुन्छ र रोगसँग लड्ने क्षमता पनि कम भएर जान्छ । एउटा महिलाले आफ्नो प्रजनन् अंगलाई कसरी सफा राख्ने ? प्रजनन् अंगलाई सफा राख्नको लागि धेरै उपायहरु छन् । बजारमा अहिले धेरै यस्ता वस्तु आएका छन्, जसले हाम्रा भित्र अंगलाई सफा राख्ने बताईन्छ, तर यी वस्तुहरुको उपयोग गर्न जरुरी नै छैन । त्यसको सट्टा बरु सफा पानीले सफा गर्ने, आफ्नो भित्री वस्त्र मिलेसम्म दिनको दुई पटक नभए एक पटक बदल्ने, सुतीको भित्री वस्त्रहरु प्रयोग गर्ने, महिनावारीको समयमा एउटै प्याड लामो समय प्रयोग नगर्ने र समय समयमा सफा पानीले सफा गरिराखेर महिलाले आफ्नो प्रजनन् अंगलाई सफा राख्न सक्नुहुन्छ । महिलाले आफ्नो योनी सफा गर्दा साबुन प्रयोग गर्नु हुन्छ वा हुँदैन ? योनीमा साबुन, डेटोलहरुको प्रयोग नगर्दा नै राम्रो हुन्छ। किनभने यसमा रसायनहरु बढी हुने गर्छ, जसले योनीमा भएको प्राकृतिक जीवाणु नस्ट हुन्छन् । योनी महिलाको संवेदनशील अंग हो, त्यसैले यसमा साबुनहरु प्रयोग नगरेकै राम्रो । तर यदी गर्नै परेको अवस्थामा रसायन कम भएको साबुनहरु प्रयोग गर्न सक्नुहुन्छ । महिलाको पाठेघरको मुखको क्यान्सर पछिल्लो समय एकदमै बढी देखिएको छ, यसको कारण के हो ? पाठेघरको मुखको क्यान्सर हुनुमा सबैभन्दा पहिलो कारण शिक्षाको अभाव हो । यो रोग पत्ता लगाउनको लागि सबैभन्दा पहिला पाठेघरको मुखको जाँछ गरिन्छ, जसलाई प्याप्समियर भनिन्छ । हरेक बर्ष जाँच गर्दा पाठेघरमा भएका नराम्रो कोशीकहरु सुरुवाती अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदी सुरुवाती अवस्थामै पत्ता लगाउने हो भने यसको उपचार निकै नै सजिलो रहेको छ । तर, हामीहरु जबसम्म शरीरमा केही लक्षणहरु देख्दैनौं, त्यस समयसम्म हामी कहिले पनि डाक्टर कहाँ जाँदैनौं । पाठेघरको मुखको क्यान्सरको त्यस्तो केही लक्षणहरु नै हुँदैन र यसले अन्तिम स्टेजमा मात्र गएर लक्षणहरु देखिन थाल्छ । अर्को कारण सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माउनु, धेर जनासँग यौन सम्पर्क राख्नाले वा आफ्नो पार्टनरले अरु धेर मानिससँग यौन सम्पर्क राख्नाले पनि यो समस्या देखिन्छ । यो ह्युमन प्यापिलोमा भाईरसको कारणले आउने गर्दछ र त्यो यौन सम्पर्कको माध्यमबाट सर्ने गर्दछ । यसलाई पहिलो स्टेजमा पत्ता लगाउन सकियो भने सर्जरीहरु गरेर रोगलाई निको पार्न सकिन्छ । स्टेज बढ्दै गईसकेपछी कहाँ कहाँ फैलियो भन्ने कुराले उपचार सफल हुन्छ वा हुँदैन भन्ने कुराको निर्धारण गर्दछ । यो अवस्थामा रेडियोथेरापी, किमोथेरापी दिईन्छ । र, अन्तिम स्टेजमा पत्ता लागेको अवस्थामा सर्जरी गर्न सम्भव हुँदैन र यो अवस्थामा जीवनलाई सजिलो बनाउन रेडियोथेरापी, केमोथेरापीहरु गराईन्छ । प्रजनन् अंगहरुमा सामान्य घाउहरु आएको अवस्थामा त्यसलाई ध्यान नदिदा के कस्तो समस्या देखिन सक्छ ? यदी हामीले शरीरको कुनै पनि भागमा भएका संक्रमणलाई वेवस्ता गर्ने हो भने त्यो पछी गएर ठूलो भई, पानी जम्ने हुने गर्दछ । यदी पाठेघरमा भएको संक्रमण हामीले वेवस्ता गर्ने हो भने त्यो बिस्तारै सर्दै जान्छ, जुन पछी गएर डिम्ब नलीसम्म जान्छ । सेतो पानी बग्नु भनेको के हो ? सेतो पानी जाने भनेको योनीबाट फोहोर पानी जानु हो, जसको गन्ध पनि फरक हुन्छ, रंग पनि पहेलो वा कुनै अरु रंगको हुन्छ र त्योसँगै चिलाउने, गन्हाउने, तल्लो पेटो दुख्ने संक्रमणको लक्षण हुन् । यो पनि सरसफाइको कमी, जथाभावी यौन सम्पर्कको कारण हुने गर्दछ । यो धेरै महिलाहरुमा देखिने समस्या हो । सहर र गाउँका महिलामा लाग्ने रोगमा के भिन्नता छ ? गाउँ र शहरका महिलामा लाग्ने रोगमा खासै भिन्नता छैन । आङ खस्ने रोग शहरका महिलाको दाँजोमा गाउँका महिलामा बढी देखिन्छ यधपी अन्य समस्याहरु दुवै क्षेत्रका महिलामा समान रुपमा देखिने गरेको छ । गाउँ र शहरभन्दा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने महिलाहरुलाई संक्रमण कम हुन्छ । महिलाहरुले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न के गर्नुपर्छ ? आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न महिलाहरुले सबैभन्दा पहिला आफु र आफ्नो शरीरमा प्रयोग गर्ने कपडाहरुको सरसफाइमा ध्यान दिनुपर्छ । त्यसपछी आफ्नो शारीरिक क्षमतालाई हेरेर खाने खानेकुराहरु मिलाएर खाने गर्नु पर्दछ । एक भन्दा बढी पार्टनरहरुसँग यौन सम्पर्क नराख्ने र आफ्नो स्वास्थ्य जाँच बर्षमा एकपटक गराउने । यदी यी कुराहरुमा ध्यान दिने हो भने महिलाले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न सक्नु हुन्छ ।
गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बूलाई
काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् । पुर्व निर्देशक डा. जितेन्द्र शर्माको ४ बर्षको कार्यकाल साउन २६ गते शनिबार सिद्दिएको हो। उनको कार्यकाल सिद्दिएको लगत्तै डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिईएको हो। आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्यअधिकार सहित डा लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
४ प्रतिशतले डेंगुको संक्रमण बढ्यो, समन्वय नहुँदा बढ्दो क्रममा
काठमाडौं । सन् २०१९ मा आईपुग्दा डेंगुबाट प्रभावित नेपालीको संख्या झन्डै ४ गुणाले बढेको छ । गतबर्ष डेंगुबाट प्रभावित हुनेको संख्या ८११ रहेकोमा यस बर्ष भने ३ हजार ४ सय २५ पुग्दा ४ गुणाले बढेको हो । नेपालमा पहिलो पटक २००४ सालमा डेंगुको पहिलो बिरामी भेट्टिएको थियो । त्यसपछी २०१० सालमा ९१७, २०१६ मा १५२७, २०१७ मा २१११ र २०१८ मा ८११ डेंगुका केसहरु देखिएको थियो । घटेर जानुपर्ने क्रममा २०१९ मा आईपुग्दा ३२२ प्रतिशतले बढेको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ मा डेंगु खोजी तथा नष्टको लागि ७ करोड ९३ लाख खर्च गरेको छ। सरकारले डेंगु खोजी तथा नष्टको लागि केन्द्रीय सरकार अन्तरगत रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा ४ करोड ८३ लाख र स्थानीय तहहरुमा १ करोड ९० लाख गरी ७ करोड ९३ लाख खर्च गरेको हो। यधापी डेंगु नियन्त्रणको काम भने खासै प्रभावकारी देखिएको छैन । स्थानिय तह र प्रदेश स्तर बिचको राम्रो समन्वय नहुँदा डेगु नियनत्रण खासै प्रभावकारी नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक सुशिल प्याकुरेल बताउँछन् । उनी भन्छन, ‘समयोजनको ह्याङ अहिलेसम्म पनि उत्रिएको छैन ।’ प्रदेश नम्बर १ सबैभन्दा बढि जोखिममा गत आर्थिक वर्षमा डेंगु संक्रमित भएका मध्ये ९२ प्रतिसत भन्दा धेरै प्रदेश १ का रहेका छन् । तथ्यांक अनुसार प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित भेटिएका छन् । प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित सुनसरीपछि मोरङ्गमा ८१ र झापामा २९ जना संक्रमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।‘जबसम्म हामी खानेपानीको र फोहोरमैलाको उचित व्यवस्थापन गर्न सक्दैनौ, तबसम्म हामी डेंगु रोग नियन्त्रण गर्न सक्दैनौं,’ ईपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले बताए । तापक्रम बढ्नुको कारण बिरामीहरु बढ्दै गएको विज्ञहरु बताउँछन् । हालसम्म नेपालमा १५ जनाको मात्र मृत्यु भएको छ । सामान्य ज्वोरोबाट सुरु हुने डेंगु नेपालको मात्र नभएर विश्वब्यापी रुपमा एुउटा समस्याको रुपमा रहेको छ । कसरी सर्छ डेंगु ? डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् । एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४-७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८-१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ । त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ । लक्षणहरु डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् : – असाध्यै टाउको दुख्ने । – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने । – ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने । – शरीरमा विमिरा आउने । – धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । – वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ । मृत्युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। रक्तश्रावको खतरा हुने अवस्थाहरु – लामो समयसम्म वेहोस भएमा – जलवियोजन र वेहोस भएमा – कलेजोमा खराबी उत्पन्न भएका – दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा – ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा – रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा – शरीरमा कुनै प्रकारको चोटपटक लागेमा विश्वब्यापी अवस्थाहरु विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । रोकथामका उपायहरु – पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । – पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ । – कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । नियन्त्रण सम्बन्धी सरकारले गरेका कार्यक्रमहरु – महोतरीको वर्दिवास, चितवनको रत्ननगर र भरतपुर न.पा, झापाको अर्जुनधारा, विर्तामोड, सुन्दरहरैचा, वेलवारी न.पा र धादिडको निलकण्ड न.पा.मा लामखुटेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य गरेको । – सो समयमा सरोकारवाला, जनप्रतिनिधि, संचारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन । – डेंगु रोग निदानको लागि द्रूत कीट जिल्ला तथा अस्पतालको माग वमोजिम नियमित रुपमा वितरण । – महामारी भएका स्थानहरुमा केन्दबाट विशेषज्ञ सहितको टोली नियन्त्रण तथा व्यवस्थापन गर्न परिचालन । – डेंगु रोग सम्वन्धि चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन । – डेंगु रोगको राष्टिय समिक्षा गोष्ठी संचालन । – डेंगु रोग नियन्त्रण र व्यवस्थापन सम्वन्धि निर्देशिका । – नियमित रुपमा समन्वय र सहयोग ।