चेपाङको जीवनस्तर उकास्न साढे २ कराेडकाे परियोजना शुरू गरिँदै
मुग्लिन । इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका साथ परियोजना शुरु गरेको हो । सस्थाका अध्यक्ष ध्रुव गिरीलले विभिन्न प्रतियोगितामार्फत यहाँका स्थानीयवासीमा परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको जानकारी दिएका छन् । यसअघि चितवनको कालिक नगरपालिकामा परियोजना कार्यान्वयनमा आएको थियो । यहाँका ४८० घरधुरीमा कार्यान्वयनमा आउने परियोजनाले सरसफाइ, घर, करेसाबारी, शिक्षा, स्वास्थ्य, आर्थिक आयआर्जन लगायतमा करिब रु दुई करोड ५० लाख खर्च गर्ने जनाइएको छ । तीन वर्षसम्म सञ्चालन हुने परियोजनाको बुधबार गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले शुभारम्भ गर्दै गैरसरकारी संस्थाले निश्चित समयसम्म काम गर्ने भएकाले यहाँकै स्थानीयवासी आफ्नो जीवन परिवर्तनका लागि जागरुक हुनुपर्ने बताएकी छन् । कार्यक्रम निर्देशक सुजन बस्नेतले अन्तर घर, अन्तर विद्यालय, अन्तर स्वास्थ्यकर्मी, अन्तर कृषक, अन्तर आमा समूहबीच प्रतिष्पर्धा गराएर परिवर्तन ल्याइने जानकारी दिए । पछिल्लो जनगणनाअनुसार २५ हजार १२ जनसङ्ख्या रहेको यस गाउँपालिकामा चेपाङको सङ्ख्या नौ हजार रहेको छ । रासस
ग्यालेक्सी हस्पिटलले शुरु गर्यो स्वास्थ्य सेवा, सबै सेवामा ३० प्रतिशत छुट दिने
काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित र संचालित यस हस्पिटलले शुभारम्भको अवसरमा सबै प्रकारका सेवामा ३० प्रतिशत छुट सुविधा प्रदान गरेको उनले बताए । पोखरा-१०, बुद्धचोक (उत्तमचोक) मा रहेको यस हस्पिटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, आधुनिक २ वटा अपरेसन कक्ष, १४ वटा ओपिडी, आधुनिक ल्याब, आइसियू, एनआइसियू,पिआइसियू, पोष्टअप कक्ष रहेका छन् । हस्पिटलमा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म पूर्णकालिन विशेषज्ञ डाक्टरको चेकजाँच सुविधा, बिना चिरफार(ल्याप्रोस्कोपिक) पेट सम्बन्धी सम्पूर्ण रोगको सल्यक्रिया, हाडजोर्नी तथा नसा सम्बन्धी सल्यक्रिया, आर्थोस्कोपिक सल्यक्रिया, न्यूरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौन रोग, नाक कान घाटी, मनोरोग लगायतसबै प्रकारका रोगको उपचारको सुविधा रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्टडा. ऋषीराम ढकालले बताए । हस्पिटलले प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन बिरामी, बिरामीका आफन्त र सुभेच्छुकहरुसँग सुझाव सल्लाह लिँदै पारिवारिक अस्पतालका रुपमा ग्यालेक्सी हस्पिटललाई स्थापित गराउने लक्ष्य रहेको हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए । प्रयाप्त पार्किङ सुविधा रहेको यस हस्पिटलको आफ्नै अत्याधुनिक ल्याव र फार्मेसी भएकोले बिरामीका लागि बढी लाभदायिक रहने । साथै, सबै प्रकारका स्वास्थ्य सेवामा हाल दिइएको ३० प्रतिशतको छुट सुविधाले सेवाग्राहीहरु लाभान्वित हुने बताइएको छ ।
ब्रेन हेमोरेजको नयाँ उपचार विधिः भारतमाभन्दा नेपालमा आधा सस्तो, यी अस्पतालले दिन्छन् सेवा
काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार पाइने विश्वास पनि उनको परिवारको छ । ब्रेन हेमोरेज मष्तिष्कको वरिपरि हुने रक्तस्राव हो । यो एक निकै नै जटिल स्वास्थ्य अवस्था भएको कारण नेपालमा राम्रो उपचार हुँदैन होला भन्ने अनुमान धेरै नेपालीकाे छ । तर, अहिले नेपालमा न्युरो सम्बन्धी अन्तराष्ट्रियस्तरका सबै उपचार हुने ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्यूरो इन्टरभेन्सनिष्ट डा. सुवास फुयाँल बताउँछन् । के हो ब्रेन हेमोरेज ? ब्रेन हेमोरेज मष्तिष्कमा वा मस्तिष्क वरिपरि हुने रक्तस्राव हो । यो दुई प्रकारको हुन्छ । बाहिरी चोटपटक लागेर हुने हेमोरेजलाई ट्रमाटिक हेमोरेज भनिन्छ । यो एक प्रकारको हेमोरेज हो । दिमागभित्र रक्तस्राव हुने अर्काे प्रकारको हेमोरेज हो । यसलाई ननट्रमाटिक हेमोरेज भनिन्छ । ननट्रमाटिम ब्रेन हेमोरेज बसिरहेको समयमा अचानक रक्तचाप उच्च भएर हुने गर्दछ । यो अवस्थामा बिरामीमा दिमागमा रगत निर्यात गर्न नशाको भित्ता बेलुन जस्तो फुल्छ । यसरी फुलेको नसा फुटेपछि बिरामीलाई हेमोरेज हुने गर्दछ । यसरी नशा फुल्नुलाई ब्रेनयेन्युरिजम भनिन्छ भने फुटेपछि हुने अवस्थालाइ ब्रेन हेमोरेज भनिन्छ । स्पोनटेनियस ब्रेन हेमोरेज विभिन्न प्रकारका चोटपटक लागेर हुने बे्रन हेमोरेजभन्दा पनि आफै हुने ब्रेन हेमोरेजको बारेमा कम जानकारी प्राप्त हुन्छ । उच्च रक्तस्रावको कारण उमेर बढ्दै गएको मानिसमा मस्तिष्कका नशाको भित्ता पातलो भएर जान्छ । यसरी पातलो भएको नसा फुलेर फुट्छ र ब्रेन हेमोरेज हुने गर्दछ । यस्तो बिरामीलाई तत्काल उपचारको आवश्यक हुन्छ । किनभने एक पटक मस्तिसकको नशाको भित्ता फुटिसकेपछि दोस्रो पटक पनि फुट्ने सम्भावना बढी हुने डा. फुयाँल बताउँछन् । एक पटक फुटेपछि उक्त भित्ता आफैं केही समय वा दिनको लागि बन्द भईदिन्छ । यसरी बन्द भएको नसाको भित्ता खुलेको अवस्थामा मान्छेको ज्यानै पनि जान सक्छ । स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार पद्धति स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार दुई तरिकाले हुन्छ । यसको पहिलो र सबैभन्दा पुरानो उपचार भनेको टाउको खोलेर गरिने उपचार हो । यस्तो उपचार सेवा नेपालका क्रिटिकल केयरको उपचार सेवा दिने धेरै अस्पतालमा धेरै वर्ष पहिलादेखि नै हुँदै आएको छ । यसको दोस्रो र सबैभन्दा नयाँ उपचार विधि भनेको टाउको नखोली गरिने उपचार हो । यो उपचार पद्धतिबाट हाल नेपालका दुई अस्पतालमा मात्र उपचार गरिन्छ । हालसम्म १ सय ३० वटा केसहरु हेरिसकेका डा. फुयाल धापासीमा रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा कार्यरत रहेका छन् । कसरी हुन्छ टाउको नखोली उपचार ? यो उपचार पद्धतिमा खुट्टा वा हातको नशाबाट तार लिएर त्यसलाई एक्स–रेको माध्यमबाट हेरेर दिमागमा फुटेको भागमा लगेर जोडिन्छ । संसारभर अहिले यो सबैभन्दा चलेको बे्रन हेमोरेजको उपचार पद्धति रहेको हो । डाक्टरहरुका अनुसार यो पद्धतिमा जोखिम पनि कम हुन्छ र बिरामी पनि ६/७ दिनमै घर जान सक्छन् । टाउको खोलेर गरिने उपचार पद्धतिमा बिरामीको अस्पताल बसाई पनि लामो हुने डा. फुयालले बताए । कति लाग्छ खर्च ? उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा धेरै नै महँगो हुन्छ । तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो भएको महसुस हुने गर्छ । टाउको नखोली गरिने उपचारमा प्रयोग हुने मेसिन पनि विदेशबाट आयात हुन्छ । यस्तो उपचारका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्न सक्ने डा. फुयाल बताउँछन् । डा. फुयाँलले ६ वर्ष लामो अध्ययनपछि नेपालमा पहिलोपल्ट गत बैशाखमा ग्राण्डी ईन्टरनेसनलबाट यो उपचार पद्धतिबाट सेवा सुरु गरेका हुन् । यस्तै, टाउको खोलेर गरिने उपचारमा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने हुनाले यसको उपचार खर्च पनि धेरै लाग्ने टिचिङ अस्पतालका न्युरो सर्जन डा.गोपाल सेडाई बताउँछन् । कहाँ हुन्छ ब्रेन हेमोरेजको उपचार ? ब्रेन हेमोरेजको उपचार सरकारी अस्पतालहरु काठमाडौंको टिचिङ, वीर र चितवनको भरतपुर अस्पतालमा हुने गरेको छ । यस्तै, बानेश्वरको सिभिल अस्पतालमा यसको सर्जरी नभए पनि चिकित्सकको प्रबन्ध भने हुने टिचिङ अस्पतालका न्युरो सर्जन डा. सेडाईले जानकारी दिए । निजी लगानीद्धारा संचालित काठमाडौंको ग्राण्डी इन्टरनेसनल, मेडिसिटी, न्युरो, नर्भिक र ह्याम्स अस्पतालमा पनि यसको उपचार हुन्छ । उपत्यका बाहिरमा चितवनको चितवन मेडिकल कलेज, पोखराको मणिपाल, बिराटनगरको नोबल मेडिकल अस्पताल, बिराट मेडिकल कलेज तथा अन्य धेरै प्राईभेट अस्पतालहरुमा यसको उपचार हुने डा. फुयाँलले जानकारी दिए । ब्रेन हेमोरेजको लक्षण सामान्य पेनकिलरले ठीक नहुने गरी अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु ब्रेन हेमोरेजको लक्षण हो । रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी महसुस हुन बे्रन हेमोरेजका लक्षण हुन् । भारतभन्दा ५० प्रतिशत सस्तो टाउको नखोली गरिने उपचार पद्धतिमा प्रयोग हुने मेसिनको भारत र नेपालमा करिब उस्तै शुल्क लाग्ने डा. फुयाँल बताउँछन् । नेपालमा एउटा डाक्टरले यस्ता केस गरेको २० हजारदेखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने भारतीय डाक्टरले १ लाख रुपैंयाभन्दा बढी लिने फुयाँल बताउँछन् । भारतमा उपचार गर्दा बसाई खर्च, हवाई भाँडा र नयाँ सहरले दिने तनाव जस्ता विषयले नेपालको दाँजोमा भारतमा हुने सबै उपचार खर्च धेरै हुने गरेको छ । किन जान्छन् नेपाली भारतमा ? नेपालका अस्पताल उद्योगले गर्न नसकेको काम नै ब्रान्डिङको हो । नेपालमा ब्रेन हेमोरेजको सफल उपचार हुन्छ भन्ने पर्याप्त जानकारी नपाएका कारण पनि धेरै नेपाली भारत धाउने गरेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्युरो सर्जन डा. फुयाल बताउँछन् । अहिलेको अवस्थामा अन्तराष्ट्रिय जगतमा हुने प्रायः सबै उपचार पद्धती नेपालमा प्राप्त हुने उनको भनाइ छ । उपचारको लागि भारत धाउने नेपालीमा भट्ट त एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता सयौं नेपालीहरु उपचारको लागि दिनहूँ भारत जाने गरेका छन् । नेपाली उपचार पद्धतिप्रतिको अविश्वास र विशेषज्ञता सेवाको लागि काठमाडौं नै धाउनुपर्न हुनाले भारतसँग नजिकका सिमानामा रहेका धेरै मानिस उपचार गन्तव्य भारत नै रोज्ने बनाउने गरेका छन् । नेपालमा कुन कुन अस्पतालमा कस्तो उपचार हुन्छ भन्ने जानकारी नभएको कारण पनि धेरैले भारतका अस्पताललाई रोज्ने गरेका छन् ।