हेपाटाईटिस बि नियन्त्रणमा उपलब्धी हाँसिल गरेकोमा नेपाल सम्मानित

काठमाडौं।  हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार सम्मान गरिएको हो। नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ। संगठनले विभिन्न विधामा जनस्वास्थ्यमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेकोमा नेपाल सहित अन्य ५ मुलुकलाई सम्मान गरेको छ। सम्मान हुने अन्य ५ मुलुकमा बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंका परेका छन्।

शुक्रराज अस्पताललाई डेंगुको उपचारको सबै व्यवस्था मिलाउन राज्यमन्त्री यादवको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका हुन्। यादवले अस्पतालका,स्वास्थ सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहशाखा,चिकित्सा महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेंगुको उपचारको लागि निशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। त्यस्तै डेगुको बिरामी शुक्रराज ट्रपिकल आएपछी अन्यन्त्र जानू नपर्ने गरि आवश्यक सबै प्रबन्ध मिलाउन पनि राज्यमन्त्री यादवले निर्देशन दिएका छन्।

जापानले नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने, कात्तिकमा परीक्षा

काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको हो । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस