कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले लगायाे सार्वजनिक यातायातमा प्रतिबन्ध

बेइजिङ  । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ । ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १ सय ७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।रासस

नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट, के के सेवामा पाउँछन् छुट ?

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउने छन् । अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् । चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) ले आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध गराउँदै आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले हाल ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

सिद्धार्थ बैंकले सम्पन्न गर्यो ६ दिने आँखा शल्यक्रिया शिविर, एक हजार बढीको आँखा परीक्षण

काठमाडौं । सिद्धार्थ बैंकले ६ दिने नि: शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा उक्त शिविर सम्पन्न गरेको हो । बैंकले पुस २२ गतेदेखि २५ गतेसम्म श्रीनगर(सर्लाही) र पुस २७ गतेदेखि पुस २९ गतेसम्म मलंगवा (सर्लाही) मा संचालन गरेको थियो । उक्त शिविरमा कूल एक हजार २ सय ४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य एक सय ७८ जना मोतिया बिन्दु रोगीहरुको पहिचान गरि उनीहरुको आँखा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । साथै, उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमकाबीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्रीदमन बहादुर घलेलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । साथै, आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।