बिटकोइनको मूल्य २०२६ मा १५०‍ प्रतिशतसम्म बढ्नसक्ने

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो समय ठूलो उतारचढाव देखिँदै आएको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वोइन पनि यसबाट अछुतो रहन सकेको छैन । गत वर्ष अक्टोबरमा बिटक्वोइन १ लाख २५ हजार अमेरिकी डलर पार गर्दै ऐतिहासिक उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि यसको मूल्य क्रमशः घट्दै आएको छ । हालसम्म बिटक्वाइन आफ्नो उच्चतम स्तरबाट करिब २८ प्रतिशतभन्दा बढी घटिसकेको छ । यद्यपि, उद्योगका ठूला अधिकारी तथा लगानीकर्ताहरूले सन् २०२६ सम्म बिटक्वाइन नयाँ उचाइमा पुग्न सक्ने बताएका छन् । तर त्यससँगै तीव्र उतार–चढावको जोखिम पनि कायमै रहने उनीहरूको भनाइ छ । सीएनबीसीको बिटकोइन फोरकास्ट रिपोर्टअनुसार सन् २०२६ का लागि विभिन्न विज्ञहरूले बिटकोइनको मूल्य निकै फराकिलो दायरामा रहने अनुमान गरेका छन् । केहीका अनुसार बिटकोइन ७५ हजार डलरसम्म झर्न सक्छ भने केहीले यसलाई २ लाख २५ हजार डलरसम्म पुग्ने देखेका छन् । यसको अर्थ सन् २०२६ मा हालको मूल्यको तुलनामा बिटकोइन १५० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ । आज बिटकोइन ९२ हजार ४४ डलरमा कारोबार भइरहेको छ । गत वर्ष अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा क्रिप्टो बजारले तुलनात्मक रूपमा अनुकूल नियामक वातावरणको लाभ पाएको थियो । साथै ठूला संस्थागत लगानीकर्ता र बैंकजस्ता परम्परागत वित्तीय संस्थाहरूको रुचि पनि बढेको थियो । यही क्रममा डिजिटल एसेट ट्रेजरी (डीएटी) कम्पनीहरूको प्रभाव बढेको देखियो । यी कम्पनीहरूले ठूलो मात्रामा बिटकोइन र अन्य डिजिटल सिक्का सञ्चित गर्छन् । अर्कोतर्फ प्रविधि कम्पनीका सेयर मूल्यांकनलाई लिएर बहस चलिरहेको छ। साथै कृत्रिम बौद्धिकता (एआई) को बूम कतै ‘बबल’ त होइन भन्ने प्रश्न पनि उठिरहेको छ । यी सबै कारणले वर्षको अन्त्यतिर क्रिप्टो बजारमा बिक्री हावी देखियो । लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिको पुनर्मूल्यांकन गर्दा र क्रिप्टो धारकहरूले आफ्ना डिजिटल सिक्का बेच्दा बिक्री हावी दबाबपूर्ण  भयो, जसले मूल्य झनै घटायो । यी सबै कारणले सन् २०२६ का लागि चुनौतीपूर्ण अवस्था सिर्जना भएको देखिन्छ । क्यारोल अलेक्जेन्डर : ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरसम्म युनिभर्सिटी अफ ससेक्सकी फाइनान्स प्रोफेसर क्यारोल अलेक्जेन्डरका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरको दायरामा रहन सक्छ । पछिल्ला केही वर्षमा उनका बिटकोइनसम्बन्धी अनुमानहरू धेरै हदसम्म सही सावित भएका छन् । उनले सन् २०२५ को गर्मी सम्म बिटकोइन करिब १ लाख ५० हजार डलर वरिपरि (५० हजार डलर तल–माथि) कारोबार हुन सक्ने बताएका थिए, जुन अनुमान सही देखियो । कोइनशेयर्स : १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरसम्म क्रिप्टो–केन्द्रित एसेट म्यानेजर कोइनशेयर्सका रिसर्च प्रमुख जेम्स बटरफिलका अनुसार सन् २०२६ मा बिटकोइन १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरको दायरामा रहन सक्छ । उनका अनुसार वर्षको दोस्रो भागमा मूल्य वृद्धिको सम्भावना बढी देखिन्छ । डिसेम्बर २०२४ मा बटरफिलले बिटकोइन सन् २०२५ मा करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन सही सावित भयो । बिट माइनिङ : ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म बिट माइनिङका प्रमुख अर्थशास्त्री यूवेई याङले पनि बिटकोइनमा निरन्तर अस्थिरता रहने बताएका छन् । उनका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्मको फराकिलो दायरामा कारोबार हुन सक्छ । याङका अनुसार सन् २०२६ बिटकोइनका लागि बलियो वर्ष हुन सक्छ । डिसेम्बर २०२४ मा उनले सन् २०२५ मा बिटकोइन करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन आंशिक रूपमा सही देखिएको थियो ।

नबिल बैंक : समाजको सारथी, राष्ट्रको गौरव

नेपाली बैंक तथा वित्तीय क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंक हो, नबिल । सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंकका रूपमा स्थापित नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ ।  कुनैबेला मुलुकमा साहु तथा महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । उच्च सरकारी अधिकारीहरूसँग पहुँच हुने वर्गमा सीमित बैंकिङलाई पहुँच नहुने वर्गसामु पुर्‍याउन नबिलले ठूलो मिहिनेत गर्‍यो । चिटिक्क परेको बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरूलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्‍यो । आज घरबाटै बैंकिङ, मोबाइलबाटै कारोबार गर्ने अवस्थामा समाजलाई पुर्‍याउने नबिल बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।  त्यसैले पनि बैंकिङ क्षेत्रमा नबिल बैंकप्रतिको विश्वास उच्च छ । बैंकमा पूर्ण विश्वाससहित ढुक्कले पैसा राख्ने र ऋण लिने अभ्यासले प्रसय पाएको छ । ढड्डा र घर्राबाट चल्ने पुरानो ढर्राको बैंकिङ अभ्यासलाई नबिलले प्रविधिमैत्री बनाएर बैंकिङ कारोबारलाई पूर्णरूपमा कम्प्युटराइज गर्न सफल भएको छ । र, सेवाग्राहीलाई पनि त्यसमा अभ्यस्त पार्दै लगेको छ ।  नबिलले पहिलो पटक आधुनिक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै सेवामुखी प्रतिस्पर्धात्मक बैंकिङ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अवधिमा नबिलले बैंकिङ क्षेत्रमा प्रविधिमा नेतृत्व, पूर्वाधार तथा उत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह र राजस्व योगदानमार्फत राष्ट्रिय विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ ।  नबिल बैंक निरन्तर रूपमा नेपालको बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नेतृत्वकर्ताको रूपमा आफूलाई चिनाउँदै आएको छ । बैंकले सन् १९९२ मा नेपालको इतिहासमै पहिलो पटक क्रेडिट कार्ड सेवा सुरु गरेर आफूलाई लिडरका रूपमा परिचित गरायो भने त्यसपछि एटीएम तथा पीओएस सेवाहरूको विस्तारले भुक्तानी प्रणालीलाई डिजिटल बनाउन बैंकिङ क्षेत्रमै पायोनियर बैंकका रूपमा चिनाउन सफल भयो ।  पछिल्ला वर्षहरूमा नबिलले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छिटो, सरल र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । नबिलको ‘एन बैंक’ एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीले शाखा धाउनु नपर्ने वातावरण सिर्जना भएको छ ।  बैंकमा खाता खोल्न तथा वित्तीय कारोबार गर्न भौतिकरूपमा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभ्यासमा नबिलले अग्रणी भूमिका खेलिरहेको छ ।  यसले सेवाग्राहीको समय तथा यात्रा खर्च मात्रै घटाएको छैन, शाखामा पुग्न नसक्ने आम नागरिकलाई पनि सहज बैंकिङ पहुँच विस्तार गरिदिएको छ ।  नबिल बैंकले डिजिटल तथा रोबोटिक प्रोसेस अटोमेशनद्वारा काम गर्दै आएको छ । यसले सेवाको गुणस्तर, समय व्यवस्थापन तथा दिगो बैंकिङलाई मजबुत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकको विकास योगदानको मूल आधार नै वित्तीय समावेशीकरण हो । बैंकले सेवाविहीन तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा शाखा तथा सेवा विस्तार गरेर दूरदराजका समुदायलाई पनि औपचारिक रूपमा बैंकिङ प्रणालीमा ल्याएको छ । यसले बचत गर्ने बानीको विकास, सुरक्षित तथा पारदर्शी वित्तीय सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याएको उनको दाबी छ। पूर्वाधार निर्माण र ऊर्जा विकासमा अग्रणी बैंक नबिल बैंकले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेको छ । नेपालमा पूर्वाधार बैंक नहुँदा नै नबिलले परियोजना फाइनान्सिङ र कर्पोरेट/होलसेल बैंकिङको क्षमता विकास गरेर व्यवसायीको मन जितेको थियो । र, अहिले पनि व्यवसायीको कारोबारका लागि नबिल नै रोजाइमा पर्ने गरेको छ।   नबिलले सन् १९९८ मा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गरेको थियो । यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो । जलविद्युत् आयोजनामा वित्तीयकरण गर्ने पहिलो व्यावसायिक बैंक नै नबिल हो ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । जलविद्युत परियोजनाहरू जटिल र जोखिमपूर्ण भए पनि नबिलको सो कदमले ऊर्जा क्षेत्रमै विश्वास जगाएको छ । र, अन्य बैंकहरूलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्न नबिलले नै प्रेरित गर्‍यो । आज बैंकहरूको लगानीको मुख्य क्षेत्र नै जलविद्युत क्षेत्र बनिरहेको छ । हाल ऊर्जा क्षेत्रमा नबिलको योगदान झनै व्यापक छ । जलविद्युत्, सौर्य, नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र अन्य ऊर्जा परियोजनामा नबिलले लगानी बढाउँदै गएको छ ।  नबिल बैंकले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ अर्ब ४६ करोड, ७३ मेगावाटको सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड, ४० मेगावाटको माथिल्लो चमेलियामा २ अर्ब १४ करोड र ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ ।   बढ्दै गएको लगानीले नेपालको ऊर्जा उत्पादन, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक दिगोपनामा योगदान पुगिरहेको सीईओ ज्ञवालीको धारणा छ । उनका अनुसार नबिल सौर्य ग्रिड परियोजनामा पनि प्रवेश गरेको छ । जसले हरित ऊर्जा तथा सुक्खा महिनाको ऊर्जा सन्तुलन गर्न सहयोग गर्नेछ ।  सीईओ ज्ञवालीले बैंकले ऊर्जा क्षेत्रमा कुल ७५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको जानकारी दिए । बैंकले प्रतिबद्धता गरेको विद्युतको क्षमता ३ हजार १६४.२२ मेगावाट हो । बैंकले हालसम्म ५४ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ, जसमध्ये चारवटा सौर्य ऊर्जा परियोजना पनि छन् ।   नबिलकै साथ सहयोगमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजना निर्माण हुन सफल भयो । बैंकले सो जलविद्युतको उपकरणहरू भित्र्याउनका लागि आवश्यक प्रतितपत्र (एलसी)को व्यवस्था गरिदिएको थियो । त्यस समयमा बैंकको पुँजी सानो हुँदा पनि यति ठूलो प्रतिबद्धता कठिन थियो । तर, नबिलले जोखिम साझेदारीसहित नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा नयाँ काम सम्पन्न गरी आफूलाई अब्बल बैंकका रूपमा चिनाएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ नेपाली बैंकमाथि विश्वास बढाएको सीईओ ज्ञवाली बताउँछन्। नेपालभर सडक, पुल, अस्पताल, कार्यालय भवन, जलविद्युत, राजमार्ग निर्माण गर्ने ठेकेदारहरूलाई आवश्यक बैंक ग्यारेन्टी, कर्जा सुविधा तथा अन्य वित्तीय उपकरण प्रदान गर्दै नबिल निर्माण क्षेत्रको विकासको एक महत्वपूर्ण स्टेक होल्डर बन्दै आएको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारले बैंक ग्यारेन्टी सुविधाबिना निर्माण कार्यको बिड गर्न सक्दैनन् । नबिल बैंककै अग्रणी भूमिका र सहयोगले ठूल्ठूला परियोजनाहरू निर्माणमा टेवा पुगेको बैंकले दाबी गरेको छ ।  नबिलले सिमेन्ट, उड्डयन, दूरसञ्चार तथा ठूल्ठूला उद्योगहरूको स्थापना र विस्तारका लागि कर्जा विस्तार गरेर देशको अर्थतन्त्रमा सहयोग गरिरहेको छ । बैंकका अनुसार हालसम्म १० वटा सिमेन्ट उद्योगमा ८.५ अर्ब कर्जा लगानी भइसकेको छ । प्रत्येक दिन २६ हजार ५०० टन उत्पादन क्षमता सिमेन्ट उद्योगमा उक्त लगानी भएको हो । बैंकले कुल क्षमताको ३५ प्रतिशत अर्थात् लगानी गरेको जनाएको छ । जसले कुनै बेला आयात गर्नुपर्ने बाध्यतामा रहेको सिमेन्ट क्षेत्र अहिले निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालबाट अहिले सिमेन्ट निर्यातसमेत हुन थालेको छ ।  कर भुक्तानी र सामाजिक कार्यमा सधैं अगाडि नबिल बैंकले कर भुक्तानीमार्फत राज्यलाई पनि ठूलो योगदान गरेको छ । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नबिल ८ पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा नबिल बैंक पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि आव २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेर सरकारबाट सम्मानित भएको थियो । बैंकले पछिल्लो एक दशकमा मात्रै साढे १९ अर्ब रुपैयाँ कर तिरेको बैंकको वित्तीय विवरणबाट देखिन्छ ।   बैंकले डिजिटल तथा औपचारिक बैंकिङ विस्तारले आर्थिक क्रियाकलाप पारदर्शी बनाउने, सुशासन बलियो बनाउने तथा दीर्घकालीन आर्थिक स्थिरता स्थापित गर्न मद्दत गरेको छ । नबिल बैंक सूचकमात्र अब्बल र अगाडि छैन, जनजीवनमा पनि ठूलो प्रभाव पारेको छ । नबिल सस्टेनेबल बैंकिङका माध्यमबाट सामाजिक क्षेत्र र सुशासनमा आधारित बैंकिङ अभ्यास गर्दै आएको छ । बैंकले प्रत्यक्षरूपमा हजारौंलाई रोजगारीमात्रै प्रदान गरेको छैन, देशमा समस्या परेको बेला ठूलो सहयोग पनि गर्दै आएको छ ।  बैंकले २०७२ को महाभूकम्पको समयमा प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख, दुई वर्षअघि रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प जाँदा ९६ अस्थायी घर निर्माण गरिदिएको थियो भने बाढीपीडित ९० परिवारलाई फ्लड–सपोर्ट किट सहयोग गरेको थियो ।  यस्तै, कोभिडको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी राहत कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको थियो भने सिन्धुपाल्चोकमा भूकम्प जाँदा ३१ घरधुरीलाई राहत सामग्री वितरण गरेको थियो । चार वर्षअघि टीकापुरमा बाढी आउँदा १ हजार बढी घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो ।  शिक्षाबाट पछाडि परेका समुदायका विद्यार्थीहरूको लागि छात्रवृत्ति, सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री र डिजिटल सिकाइका उपकरणका साथै ब्रेल सामग्रीजस्ता समावेशी सिकाइ सहयोग उपलब्ध गराउन नबिल बैंक अग्रपङ्क्तिमा आउँछ । नबिलले १०४ वटा विद्यालयमा नबिल स्वच्छ खानेपानी अभियान सञ्चालन गरेर ९० हजार बढी शिक्षक तथा विद्यार्थीलाई लाभान्वित बनाएको छ । विद्यालयका किशोरीलाई सेनिटरी प्याड वितरण गरेर ५० हजार बढीलाई लाभान्वित बनाएको छ ।  यसैगरी, निःशुल्क कृत्रिम अंग वितरण, जटिल शल्यक्रिया तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूका लागि सहयोग, विपन्न समुदायहरूका लागि स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक चिकित्सा उपकरण उपलब्ध गराउने जस्ता पहलहरू गरेको छ । नबिल बैंकले युवाहरू, महिला समूह, साना तथा मध्यम उद्योग (एसएमई) र समुदायहरूलाई लक्षित गरी नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (नबिल एसएसई) मार्फत बैंकले विभिन्न व्यक्ति तथा स्टार्टअपहरूलाई दिगो सामाजिक उद्यम निर्माण गर्न मद्दत गरिरहेको छ । जसले जीविकोपार्जन र रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ ।  नबिल बैंकको यो अभियानले डिजिटल वित्तीय साक्षरता तथा ठगी सचेतनासहित करिब ४० हजार मानिस लाभान्वित भएका छन् भने ११ हजार बढीले नबिल एसएसईको तालिम लिएका छन् । यही अभियानबाट १९३ वटा सामाजिक उद्यम स्थापना भई १७ हजारले रोजगारी पाएको नबिलको दाबी छ ।  बैंकले अर्थतन्त्रमा योगदानसँगसँगै सामाजिक कार्य अन्तर्गत ‘क्लिन हिमालय’ अभियान अन्तर्गत ४५ टन फोहोर व्यवस्थापन गरेको दाबी गरेको छ ।  स्वस्थ सूचक, अब्बल प्रतिफल  बैंकले समाज र देशको अर्थतन्त्रसँगै बैंकका सेयरधनीलाई पनि राम्रो प्रतिफल वितरण दिइरहेको छ । बैंकका हरेक वित्तीय सूचकहरू अब्बल देखिन्छन् । पछिल्लो वित्तीय विवरणअनुसार नबिलले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सेयर पुँजी २७ अर्ब ५ करोड, जगेडा कोष ३२ अर्ब ४३ करोडसहित बैंकको कुल पुँजी कोष ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।  बैंकले वित्तीय बजार, सरकार, सर्वसाधारण र सेयरधनीलाई पनि प्रत्येक वर्ष खुसी बनाउँदै गएको छ । बैंकले हालसम्म अधिकतम १४० प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ भने विगत तीन दशकदेखि कुनै पनि वर्ष सेयरधनीको हात खाली गरेको छैन ।  नबिल बैंकलाई उच्च बिन्दुमा पुर्‍याउन यसका संस्थापक सेयरधनी र यस बैंकको व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नेहरूको ठूलो योगदान छ । यस बैंकको मुख्य सेयरधनीहरूमा एनबी इन्टरनेशनल (३९.४४ प्रतिशत), आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेश (७.७७ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (७.६३ प्रतिशत), निर्वाणकुमार चौधरी (०.७० प्रतिशत) र वरुण चौधरी (०.६७ प्रतिशत) रहेका छन् ।  बैंकमा स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । फोर्ब्स सूचीमा रहेका अर्बपति विनोद चौधरी यस बैंकको मुख्य लगानीकर्ताको रूपमा परिचित छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न समयमा बैंकर्स ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिल केशरी शाह, सशीन जोशी, अनिल ज्ञवालीसहितले यस बैंकलाई वर्तमान अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नबिल बैंकको पहिलो अध्यक्ष सशीनारायण शाह, त्यसपछिका सत्यान्द्रप्यारा श्रेष्ठदेखि अहिलेका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकलाई यो स्थानसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका छन् ।  नबिल बैंकले आधुनिक बैंकिङ, डिजिटल भुक्तानी, जलविद्युतमा वित्तीयकरण लगायतमा अग्रणी भूमिका खेलेको छ । बैंकले ऊर्जा परियोजना तथा ठूला पूर्वाधारहरूमा नेतृत्व गरेर राष्ट्र निर्माणको एक महत्त्वपूर्ण स्टेक होल्डरका रूपमा आफूलाई चिनाएको छ । बैंकले उद्योग, सिमेन्ट, सेवा क्षेत्रमा सहभागितामार्फत घरेलु उत्पादन तथा रोजगार प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत, वित्तीय साक्षरता, सामाजिक उद्यमशीलतामा व्यापक योगदान गरेकै कारण आज विकास नायकका रूपमा आफूलाई उभ्याएको छ । मनोज ज्ञवालीकै शब्दहरू : नबिल देशको पहिलो ज्वोइन्ट भेञ्चर बैंक हुँदै सुरुवाती दिनहरूमा बैंकिङ सेवा सर्वसाधारणसम्म पुर्‍याउन सफल भयो । बैंकको सबै लेखाजोखा कागजात तथा पासबुक र ढड्डामा हुने बैंकिङ अभ्यासलाई रूपान्तरण गर्दै नबिलले सबै हिसाब–किताबलाई कम्प्युटराइज गर्ने कामको थालनी गर्‍यो । बैंकको डेभिट तथा क्रेडिट कार्डको इनोभेसनमा पनि नबिल पहिलो बैंक हो । त्यतिबेलादेखि अहिलेसम्म नबिल विभिन्न प्रडक्टहरूमा पनि पायोनियर बैंकको रूपमा काम गर्दै आएको छ । अहिले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने काम पनि बैंकिङ क्षेत्रमै पहिलो हो ।  विविध प्रडक्ट, सेवा र इनोभेसनमा नबिल पायोनियर नै हो । १/२ लाख रुपैयाँ कर्जा लिएका उद्यमी, व्यवसायीहरू अहिले अर्बौंको नेटवर्थमा काम गरिरहेका छन् । नबिलले ऊर्जा तथा ठूला पूर्वाधारमा ठूलो रकम लगानी गरेर त्यो क्षेत्रका विकासमा ठूलो योगदान दिएको छ । परियोजना फाइनान्सिङ तथा ग्यारेन्टीमा हामीले उच्च जोखिम लिएर पनि देश निर्माणमा साथ दिइरहेका छौं । हामी देश बनाउने काममा सक्रिय छौं । सेवाग्राहीको मागअनुसारको प्रडक्ट ल्याउने र त्यो सँगै देशलाई योगदान दिनुपर्ने ठाउँमा पनि नबिल अगाडि छ । नबिल संस्थागत सुशासनमा अडिग छ । जहिले पनि हामी सस्टेनेवल बैंकिङको नारा लिएर काम गरिरहेका छौं ।  हामी निरन्तर बढी कर तिर्ने बैंकका रूपमा सम्मानित हुँदै आएको छौं । बैंकमा काम गर्न चाहनेहरूका लागि पनि नबिल पहिलो रोजाइमा छ । सेयरधनीको प्रतिफलमा पनि नबिल अगाडि छ । विगतमा हामी सबैभन्दा बढी लाभांश दिने बैंकका रूपमा परिचित थियौं । अहिले पनि १२.५ प्रतिशत लाभांश घोषणा गरेका छौं । मर्जरको कारणले लाभांश अहिले केही घटेको हो । बैंक कम्प्लायन्स, संस्थागत सुशासन, कर्मचारीको हकहितका लागि पहिलो रोजाइ बन्दै आएको छ । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा बसिराख्न चु्नौती हुन्छ । हामी ठूलोभन्दा पनि बेस्ट बैंक भन्ने दौडमा छौं ।  नबिल बैंक भन्नेवित्तिकै जुन कन्फिडेन्स अहिले बजारमा छ, त्यसलाई थप मजबुत र विस्तार गर्न लागिरहेका छौं । नबिल बैंक अहिले ठूला सहरमा मात्रै होइन, दूरदराजमा पनि सेवा दिइरहेको छ । दूरदराजका शाखामा नाफा नभए पनि सेवाको हिसाबले देशभर २६८ शाखामार्फत काम गरिरहेका छौं । उद्यमीको विकास हुनुपर्छ भनेर नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (एसएसई) सुरु गरेका छौं । त्यसले उद्यमीसँगै रोजगारी सिर्जना गर्ने काम गरेको छ । सातै प्रदेशमा उद्यमको विकासमा काम गरिरहेका छौं ।  बैंकिङ क्षेत्रले छरिएर रहेको पैसालाई एकीकृत गरेर कर्जा प्रवाह गर्ने हो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले वित्तीय विवरणमात्रै हेर्‍यो । हामीले संकलन गरेको निक्षेपले कति व्यवसाय विस्तारमा काम गर्‍यो ? देशको जीडीपीमा कति काम गर्‍यो । रोजगारी कति सिर्जना गर्‍यो । अर्थतन्त्रमा के कस्तो प्रभाव गर्‍यो ? भन्ने विषय बुझ्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि बैंकसँगै त्यो क्षेत्र र देशलाई हेर्ने हो ।  अबको बैंकिङ डिजिटल बैंकबाट अगाडि बढ्छ । अब कर्जा प्रवाह पनि डिजिटलबाट हुनुपर्छ । त्यसको लागि पूर्वाधार निर्माण गरेर त्यसमा पनि लाग्नुपर्छ । नबिल डिजिटल बैंकिङमा थप अगाडि हुन चाहन्छ । घरबाटै बैंकिङ सेवासँगै सुरक्षित बैंकिङ गर्नका लागि हामीले तयारी गरिरहेका छौं । हामीले गरेको लगानीले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामीले गरेको कामलाई मूल्यांकन गर्दै विकासन्युज जस्तो प्रोफेसनल मिडियाले विकास नायक अवार्डबाट नबिल बैंकलाई सम्मान गर्न लागेको विषय धेरै महत्त्वपूर्ण हो । यसबाट हामी धेरै खुसी छौं । यसले हामी र समग्र बैंकिङ क्षेत्रलाई आगामी दिनमा थप परिष्कृत भएर काम गर्न उत्प्रेरित गर्छ ।

रेमिट्यान्स होइन, अब आईटी र अकाउन्टिङ आउटसोर्सिङले धान्नेछ देश

काठमाडौं । ‘नेपाललाई रेमिट्यान्सले धानेको देश भन्ने भाष्य छ । अब रेमिट्यान्सले धानेको देश होइन, आईटी, अकाउन्टिङ आउटसोर्सिङ गरेर धानेको देश बनाउँछौं । रेमिट्यान्समा निर्भर देशको पहिचानबाट क्रमशः बाहिर निस्केर आईटी तथा अकाउन्टिङआउट सोर्सिङमार्फत विदेशी मुद्रा आर्जन गरी देशको छवि निर्माण गर्छाैं,’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष नीलबहादुर सारु मगरले भने । अध्यक्ष मगरको दाबी अनुसार नेपालमा आईटी तथा अकाउन्टिङ फर्महरूले हाल ३० मिलियन डलरभन्दा बढी विदेशी मुद्रा अकाउन्टिङ आउट सोर्सिङबाट आर्जन गरिरहेका छन् । नेपालको आईटी उद्योग १० वर्षअघि बामे सर्दै थियो भने अहिले आईटी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा ३/४ प्रतिशत योगदान गरिरहेको छ । उनले भने, ‘यही सन्दर्भमा आइक्यानको नेतृत्वमा अकाउन्टिङ आउट सोर्सिङलाई संरचित रूपमा अघि बढाउन ग्लोबल अकाउन्टिङ इनिसियटिभ (गेन) प्रोजेक्ट ल्याइएको हो, जसले आइक्यानलाई देशको कोर अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा स्थापित गर्न सक्ने विश्वास छ ।’ गेन प्रोजेक्टमार्फत आगामी १० वर्षमा अकाउन्टिङ, फाइनान्स र आईटी आउट सोर्सिङबाट ६-७ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सकिने आइक्यान अध्यक्ष मगरले दाबी गरे । उनका अनुसार अकाउन्टिङ, फाइनान्स तथा आईटी आउट सोर्सिङका लागि कुनै व्यक्तिले गुगल सर्च गर्दा नेपालमा हुन्छ भनेर बनाउनु पर्नेछ । हाल करिब १ हजार भन्दा बढी व्यक्ति कोर लेखा तथा लेखा परीक्षण आउट सोर्सिङ क्षेत्रमा संलग्न छन् । यसलाई आगामी तीन वर्षमा १० हजार, पाँच वर्षमा ५० हजार र एक दशकमा १ लाख ५० हजार पुर्‍याउने उनले बताए ।  ‘नेपालमा पनि उच्च रूपमा अकाउन्टिङ ​​​​​​​आउटसोर्सिङ भइरहेको छ, दक्षिण एसियामा अकाउन्टिङ आउट सोर्सिङको हब नेपाललाई बनाउछौं,’ उनले भने, ‘१० हजार चार्टर्ड एकाउन्टेन्ट (सीए) तथा अकाउन्टिङ फर्म र १४ हजार अकाउन्टिङ विद्यार्थीले नेपालमै बसेर विदेशी सेवाको काम गर्ने र विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्दैछौं ।’ आइक्यानका डेपुटी डाइरेक्टर सीए सन्तोष विष्टका अनुसार सन् १९९० को दशकबाट विजनेश प्रोसेस आउटसोर्सिङ (बीपीओ) सुरु भएको हो । विकसित मुलुक अमेरिका, युरोप र अस्ट्रेलियाबाट ग्राहक सेवा, कल सेन्टर, तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री प्रोसेसिङ), तलब तथा मानव संसाधन व्यवस्थापन (पेरोल एण्ड एचआर म्यानेजमेन्ट), सूचना प्रविधि सहयोग सेवा सस्तो ज्याला भएका एसिया तथा अफ्रिकी देशमा रूपान्तरण गर्न बीपीओ सेवा हस्तारण गरिन्थ्यो । समयक्रममा अहिले बीओपीबाट नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) विकास भएको सीए विष्टले बताए । उनका अनुसार केपीओमा नियमित कार्य मात्रै नभई उच्चस्तरीय बौद्धिक क्षमता आवश्यक पर्ने सूचना प्रविधि, लेखा, लेखापरीक्षण, कर प्रणाली, बजार अनुसन्धान, इन्जिनियरिङजस्ता सेवा समावेश हुन्छन्, केपीओको एक महत्त्वपूर्ण अंश हो अकाउन्टिङ आउटसोर्सिङ । कुन देशको कति ?  सन् २०२५ को तथ्याङ्क अनुसार विश्वभर बिजनेश प्रोसेस आउट सोर्सिङ (बीपीओ) को बजार ३२ अर्ब (३०२ बिलियन) अमेरिकी डलरको रहेको छ भने आगामी पाँच वर्षमा ५२५ बिलियन अमेरिकी डलर पुग्ने विभिन्न अध्ययनहरूले देखाएको विष्टले जानकारी दिए । त्यसैगरी, नलेज प्राेसेस आउट सोर्सिङ (केपीओ)को बजार ८७ अर्ब (बिलियन) अमेरिकी डलरको रहेको छ भने आगामी पाँच वर्षमा २११ अर्ब (बिलियन) अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको उनको भनाइ छ । भारत, फिलिपिन्स, भियतनाम, बंगलादेशजस्ता देशहरूले यस क्षेत्रबाट आफ्नो जीडीपीमा उल्लेखनीय योगदान पुर्‍याइरहेका उनले बताए ।  आइक्यान अध्यक्ष मगरका अनुसार बेलायत र अमेरिका लगायत विकसित मुलुकमा अकाउन्टेन्सी शिक्षामा संलग्नता ३० प्रतिशतभन्दा बढी रहेको छ । तर, ती देशमा अकाउन्टिङ फर्ममा सेवानिवृत्ति उल्लेख्य रूपमा बढ्दै गएको छ, त्यो स्थानमा नयाँ पार्टनर वा दक्ष जनशक्ति आपूर्ति गर्न पर्याप्त मानव स्रोत उपलब्ध भइरहेको छैन । विकसित देशहरूमा अकाउन्टेन्सी तथा अडिटिङ क्षेत्रभन्दा आईटी लगायत अन्य क्षेत्रमा युवाहरूको चासो बढ्दै गएको उनको भनाइ छ । ‘विश्वमा अकाउन्टेन्सी शिक्षामा विद्यार्थीको आकर्षण घट्दै जाँदा मानव स्रोतको अभाव देखिन थालेको छ । यद्यपि, व्यावसायिक कारोबारको पारदर्शिता, सुनिश्चितता र लेखा परीक्षणका लागि प्रोफेसनल चार्टर्ड अकाउन्टेन्टको आवश्यकता झन् बढ्दै गएको छ । यो असन्तुलन अब अन्य क्षेत्र वा देशहरूबाट पूर्ति हुनुपर्ने अवस्था आएको छ, जसको अनुभूति एसिया तथा दक्षिण एसियाली मुलुकहरूले गर्न थालेका छन्,’ अध्यक्ष मगरले भने ।  उनका अनुसार फिलिपिन्सले करिब ३० अर्ब अमेरिकी डलर बराबर आम्दानी आईटी तथा अकाउन्टिङ आउटसोर्सिङ गरेको छ, यो फिलिपिन्सको जीडीपीमा करिब ७ प्रतिशत योगदान गरेको छ । फिलिपिन्सको आउटसोर्सिङ मोडलमा बीपीओ, विशेषगरी भ्वाइस-ओभर सेवाको योगदान बढी देखिन्छ ।  भारतमा बीपीओ/केपीओ क्षेत्रले जीडीपीको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ । भारतको आउटसोर्सिङ उद्योगको आकार करिब २५ अर्ब डलर रहेको छ, जहाँ उच्च मूल्यका अकाउन्टिङ, अडिटिङ तथा आईटी-इनेबल्ड सेवाहरूको योगदान प्रमुख रहेको अध्यक्ष मगरको भनाइ छ । फिलिपिन्समा करिब १६ लाख र भारतमा करिब ५० लाख जनसंख्यालाई यस क्षेत्रले रोजगारी प्रदान गरिरहेको उनले बताए । पछिल्लो समय बंगलादेश पनि अकाउन्टिङ तथा अडिटिङ आउटसोर्सिङमा उल्लेखनीय रूपमा अगाडि बढिरहेको उनको भनाइ छ । त्यहाँ करिब १.३ अर्ब डलरभन्दा बढी मूल्यको अकाउन्टिङ, अडिटिङ तथा आईटी-इनेबल्ड सेवाको निर्यात भइरहेको छ, जसले एक लाखभन्दा बढीलाई रोजगारी दिएको छ । त्यस्तै, भियतनाममा म्यानुफ्याक्चरिङ बुमसँगै करिब ४ अर्ब डलर बराबरको अकाउन्टिङ, अडिटिङ र आईटी सेवा आउटसोर्सिङ हुँदै आएको छ, जसबाट ७० हजारदेखि १ लाखसम्म रोजगारी सिर्जना भएको छ । यस्तो छ आइक्यानको योजना  आइक्यानले गेन प्रोजेक्टलाई दुईवटा पार्टमा अगाडि बढाउनेछ । एक, आफ्नो हिस्साको रूपमा नेतृत्वदायी भूमिका खेल्नेछ भने अर्को सहजीकरण र नीतिगत सुधारका लागि सरकारसँग निरन्तर समन्वय र लबिङ गर्ने ।  आइक्यान अध्यक्ष मगरका अनुसार अकाउन्टिङ, फाइनान्स तथा आईटी आउट सोर्सिङमा संलग्न व्यक्तिहरूसँग गरिएको छलफलबाट सबैभन्दा महत्वपूर्ण विषय कन्ट्री ब्रान्डिङ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि अझै बलियो नभएकाले, अकाउन्टिङ आउट सोर्सिङ खोज्दा नेपाल पनि सम्भावित गन्तव्य हो भन्ने सन्देश स्थापित गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।  ‘अकाउन्टिङ, आउटसोर्सिङका बारेमा कुनै व्यक्तिले गुगल सर्च गर्दा नेपालमा हुन्छ भनेर बनाउनुपर्नेछ । यसका लागि कन्टेन्ट भिडियोहरू तयार पारिँदै छन् भने अर्को महत्त्वपूर्ण पक्ष सीप विकास रहेको छ । विगतमा एक विदेशी कम्पनीले १ हजार जनशक्ति खोज्दा पनि नेपालमा तत्काल उपलब्ध गराउन नसकिएको अनुभवका आधारमा सीप विकासलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने । उनका अनुसार आइक्यानले क्विकबुक्स, अटोमेटेड अडिटिङ सफ्टवेयर लगायतका तालिम समेट्ने स्किल डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । साथै, विश्वविद्यालयबाट ग्राजुएट भएका युवालाई समेत समेटी सरकार तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी मेगा स्किल डेभलपमेन्ट प्रोजेक्ट ल्याउने योजना रहेको उनको भनाइ छ । ‘यसका साथै, कानुनी स्पष्टता पनि अपरिहार्य देखिएको छ । अकाउन्टिङ ​​​​​​​आउटसोर्सिङ गर्दा विदेशी मुलुकमा शाखा खोल्नुपर्ने अवस्था आउने भए पनि हाल अकाउन्टिङ ​​​​​​​फर्मलाई यस्तो व्यवस्था लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । आईटी कम्पनीलाई विदेशमा शाखा खोल्न दिइएको जस्तै व्यवस्था अकाउन्टिङ ​​​​​​​आउटसोर्सिङ कम्पनीलाई पनि लागू हुने गरी स्पष्ट कानुनी प्रबन्ध आवश्यक रहेको छ,’ उनले भने, ‘कर छुट जस्ता प्रोत्साहन नीति ल्याउनुपर्छ, जुन सरकारको पहलमा सम्भव हुने विश्वास छ ।’ उनका अनुसार गेन प्रोजेक्टको लक्ष्य नेपाललाई लेखा, लेखापरीक्षण तथा वित्तीय सेवा आउटसोर्सिङका लागि एक प्रतिस्पर्धी केन्द्रको रूपमा स्थापित गर्नु हो । यसका लागि नियामक तथा संस्थागत संरचना निर्माण गर्ने, आवश्यक पूर्वाधार विकास गर्ने, पेशागत क्षमता अभिवृद्धि गर्ने, नेपाली फर्महरूलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने तथा रणनीतिक साझेदारी विकास गर्ने लक्ष्य लिइएको उनले बताए ।  नेपालमा करिब ३५ हजारभन्दा बढी लेखा पेशागत जनशक्ति, ठूलो संख्यामा व्यवस्थापन विषयका स्नातकहरू, राम्रो अंग्रेजी भाषागत दक्षता (वैश्विक अंग्रेजी दक्षता सूचकांकमा नेपाल ५६औं स्थानमा) र तुलनात्मक रूपमा कम श्रम लागत हाम्रो प्रमुख शक्ति हुन् । समय क्षेत्रको फाइदा पनि नेपालसँग उपलब्ध छ । आइक्यानका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले स्वदेशमै बसेर विदेशको काम गर्न सक्ने वातावरण बनाउन यो प्रोजेक्ट ल्याइएको बताउँछन् । दैनिक २२ सय भन्दा बढी नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेन ड्रेन हुँदै बाहिर जाँदा यसले दीर्घकालीन रूपमा क्यापिटल फर्मेसनमा असर पार्ने उनको भनाइ छ । ‘लेखा र लेखा व्यवसायको क्षेत्र प्रवर्द्धन, संरक्षण र विकास गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । ब्रेन ड्रेनलाई कसरी रोक्न सकिन्छ भन्ने लक्ष्यसहित अघि बढेका छौं,’ उनले भने, ‘दैनिक रूपमा २२ सयका दरले देश छोड्दै गर्दा देश रोइरहेको छ । यही अवस्थामा गेन प्रोजेक्टले सम्पूर्ण सप्लाई सिस्टम, विशेषगरी अकाउन्टिङ सिस्टमलाई देशमै राख्ने कोसिस गर्छाैं ।’ वैदेशिक कामहरूलाई नेपालमै बसेर सेवा प्रवाह गर्न सकिने इकोसिस्टम बनाउन गेन प्रोजेक्ट ल्याइएको उनको भनाइ छ । ‘यो कुनै काल्पनिक वा गगनचुम्बी कुरा होइन । बंगलादेशलगायत हाम्रा पियर कन्ट्रीहरूले यो मोडेल सफलतापूर्वक लागू गरिसकेका छन् । त्यसैले यो सम्भव छ र हामी गरेर देखाउँछौं । नेपाली सीएहरू अन्तर्राष्ट्रिय स्तरको छ भन्ने कुरा हामीले बाहिर बताइरहनु पर्दैन । यहाँ लिस्टेड फर्महरू पहिले नै क्वालिटी एसर्ड छन् ।’