उत्पादन क्षेत्रका १४ कम्पनीको नाफा २ अर्ब रुपैयाँ, शिवमको छलाङ, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म १४ कम्पनीले कुल १ अर्ब ८४ करोड १५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४.२३ प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४८ हजार रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तसम्म यी कम्पनीहरूले १ अर्ब ७६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा केही कम्पनीहरूको नाफामा उल्लेखनीय वृद्धि भएको छ । शिवम् सिमेन्टको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेकले २०९.१० प्रतिशत वृद्धि गर्दै १ करोड ५६ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी, सर्वोत्तम सिमेन्टको नाफा १२३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ भने हिमालयन डिष्टिलरीले १०.७३ प्रतिशत वृद्धि गर्दै ४४ करोड ८३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । साथै केही कम्पनीहरूको नाफा भने घटेको देखिएको छ । एसवाई प्यानल नेपालको नाफा ७१.१४ प्रतिशतले घटेर ७८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा २७.२३ प्रतिशतले घटेर १३ करोड ७४ लाख ३५ हजार रुपैयाँमा झरेको छ भने युनिलिभर नेपाल लिमिटेडको नाफा ९.८१ प्रतिशतले घटेर ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको नाफा ३.९४ प्रतिशतले घटेर २ करोड १० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष पुस मसान्तसम्म नोक्सानीमा रहेका सोनापुर मिनिरल्स, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) यस वर्ष भने नाफामा फर्किएका छन् । यी कम्पनीहरूले क्रमशः ४ करोड ७५ लाख ३ हजार रुपैयाँ, ३ करोड १२ लाख ६८ हजार रुपैयाँ र १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर चालु आवको पुस मसान्तसम्म ओम मेगाश्री, सागर डिस्टिलरी र घोराही सिमेन्ट भने नोक्सानीमा रहेका छन् । ती कम्पनीहरूले क्रमशः ३ करोड ८४ लाख ३६ हजार रुपैयाँ, २ करोड ६१ लाख ५८ हजार रुपैयाँ र २६ करोड ४९ लाख २ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् । शिवम् सिमेन्टको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६८ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख ९६ हजार रुपैयाँ थियो । चालु आवको ६ महिनामा कम्पनीले १० करोड ८२ लाख ३० हजार रुपैयाँ अन्य आम्दानी गर्दै कुल ६५ करोड ४४ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा अन्य आम्दानी १२ करोड २६ लाख २७ हजार रुपैयाँ र कुल नाफा ४० करोड १ लाख ८६ हजार रुपैयाँ रहेको थियो । खर्चतर्फ समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ३७ लाख ९९ हजार रुपैयाँ बिक्री लागत, १२ करोड ११ लाख ४ हजार रुपैयाँ प्रशासनिक खर्च र २२ करोड ७८ लाख ५८ हजार रुपैयाँ बिक्री तथा वितरण खर्च बेहोरेको छ । यस अवधिमा कुल खर्च ३५ करोड ६६ लाख १४ हजार रुपैयाँ पुगेको छ । करअघिको नाफा भने ४० करोड ६१ लाख २ हजार रुपैयाँ रहेको छ । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९८ लाख ७६ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २०९.१० प्रतिशत बढेर १ करोड ५६ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६०.२७ प्रतिशत बढेर ८७ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख ९० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ८.८२ प्रतिशत घटेर ३७ लाख ८३ हजार रुपैयाँ, सञ्चालन नाफा ३४.५९ प्रतिशत बढेर ४ करोड ८७ लाख ३८ हजार रुपैयाँ र कुल नाफा २०.२२ प्रतिशत बढेर ११ करोड ४७ लाख २ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ६८.७१ प्रतिशत बढेर ७६ करोड ३९ लाख १९ हजार रुपैयाँ, प्रशासनिक खर्च ९.१६ प्रतिशत बढेर २ करोड ९८ लाख ७१ हजार रुपैयाँ र कर्मचारी खर्च १.८२ प्रतिशत बढेर २ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ । १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १७ करोड ३४ लाख १२ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ रहेको छ । सर्वाेत्तम सिमेन्टको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १२३ प्रतिशत बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.५१ प्रतिशत बढेर ४ अर्ब ८ करोड २५ लाख ५३ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ९८ करोड २२ लाख ५४ हजार रुपैयाँ थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ६६.६३ प्रतिशत बढेर ११ करोड ९७ लाख ८८ हजार रुपैयाँ र कुल नाफा ५८.२६ प्रतिशत बढेर १ अर्ब ४ करोड ४० लाख १३ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १८.६० प्रतिशत घटेर १२ करोड ७२ लाख १५ हजार रुपैयाँ, प्रशासनिक खर्च १८१.८९ प्रतिशत बढेर १३ करोड ३२ लाख ४३ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च २१.२५ प्रतिशत बढेर २५ करोड ९६ लाख ९ हजार र कुल खर्च २४.५२ प्रतिशत बढेर ५२ करोड ६७ लाख रुपैयाँ रहेको छ । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ३० करोड ८६ लाख ८५ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.६१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.९२ रुपैयाँ रहेको छ । हिमालयन डिष्टिलरीको चालु आवको दोस्रो त्रैमासमा १०.७३ प्रतिशत बढेर ४४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको ६ महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी ६.६२ प्रतिशत बढेर ३ अर्ब २३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।  ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २४.३१ रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८४ गुणा रहेको छ । नेपाल ल्यूब आयलको चालु आवको दोस्रो त्रैमासमा ३.९४ प्रतिशत घटेर २ करोड १० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको ६ महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी २० प्रतिशत बढेर ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ९६ लाख ७१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।  ८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ७ करोड ६० लाख रुपैयाँ र सञ्चित नाफा २८ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.१० रुपैयाँ रहेको छ । युनिलिभ नेपालको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ९.८१ प्रतिशत घटेर ४३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.४४ प्रतिशत घटेर १ अर्ब ७८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ४.०६ प्रतिशत बढेर ३ करोड ५८ लाख रुपैयाँ र कुल आम्दानी ८.२३ प्रतिशत घटेर १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा सामग्रीको लागत ४.०१ प्रतिशत घटेर ८२ करोड १४ लाख रुपैयाँ, कर्मचारी खर्च १०.०९ प्रतिशत घटेर १४ करोड ३४ लाख रुपैयाँ र अन्य लागत २२.२२ प्रतिशत घटेर २३ करोड ४४ लाख रुपैयाँ रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ८३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४ हजार २१६ रुपैयाँ रहेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २७.२४ प्रतिशत घटेर १३ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१० प्रतिशत घटेर ४ अर्ब ७९ करोड २ लाख ९१ हजार रुपैयाँ र कुल नाफा ८.८२ प्रतिशत घटेर ५९ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ ।  यस्तै, कम्पनीको सञ्चालन नाफा २७.६१ प्रतिशत घटेर ३२ करोड ९८ लाख ४८ हजार रुपैयाँ र वित्तीय लागत ३२.४२ प्रतिशत घटेर १६ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको छ । १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ७ अर्ब ४२ करोड २ लाख रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.६६ रुपैयाँ घटेर १४.४७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ४९०.५४ रुपैयाँ रहेको छ ।  एसवाई प्यानल नेपालको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ७१.१४ प्रतिशत घटेर ७८ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.९३ प्रतिशत घटेर ३१ करोड १७ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ८६ लाख ५६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ७५९.४९ प्रतिशत बढेर ६ लाख ७९ हजार रुपैयाँ, सञ्चालन नाफा ८४.६३ प्रतिशत घटेर ६२ लाख ३८ हजार रुपैयाँ र कुल नाफा ८.१० प्रतिशत घटेर ११ करोड २ लाख ३६ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ७.८३ प्रतिशत घटेर २० करोड १५ लाख ५० हजार रुपैयाँ, प्रशासनिक खर्च ७०.६५ प्रतिशत बढेर ४ करोड ५८ लाख ५९ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च ६.८४ प्रतिशत बढेर २ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । १ अर्ब ३० करोड ८१ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १२ करोड ६१ लाख ३४ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.६५ रुपैयाँ रहेको छ । सोनापुर मिनिरल्सले चालु आवको दोस्रो त्रैमासमा ४ करोड ७५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २० लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८४.५७ प्रतिशत बढेर १ अर्ब ६९ करोड३ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ५८ लाख ५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी ५०६ प्रतिशत बढेर १८ लाख २७ हजार रुपैयाँ, सञ्चालन नाफा १ हजार १६४ प्रतिशत बढेर ३१ करोड ७३ लाख रुपैयाँ र कुल नाफा ४४४ प्रतिशत बढेर ४७ करोड १४ लाख रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ४६.९८ प्रतिशत बढेर १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ र बिक्री तथा वितरण खर्च ९.५२ प्रतिशत बढेर ९३ लाख ९१ हजार रुपैयाँ रहेको छ । ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब १५ करोड ७७ लाख ८१ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९१.४२ रुपैयाँ रहेको छ । ​​​​​ बोटलर्स नेपाल (बालाजु)को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा २४ करोड ५० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो ।  ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड २३ लाख ३ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ३६ करोड ४३ लाख ५२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ८.८८ प्रतिशत अर्थात् ३८ करोड ७९ लाख ५१ हजार रुपैयाँ बढी आम्दानी गरेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब २२ करोड ६० लाख १९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ७६ लाख ७० हजार रुपैयाँ, सञ्चालन नाफा १३ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९३ करोड ६८ लाख २५ हजार रुपैयाँ कुल नाफा, १ करोड ६४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा १२ करोड ६६ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो ।  चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ७७ करोड १० लाख ३२ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ३७ करोड ८७ लाख ८० हजार रुपैयाँ र वित्त लागत ७ करोड ९६ लाख ६० हजार रुपैयाँ रहेको छ ।  १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ७० करोड २६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९७ गुणा रहेको छ । बोटलर्स नेपाल (तराई)को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा ११ करोड ८९ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३६ करोड ८६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले २ अर्ब ९६ करोड ८६ लाख ९५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी १३.४७ प्रतिशत अर्थात् ३९ करोड ९९ लाख ४६ हजार रुपैयाँ बढी गरेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९५ करोड ३४ लाख ७७ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ६९ लाख ३७ हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ८६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६२ करोड ३५ लाख ३० हजार रुपैयाँ कुल नाफा, ३ करोड ५६ लाख ८७ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा २४ लाख ४५ हजार रुपैयाँ ऋणात्मक थियो ।  चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ४ लाख १९ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २० करोड १३ लाख २७ हजार रुपैयाँ र वित्त लागत ६ करोड ९८ लाख १३ हजार रुपैयाँ रहेको छ ।  १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ५३ करोड ५० लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२ गुणा रहेको छ ।  ओम मेगाश्री फर्मास्यूटिकल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड ८४ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३० लाख ७७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०३.४१ प्रतिशत बढेर १० करोड ४८ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १५ लाख ३७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी २८६ प्रतिशत बढेर २ लाख ९० हजार रुपैयाँ र कुल आम्दानी १०३.६७ प्रतिशत बढेर १० करोड ५१ लाख २२ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ४३.९८ प्रतिशत बढेर ३ करोड ६५ लाख ४८ हजार रुपैयाँ र कुल खर्च ९२ प्रतिशत बढेर १४ करोड ३५ लाख५९ हजार रुपैयाँ गरेको छ ।  ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ७ करोड ४८ लाख ३९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको अन्य जगेडा कोष ६ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ६.४१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५४.९२ गुणा रहेको छ । सागर डिष्टिलरीले चालु आवको दोस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा कम्पनीको कुल सञ्चालन आम्दानी ११५.४१ प्रतिशत बढेर १२ करोड ९१ लाख ८४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९९ लाख ७० हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल नाफा १००.५४ प्रतिशत बढेर ३ करोड ४७ लाख ७० हजार रुपैयाँ र अन्य आम्दानी ५३.३४ प्रतिशत बढेर ४२ लाख ६० हजार रुपैयाँ रहेको छ ।  यस अवधिमा कम्पनीको प्रशासन खर्च १२९.६७ प्रतिशत बढेर ६१ लाख ४६ हजार रुपैयाँ, कर्मचारी खर्च ९४.४२ प्रतिशत बढेर २ करोड ९१ लाख ६० हजार रुपैयाँ र विक्री तथा वितरण खर्च ३८.१३ प्रतिशत बढेर २ करोड १ लाख ७ हजार रुपैयाँ रहेको छ । ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ रहेको छ ।  घोराही सिमेन्टको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २६ करोड ४९ लाख २ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ७१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २०.१८ प्रतिशत बढेर २ अर्ब ८ करोड १५ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड १९ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको अन्य आम्दानी २ हजार ४३८ प्रतिशत बढेर १ करोड ६९ लाख रुपैयाँ, सञ्चालन नाफा ३९ लाख ७ हजार रुपैयाँ र कुल नाफा २४५.२२ प्रतिशत बढेर ४० करोड ४५ लाख ९६ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ३.८१ प्रतिशत बढेर १ अर्ब ६७ करोड ६० लाख ५१ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च २७.४२ प्रतिशत घटेर ८ करोड ६३ लाख ८६ हजार रुपैयाँ रहेको छ । ५ अर्ब २ करोड ४४ लाख ५४ हजार चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६८ करोड ७० लाख ५५ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.२७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ । 

नागरिकलाई अनिवार्य, नेतालाई छुट

काठमाडौं । कुनै पनि कम्पनी वा संस्था दर्ता तथा अद्यावधिक गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा नयाँ बैंक खाता खोल्न आफ्नै नाममा रहेको सिमकार्ड र राष्ट्रिय परिचय पत्र अनिवार्य छ । वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नयाँ राहदानी बनाउन वा नवीकरण गर्न पनि राष्ट्रिय परिचय पत्र आवश्यक बनाइएको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेदेखि सामाजिक सुरक्षा, स्वास्थ्य बीमा तथा निवृत्तिभरणसम्बन्धी सेवामा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य छ । यसैगरी, व्यक्तिगत आयकर दर्तालगायत राजस्वसम्बन्धी सेवा, सवारी चालक अनुमतिपत्र, टेलिफोन तथा सिमकार्ड सेवा, सामाजिक सुरक्षा कोष, घरजग्गा किनबेच तथा नामसारी प्रक्रिया, दोस्रो बजारमा सेयर कारोबारका लागि ब्रोकर खाता खोल्दा समेत राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बर अनिवार्य छ । अनुदान, राहत, बीमा लगायतका सरकारी सेवा–सुविधा लिन तथा सरकारी सेवामा नियुक्ति प्रक्रियामा पनि यही व्यवस्था लागू गरिएको छ । त्यसैगरी मतदाता विवरण अद्यावधिक, मतदाता नामावली दर्ता तथा सच्याउने कार्य, शैक्षिक प्रयोजन, छात्रवृत्ति, केही परीक्षा दर्ता, स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन पनि राष्ट्रिय परिचय पत्र आवश्यक छ । तर, यति धेरै सरकारी, वित्तीय र सार्वजनिक सेवामा सर्वसाधारणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गराइरहँदा देशको शासनसत्ता चलाउँछु भन्दै चुनावी मैदानमा उत्रिएका उम्मेदवारका लागि भने राष्ट्रिय परिचय पत्र अनिवार्य छैन । अहिले पनि नागरिकताकै आधारमा उम्मेदवारी दर्ता हुने, निर्वाचन लड्न पाइने र सत्तामा पुगिने व्यवस्था कायम छ । निर्वाचनमा खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंक खाता अनिवार्य गरिएको छ । तर हालसम्म ८१ प्रतिशत उम्मेदवारले बैंक खाता खोल्न नसकेको बैंकर्स तथा निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । गत सोमबार निर्वाचन आयोगमा आयोजित बैंकरहरुसँगको छलफलमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको बताए ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक खाता खोलेका छन् । प्रत्यक्षतर्फका ३ हजार ४ सय ८४ जना मध्ये ८१ प्रतिशतले अलग्गै बैंक खाता सञ्चालन गर्न बाँकी रहेको उनको भनाइ छ ।  आयोगका प्रवक्ता भट्टराईले राष्ट्रिय परिचय पत्र नभएका कारण बैंक खाता खोल्न समस्या भएको विषय सबै उम्मेदवारमा लागू नहुने उनले स्पष्ट पारे । ‘केही उम्मेदवारसँग मात्र राष्ट्रिय परिचय पत्र नहुँदा समस्या आएको कुरा बैंकरहरूले उठाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रिय परिचय पत्र बनाउन धेरै समय लाग्दैन । यो ठूलो समस्या होइन । सम्बन्धित कार्यालयमा गएर आधा घण्टाभित्र राष्ट्रिय परिचय पत्रको नम्बर लिन सकिन्छ । तत्काल कार्ड नै आवश्यक हुँदैन, नम्बर पाएपछि बैंक खाता खोल्न सकिन्छ ।’  यद्यपि, निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेको उनले बताए । प्रवक्ता भट्टराईले भने, ‘उम्मेदवारी दर्ता नागरिकताका आधारमा गरिएको हो । निर्वाचन कानुनमा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र हुनुपर्छ भन्ने व्यवस्था छैन ।’  निर्वाचन आयोगको आग्रहपछि उम्मेदवारका लागि बैंक खाता छिटो खोल्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले सहजीकरण गरिरहेका छन् । एक बैंकरका अनुसार निर्वाचन आयोगले बैंकहरूलाई छलफलमा बोलाएर उम्मेदवारको बैंक खाता खोल्न सहज वातावरण बनाउन आग्रह गरेको हो । उम्मेदवार स्वयं बैंकमा उपस्थित भई निर्वाचन आयोगको सिफारिसपत्र ल्याएपछि निर्वाचन प्रयोजनका लागि खाता खोल्न बैंकहरू तयार रहेको उनको भनाइ छ ।  निर्वाचन सम्पन्न भएपछि आयोगको निर्देशनअनुसार त्यस्ता खाताहरू बन्द गरिने उनले बताए । उनका अनुसार उम्मेदवारसँग राष्ट्रिय परिचय पत्र नहुने भन्ने विषय स्वाभाविक होइन । उनले निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन उम्मेदवारका लागि बैंक खाता अनिवार्य गरेको बताए । ‘निर्वाचनसँग सम्बन्धित सबै खर्च पारदर्शी बनाउने आयोगको उद्देश्य देखिन्छ । हामीलाई खाता खोल्न कुनै समस्या छैन,’ प्रवक्ता भट्टराईले भने, ‘बैंकिङ प्रणालीमा राजनीतिज्ञहरू ‘हाइ रिस्क क्याटागोरी’मा पर्ने भएकाले केन्द्रीय कार्यालयको स्वीकृति आवश्यक पर्छ । तर, देशको संसदमा पुग्ने उद्देश्यसहित उम्मेदवारी दिएका व्यक्तिसँग राष्ट्रिय परिचय पत्र नै नहुनु गम्भीर विषय हो । निर्वाचन आयोगले नै उम्मेदवारी दर्ताका क्रममा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्नुपर्थ्यो ।’ बैंक खाता खोल्दा सर्वसाधारणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिनु तर देश सञ्चालन गर्ने उद्देश्य लिएका उम्मेदवारका लागि अनिवार्य नगरिनु 'नेताहरूलाई सबैतिर छुट' भन्ने मानसिकता निर्वाचन आयोगका उच्च पदाधिकारी र उम्मेदवारहरूमा देखिएको उनले बताए । मतदाता परिचयपत्र र नागरिकता अनिवार्य गरिए पनि राष्ट्रिय परिचय पत्रलाई बेवास्ता गर्नु आयोगको कमजोरी भएको उनले बताए । अर्थविद डा. गोविन्द नेपालले राष्ट्रिय परिचय पत्र नहुने उम्मेदवारको बैंक खाता नहुनु गम्भीर र विडम्बनापूर्ण अवस्था भएको बताए । बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको अवस्थामा उम्मेदवार बन्नका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य हुनुपर्ने उनको भनाइ छ ।  सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गराइँदा देशको शासन सत्ता सञ्चालन गर्छु भनेर उम्मेदवारी दिने व्यक्तिसँगै उक्त कागजात नहुनु गम्भीर विषय भएको उनले बताए ।  ‘सामान्य नागरिकले सेवा लिन जाँदा राष्ट्रिय परिचय पत्र नहुँदा फिर्ता पठाइन्छ तर उम्मेदवारका हकमा त्यस्तो कडाइ देखिँदैन,’ उनले भने, ‘गैरसरकारी संस्था (एनजीओ) दर्ता गर्दा सम्बन्धित व्यक्तिहरूको प्रहरी रिपोर्ट अनिवार्य छ । तर, राजनीतिक दल दर्ताका क्रममा भने यस्तो व्यवस्था राखिएको छैन । राजनीतिक दल अत्यन्तै गम्भीर संस्था हुन् । तिनमा अझ कडाइ हुनुपर्छ ।’  उनका अनुसार सबैका लागि एउटै नियम लागू हुनुपर्छ । राष्ट्रिय परिचय पत्र जारी भइसकेपछि त्यसैको आधारमा सेवा दिने व्यवस्था हुनुपर्नेमा अहिले राष्ट्रिय परिचय पत्र हुँदाहुँदै पनि नागरिकता अनिवार्य गरिएको अवस्था असंगत देखिएको उनले बताए । ‘अब राष्ट्रिय परिचय पत्र भएपछि नागरिकता नचाहिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।  डा. नेपालले उम्मेदवारहरूलाई कडाइका साथ कम्प्लायन्समा ल्याउनुपर्ने आवश्यकता औंल्याए । उम्मेदवार जनताको विश्वास आर्जन गर्ने व्यक्ति हो । त्यही व्यक्तिसँग सबै आवश्यक कागजात नहुनु आफैंमा समस्या रहेको उनको भनाइ छ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले हालसम्म १२ वटा क्षेत्रमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिसकेको जनाएको छ । विभागका अनुसार आगामी दिनमा अन्य सरकारी तथा सार्वजनिक सेवामा पनि राष्ट्रिय परिचय पत्रलाई क्रमशः अनिवार्य गरिँदै लैजाने तयारी गरिएको छ । राष्ट्रिय परिचय पत्र विभागकी निर्देशक (सामाजिक सुरक्षा शाखा) विजया कुमारी प्रसाईंका अनुसार सरकारी सेवामा पहिचान प्रणालीलाई एकीकृत र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै आएको हो । नयाँ मतदाता दर्ताका क्रममा पनि राष्ट्रिय परिचय पत्रको नम्बरका आधारमा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो । नीतिगत व्यवस्था भएमा निर्वाचन आयोगमा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न सकिने उनले बताइन् ।  उम्मेदवारले गलत विवरण बुझाउने तर निर्वाचन आयोगले त्यसको सत्यता जाँच पनि नगर्ने भएकोले यसअघि चितवनको २ नम्बर निर्वाचन क्षेत्रमा दुई पटक निर्वाचन गराउनु परेको थियो । त्यस क्रममा सरकारको अर्बौं रुपैयाँ खर्च भएको थियो भने जनताले पनि अनावश्यक दुःख पाएका थिए । उक्त घट्नापछि पनि निर्वाचन आयोगले उम्मेदवारहरूको कानुनी परिचयपत्र खोज्ने मामिलामा कुनै सुधार नगरेको जानकारहरू बताउँछन् ।

केयाल ग्रुपका ४ उद्योगको ऋण १०.१४ अर्ब, आम्दानी ९ अर्ब

काठमाडौं । केयाल ग्रुप अन्तर्गतका चार कम्पनीले एक वर्षमै करिब ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेका छन् । नारायणी रोलिङ मिल्स, नारायणी स्टिल्स, नारायणी स्ट्रिप्स र श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेका हुन् । यी कम्पनीमा अधिकांश सेयर केयाल ग्रुपको रहेको छ भने सत्यनारायण केयाल अध्यक्ष रहेका छन् । केयाल ग्रुप पारिवारिक रूपमा सञ्चालित व्यावसायिक घरानाको रूपमा परिचित छ र समूहका उद्योगहरूको अधिकांश पूर्वी तराईमा आधारित छन् । चारै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब १४ करोड ८७ लाख रुपैयाँ ऋण लिएका छन् । अधिकांश उद्योगका उत्पादन प्लान्ट भारत-नेपाल सीमा क्षेत्रमा अवस्थित छन् । कच्चा पदार्थको अधिकांस हिस्सा भारतबाट आयात हुने भएकाले सीमासँगको नजिकियताले ढुवानी लागतमा उल्लेखनीय बचत हुने गरेको जनाएको छ । साथै, ग्रुपका काठमाडौं उपत्यका र वरिपरि १५ हार्डवेयर आउटलेट र देशभर करिब १२९ डिलर तथा डिस्ट्रीब्युटर नेटवर्कले उत्पादनका लागि सुनिश्चित बजार उपलब्ध गराउँदै आएको छ । नारायणी रोलिङ मिल्स बाराको चटापिपरा क्षेत्रमा रहेको नारायणी रोलिङ मिल्सले सन् २०२५ मा २ अर्ब ८७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८.२९ प्रतिशत अर्थात् ७९ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् १९९२ मे मा निजी सीमित कम्पनीका रूपमा दर्ता भई सन् १९९५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो उद्योगले टीएमटी बार, एङ्गल र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ४८ हजार ३०० मेट्रिक टन रहेको छ ।  निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरीय स्टिल उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । कम्पनीको नाफा सन् २०२५ मा करिब १ करोड ५० लाख पुगेको छ, जुन सन् २०२४ को ३० लाख मात्र थियो। ।  कम्पनीले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ३ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  नारायणी रोलिङ मिल्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ७ करोड २८ लाख र अल्पकालीन १ अर्ब ६१ करोड ९२ लाख गरी कुल १ अर्ब ६९ करोड २१ लाख ऋण लिएको छ । नारायणी स्टिल्स  पर्साको चोर्नी क्षेत्रमा रहेको नारायणी स्टिल्सले सन् २०२५ मा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशत, अर्थात् ६० करोड २० लाख रुपैयाँ बढी हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ९८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २००४ अप्रिलमा स्थापना भएको यस उद्योगले निर्माण र औद्योगिक क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै तार, कीला र अन्य सहायक स्टिल उत्पादन गर्दै आएको छ । औपचारिक उत्पादन सन् २०१८ डिसेम्बरमा सुरु भएको हो । हाल उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक ६५ हजार मेट्रिक टन रहेको छ । सन् २०२३ मा २ अर्ब ५१ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जीआई वायर, एमएस वायर, बार्बेड वायर लगायतका विभिन्न तार उत्पादन गर्दै आएको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ४७ करोड ६० लाख र अल्पकालीन ९० करोड गरी कुल १ अर्ब ३७ करोड ६० लाख ऋण लिएको छ । नारायणी स्ट्रिप्स  नारायणी स्ट्रिप्सले सन् २०२५ मा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.१४ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनी १३ अप्रिल २०१५ मा स्थापना भएको हो र सन् २०१६ देखि उत्पादन प्लान्ट सञ्चालनमा आएको हो । यहाँ पाइप, शीट, स्लिट्स, रिज र चेकर प्लेट जस्ता उत्पादनहरू उत्पादन हुँदै आएका छन् । हाल कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ५ लाख ८२ हजार ४०० मेट्रिक टन पुगेको छ । विगतका वर्षहरूमा कम्पनीले लगातार सञ्चालन आम्दानी वृद्धि गरेको छ । सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख, सन् २०२२ मा ३ अर्ब ६४ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब १४ करोड, सन् २०२० मा ३ अर्ब २१ करोड ९० लाख, सन् २०१९ मा ३ अर्ब ८३ करोड ३० लाख, सन् २०१८ मा २ अर्ब ८७ करोड ९० लाख, र सन् २०१७ मा ८८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ३ अर्ब २० करोड २१ लाख र अल्पकालीन ३ अर्ब २४ करोड ५३ लाख गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख ऋण लिएको छ । श्री कृष्ण स्टील इन्डस्ट्रीज पर्साको जीतपुरमा अवस्थित श्री कृष्ण स्टील इन्डस्ट्रीजले सन् २०२५ मा ९३ करोड ७० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको छ । यो सन् २०२४ को तुलनामा ११.५४ प्रतिशत, अर्थात् ९ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८४ करोड रुपैयाँ बराबर आम्दानी गरेको थियो । फेब्रुअरी १९९५ मा स्थापना भएको श्री कृष्ण स्टील इन्डस्ट्रीज केयाल ग्रुपको लगानी रहेको कम्पनी हो । पर्सा जिल्लामा रहेको यसको उत्पादन प्लान्टले २० वर्षभन्दा बढी समयदेखि पाइप, शीट र शटर पट्टी निर्माण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब १९ करोड ४० लाख रुपैयाँ र सन् २०१७ मा २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन २४ करोड ४७ लाख र अल्पकालीन ३८ करोड ८४ लाख गरी कुल ६३ करोड ३२ लाख रुपैयाँ ऋण लिएको छ ।