तेस्रो सन्तानलाई १० लाख अनुदान
सन् १९५० मा नेपालको प्रजनन दर ६ दलमलव ०५ थियो । संयुक्त राष्ट्र संघको विश्व जनसंख्या रिपोर्टअनुसार सन् १९५० यता नेपालमा सबैभन्दा बढी प्रजननदर ६ दशमलव ०९२ थियो, सन् १९६१ मा । त्यो समयमा सरदरमा १ हजार महिलाले ६ हजार ९२ बच्चा जन्माउँथे । औसतमा एक महिलाले जीवनमा ६ भन्दा बढी छोराछोरी जन्माउँथिन् । सन् २०२४ मा नेपालको प्रजनन् दर १ दशमलव ९६ मा झरेको छ । संयुक्त राष्ट्र संघको विश्व जनसांख्यिक प्रतिवेदन (वर्ल्ड पपुलेशन प्रस्पेक्टस्) २०२४ का अनुसार विगत ७५ वर्षमा नेपालमा प्रजनन् दर करिब ६८ प्रतिशतले घटेको छ । र, सन् २०२४ को तुलनामा अगामी ७५ वर्षमा अर्थात् सन् २१०० सम्ममा नेपालको प्रजनन् दर १३ दशमवल ६२ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । सन् २१०० सम्ममा नेपालको प्रजनन् दर १ दशमलव ६७४ मा झर्नेछ । एक हजार महिलाले १६७४ छोराछोरीको जन्म दिनेछन् । यो अंक नेपालको उच्च प्रजनन् दर भएको वर्ष सन् १९६१ को तुलनामा ७२ दशमलव ५२ प्रतिशत कम हो । विश्वभरका सरकारको प्राथमिकताको सूचीमा जनसंख्या वृद्धि अगाडि पर्दै गएको छ । तर, नेपालमा सरकारले परिवार नियोजनको व्यापार प्रवर्द्धन गर्ने नीतिमा अझै जोड दिइरहेको छ । इच्छा विपरीत गर्भ रहन गएमा महिलाले गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । यही नीतिको छिद्रभित्र छिरेर गर्भमै लिंग पहिचान गरी गर्भपतन (मूलत छोरी हत्या) कार्य बढ्दो छ, जसको रेकर्ड पनि छैन । केटी नपाएर केटाहरू अविवाहित र एक्लो जीवन जीउनु पर्ने बाध्यात्मक दृष्यहरू समाजमा देखिन थालेका छन् । यसबारे सरकार मात्र होइन, समाज पनि मौन बसिरहेको छ । देशको जनसंख्या स्थिर रहनको लागि प्रजननदर २ दशमलव १ भन्दा माथि रहनुपर्छ भन्ने संयुक्त राष्ट्र संंघकै रिपोर्टमा लेखिएको छ । तर, नेपालमा प्रजनन् दर १ दशमलव ९६ मा झरिसकेको छ । २०७८ सालका राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्यामा वार्षिक वृद्धिदर औषत शून्य दशमलव ९२ प्रतिशत कायम देखिन्छ । नेपाल सरकार यही तथ्यांकमा रमाएको छ । विगत ६० वर्षमा नेपालीहरूको औसत आयु ३२ वर्षले वृद्धि भई ७२ वर्ष पुगेको छ । औसत आयुमा भएको उच्च वृद्धिले राष्ट्रिय जनसंख्याको वृद्धिदरमा टेवा पुगेको प्रष्ट देखिन्छ । संयुक्त राष्ट्रसंघको जनसांख्यिक प्रक्षेपणले सन् २०५० दशकदेखि नेपालको जनसंख्या घट्दै जाने प्रक्षेपण गरेको थियो । त्यसको संकेत अहिले नै देखिएको छ । २०७८ सालको राष्ट्रिय जनगणनाले खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगासहितको जिल्लाहरूको जनसंख्या घट्दो क्रममा रहेको पुष्टि गरेको छ । आँसुमा व्यापार, खुशीमा मौन दुलही अन्माउँदै गर्दा माइती पक्षका आँखा आँसुले डुब्छ । तर, घरमा बुहारी भित्र्याउँदा व्यापक खुसी मनाइन्छ । छोराछोरी जन्मिँदा परिवार, समाज हामी खुशी छाएको देख्छौं । पारिवारिक र सामाजिक खुसीका यी पलहरूमा सरकार मौन बस्छ, अनुपस्थित हुन्छ । मृत्युमा नेपाली शोकमा पर्छन्, रुवावासी हुन्छ । आँसुको बलिन्द्र छुट्छ । जहाँ सर्वाधिक आँसुको मूल फुट्छ र राष्ट्रिय तरंग पैसा हुन्छ त्यहाँ सरकारले व्यापारको प्रस्ताव लैजान्छ । पीडितले आँसु बेच्छन्, सरकारले आँसु किन्छ । मूलतः सत्तासीन दलले मृतकको परिवारलाई क्षतिपूर्ति दिने आक्रोशित जनसमुदायलाई भुलाउने र निर्वाचनमा भोट जोगाउने उद्देश्यले निर्णय लिइरहेको पाइन्छ । आँसु विक्रेताहरूले मप्रति आक्रमण थाल्नुहुनेछ । आँसु किन्ने निर्णय गर्ने सरकारी अधिकारीहरू यस लेखकलाई मुद्दा लगाउने योजनामा जानुहुनेछ । यति चाहिँ नभुल्नुहोस् कि लेखकले तर्कसँगै प्रस्तुत गरेका तथ्यमा फाइल बनाएर बोक्नुहोस् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७२ जनाका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति लिए । ४५ जनालाई सरकारले सहिद नै घोषणा गर्यो । सहिद घोषित भएपछि उनीहरूले पाउने सेवा सुविधाको सीमा नै छैन । २०८१ चैतमा तीनेकुने घटनामा मारिएका दुई युवकका परिवारलाई पनि सरकारले १०/१० लाख रुपैयाँ दियो, परिवारले लिए । २०८० मंसिरमा बालकुमारी घटनामा मारिएका दुई युवकका परिवारलाई पनि सरकारले १०/१० लाख रुपैयाँ दियो, मृतकका परिवारले लिए । तीनवटै घटनामा राज्यले ज्यादति गरेको थियो । उनीहरूको मृत्युको मूल कारण राज्यको बन्दुक नै थियो । माओवादी सशस्त्र द्वन्द्वको समयमा मारिएका तथा बेपत्ता १६ हजारभन्दा बढीलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दियो । अहिलेसम्मको इतिहासमा आँसुको बदलामा सरकारले खर्चेको सबैभन्दा ठूलो बजेट यही नै हो । बलात्कारपछि हत्या गरिएको कञ्जनपुरकी निर्मला पन्तको परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ दियो । पन्तको हत्यारा पुष्टि भएको छैन । तर, सरकारका उच्च अधिकारीका परिवार सदस्य नै संलग्न रहेको आशंकासहित विवरणहरू समेटेर समाचारहरू प्रकाशित भएका छन् । त्यो घटनाले राष्ट्रिय तरंग पैदा गर्यो र सरकारले पन्त परिवारलाई १० लाख रुपैयाँ दियो । बलात्कारपछिको हत्या, पारिवारिक वा सामाजिक विवादपछिको हत्याका घटनाहरू देशभर दैनिकजस्तै घटिरहेका हुन्छन् । तर, सबै घटनाले निर्मला पन्तको हत्या झैं राष्ट्रिय तरंग ल्याउँदैन । सरकारले आँसु पनि किन्दैन । पीडित पक्षले पैसा पनि पाउँदैन । यही जेठ ११ गते रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भयो । थवाङ गाउँपालिका-२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री बिरामी परेका आफन्तलाई भेटेर घर फर्किँदै गर्दा हावाहुरीमा परेका थिए । उनीहरूको मृत्युले राष्ट्रिय तरंग पैदा गरेन । परिवारको आँसु सरकारले पनि किनेन । सवारी दुर्घटनाको कारण सबैभन्दा धेरै नेपालीको अकालमा मृत्यु हुन्छ । बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपदमा परेर पनि धेरै मानिसहरूको मृत्यु भइरहेको हुन्छ । कामको सिलसिलामा रुखबाट लडेर, भीरबाट खसेर, नदी पोखरीमा डुबेर पनि धेरै नेपालीहरूको निधन भइरहेको हुन्छ । जंगली जनावरको आक्रमण, विशालु सर्प वा अन्य घातक संक्रमणका कारण पनि मानिसहरूको असाधारण मृत्यु भइरहेको हुन्छ । यस्ता प्रकृतिका सबै मृत्युपछि सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ दिँदैन । घटनाले राष्ट्रियस्तरमा तरंग पैदा गरेपछि र सत्तासीन शक्तिले भविष्यको निर्वाचनमा भोट गुम्ने आंकलन गरेपछि मात्र मन्त्रिपरिषद् बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गर्छ । राष्ट्रिय क्षतिपूर्ति नीतिबिना नै मन्त्रिपरिषद्ले पटके निर्णयबाट आँसु किनिरहेको हुन्छ । सरकारले अभ्यास गरेको १० लाख क्षतिपूर्ति नीति मापदण्डहीन छ । विश्व अभ्यास दुर्घटनाबाट हुने मृत्यु र परिवारलाई दिने आर्थिक टेवाको लागि बीमाको व्यावसायिक अभ्यास विश्वभर छ, नेपालमा पनि छ । भलै, त्यसभित्र पनि सच्याउनु पर्ने विषय धेरै छन् । अन्तर्राष्ट्रिय उठानको क्रममा मृत्यु भएमा परिवारले २ करोड ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउन सक्छ । आन्तरिक उडानका क्रममा मृत्यु भएमा परिवारले ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने छ । सडक दुर्घटना भएमा ५ देखि १० लाख रुपैयाँ बीमा क्षतिपूर्ति पाँउछ । क्षतिपूर्तिको मूल्य बीमा करार सम्झौता वा क्षतिपूर्ति सम्बन्धि कानुन अनुसार हुन्छ । क्षतिपूर्ति सम्बन्धि कानुन निर्माणमा र बीमा बजार प्रवर्द्धनमा दुबै पक्षमा सरकार चुकेको छ। यस लगानीले देशको जनसंख्या वृद्धिमा टेवा दिनेछ, देशको समृद्धिमा टेवा दिनेछ । सरकारको लगानी वास्तविक रूपमा उत्पादनमुखी पनि हुनेछ । गर्नुपर्ने काम जीवन अमूल्य छ । तर, मृत्यु अनिवार्य पनि छ, कतैबाट पनि रोक्न सकिँदैन । तर, सरकारले मानिसको मृत्युमा पैसा लगानी गरिरहेको छ । खानपानमा सुधार, जीवनशैलीमा सुधार, स्वास्थ्य सेवामा स्तरवृद्धि गरेर मानिसको आयु लम्ब्याउन सकिन्छ । जन्मदर वृद्धिका उपायहरू अवलम्बन गरेर जनसंख्या वृद्धि गर्न सकिन्छ । नीतिगत सुधार गरेर पनि जनसंख्या वृद्धिलाई प्रोत्साहित गर्न सकिन्छ । यसतर्फ सरकारले लगानी बढाउनुपर्छ । सरकारले आँसुको व्यापार बन्द गर्नुपर्छ, खुशीको व्यापार खुला गर्नुपर्छ । दुर्घटनाजन्य मूल्यमा १० लाख खर्च गर्नुभन्दा तेस्रो सन्तान जन्माउने परिवारलाई १० लाख रुपैयाँ दिनु उत्तम हुन्छ । यसले परिवारलाई वास्तवमै खुसी बनाउने छ । कुँवारा, कुमारीको बढ्दो संख्या, ढिला विवाह, व्यस्त जीवनशैली, बाँझोपन, परिवार नियोजनका साधनको प्रतिफलले सन्तानविहीन र निराश बन्दै गएको समाजमा तेस्रो सन्तान प्राप्ति र त्यसमा सरकारको १० लाख अनुदान लाभले वृहत तरंग पैदा गर्नेछ । यस लगानीले देशको जनसंख्या वृद्धिमा टेवा दिनेछ, देशको समृद्धिमा टेवा दिनेछ । सरकारको लगानी वास्तविक रूपमा उत्पादनमुखी पनि हुनेछ । विश्वका अन्य देशहरूले पनि फरक-फरक तरिकाबाट प्रजनन् वृद्धिलाई प्रोत्साहित गर्ने नीतिहरू लिएको पाइन्छ । नेपाल सरकारले पनि यसमा ध्यान दिनुपर्छ । पछिल्लो समय बाँदरले कृषि उपज खाएर देशको ६० प्रतिशतभन्दा बढी नेपालीलाई ठूलो नोक्सान पुर्याएको छ । बाँदर नियन्त्रण गरेर किसानलाई राहत दिने, उत्पादन वृद्धि गर्ने आवाज संसदमा उठ्दा आशिका तामाङ लगायत सांसदहरूले संसदमै नियमापत्ति गरे, विरोध गरे । बाँदर मात्र होइन, बाघ, हात्ती, गैडा लगायत जंगली जनावरको आक्रमण/अतिक्रमणबाट पीडित समुदाय र प्रकृति संरक्षणवादीहरूबीचको घम्साघम्सी चिया पसलदेखि टकशोसम्म देखिँदै आएको छ । तर, मान्छेकै जन्म नियन्त्रण गर्ने, भ्रूण हत्या गर्ने र आफ्नो व्यापार वृद्धि गर्नेहरूको संरक्षणका लागि बनेका कानुन संशाेधन वा कानुन खारेज बारेमा वहस शुन्य छ । १५० वर्षमा मानव जन्मदर ७२ प्रतिशतले घट्दै गर्दा त्यसबारे चिन्तन र वहस अबको आवश्यकता हो । सम्बन्धित लेख : ‘सगरमाथा कार्ड बेचौं, जनसंख्या वृद्धि गरौं’
युनाइटेड डिस्ट्रीब्युटर्सको आम्दानी १५.२० अर्ब, लाभांश रोकेपछि कर्जा ५.८६ अर्बमा झर्यो
काठमाडौं । युनाइटेड डिस्ट्रीब्युटर्स (नेपाल) प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ७ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार वार्षिकीकृत आम्दानी करिब ५ प्रतिशतले घटेको छ, जसको मुख्य कारण व्यक्तिगत हेरचाह (पर्सनल केयर) खण्डमा करिब २१ प्रतिशतको गिरावट हो । यद्यपि, नयाँ उत्पादनहरू थपिँदै गएकाले आगामी दिनमा व्यवसाय सुधार हुने अपेक्षा कम्पनीको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब २० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् ४१ करोड ५० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले १४ अर्ब ७८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आर्थिक मन्दीका बाबजुद पनि कम्पनीले कारोबारलाई स्थिर कायम राख्न सफल भएको छ । पछिल्ला वर्षहरूको तथ्यांकअनुसार कम्पनीको आम्दानी निरन्तर वृद्धि देखिएको छ । आव २०७९/८० मा १३ अर्ब ६१ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ८१ करोड रुपैयाँ, आव २०७७/७८ मा १२ अर्ब ११ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ९ अर्ब ७० करोड ९० लाख रुपैयाँ र आव २०७५/७६ मा ९ अर्ब २६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको बिक्री संरचनामा भने ग्राहकमा निर्भरता बढ्दै गएको देखिन्छ । गत वर्ष शीर्ष १० ग्राहकबाट करिब ४२ प्रतिशत आम्दानी आएको थियो, जुन अघिल्लो वर्ष करिब ३८ प्रतिशत थियो । यसले सीमित ग्राहकमा निर्भरता बढाएको र व्यापारिक जोखिम थपिएको कम्पनीको भनाइ छ । सन् २००३ मा स्थापना भएको युनाइटेड डिस्ट्रीब्युटर्स नेपालमा विभिन्न अन्तर्राष्ट्रिय उपभोक्ता सामग्री ब्रान्डहरूको प्रमुख आयातकर्ता तथा वितरक कम्पनी हो । कम्पनीले प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटानिया, अमुल, एससी जोन्सन लगायतका ब्रान्डका उत्पादनहरू नेपालभर वितरण गर्दै आएको छ । करिब ४५ हजारभन्दा बढी खुद्रा पसल तथा बिक्री केन्द्रमार्फत यसको वितरण सञ्जाल विस्तार भएको छ । कम्पनी विशाल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको हो । अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको संयुक्त रूपमा ५० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी १० जना लगानीकर्तासँग रहेको छ । कम्पनीले विगतमा सेयरधनीलाई उच्च लाभांश वितरण गर्दै आएको भए पनि गत वर्ष लाभांश वितरण नगर्ने नीति अपनाएको छ । यसले कर्जामा निर्भरता घटाउन र वित्तीय सूचकहरू सुधार गर्न सहयोग गरेको कम्पनीको भनाइ छ । चालु आवको ६ महिनासम्म कम्पनीसँग करिब ५३ प्रतिशत अप्रयुक्त कर्जा उपयोग क्षमता अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष करिब ८ प्रतिशत अर्थात् १७ करोड ९० लाख रुपैयाँ मात्र थियो । तर, गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा करिब ६० करोड रुपैयाँ बराबरको मौज्दात क्षति भएको र त्यससम्बन्धी बीमा दाबी तथा कर्जा समायोजन प्रक्रिया अझै टुंगिन बाँकी रहेको कम्पनीले जनाएको छ । युनाइटेड डिस्ट्रीब्युटर्सको खुद सम्पत्तिको ठूलो हिस्सा सेयर बजार तथा स्थिर सम्पत्तिमा लगानी भएकाले जोखिम कायम रहेको जनाएको छ । सन् २०२६ जनवरी मध्यसम्म कम्पनीको इक्विटी लगानी खुद सम्पत्तिको करिब २२ प्रतिशत रहेको छ भने सन् २०२५ जुलाईसम्म स्थिर सम्पत्ति करिब ४१ प्रतिशत पुगेको थियो । यीमध्ये केही लगानी प्रमोटर सम्बन्धित सेयरमा रहेको र तुलनात्मक रूपमा कम तरल भएकाले आवश्यक समयमा तत्काल नगद व्यवस्थापनमा चुनौती सिर्जना हुन सक्ने कम्पनीको मूल्यांकन छ । कम्पनीले सञ्चालन गर्ने दैनिक उपभोग्य वस्तु अर्थात् फास्ट-मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) व्यापार क्षेत्रमा भने कडा प्रतिस्पर्धा रहेको जनाएको छ । बजारमा स्थापित ब्रान्डहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेकाले बजार हिस्सा कायम राख्न चुनौती रहने देखिन्छ । साथै, सरकारी नीतिगत परिवर्तन नगद मार्जिन आवश्यकतामा वृद्धि, केही वस्तुहरूको आयात प्रतिबन्ध वा आयात महसुल (ड्युटी)मा वृद्धि जस्ता निर्णयले कम्पनीको बिक्री र नाफामा प्रत्यक्ष असर पार्न सक्ने जोखिम पनि कायम रहेको छ । आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा कार्यशील पुँजी तीव्रता करिब २९ प्रतिशत पुगेको छ । यसको प्रमुख कारण ग्राहकबाट उठ्न बाँकी रकम (डेब्टर डेज) बढ्नु हो, जसले नगद प्रवाहमा दबाब सिर्जना गरेको छ । साथै सन् २०२५ सेप्टेम्बरमा भएको प्रदर्शनका क्रममा करिब ६० करोड रुपैयाँ बराबरको मौज्दात क्षति भएपछि त्यसको पुनः भण्डारण गर्नुपरेको छ, जसले कार्यशील पुँजीमा थप दबाब पारेको छ । उक्त क्षतिको बीमा दाबी प्रक्रिया भने अझै बाँकी रहेको छ । यद्यपि अघिल्लो वर्ष सन् २०२४ सेप्टेम्बरमा बालकुमारी गोदाममा भएको बाढी क्षतिमा करिब ९० प्रतिशत बीमा दाबी सफलतापूर्वक प्राप्त भएको अनुभवका कारण कम्पनीप्रति केही भरोसा कायम रहेको कम्पनीको विश्वास छ । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ । जबकि गत वर्ष कम्पनीले ६ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
यी हुन् कारवाहीका लागि सिफारिस भएका पूर्वरजिष्ट्रार र उपरजिष्ट्रार
काठमाडौं । सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८३ को प्रतिवेदनले सहकारी विभागका पूर्वरजिष्ट्रार, पूर्वउप-रजिष्ट्रार र शाखा अधिकृतहरुलाई कारवाहीका लागि सिफारिस गरेको छ । उनीहरुले सहकारी संस्थाहरुको शाखा विस्तारका लागि अनावश्यक स्वीकृति दिएको र त्यसले बेथिति निम्त्याएको भन्दै थप अनुसन्धान गरेर कारवाही गर्नुपर्ने सिफारिस गरेको हो । आयोगले सहकारी विभागका पूर्वरजिष्ट्रारहरु डा.टोकराज पाण्डे, लिलाप्रसाद शर्मा, झलकराम अधिकारी, रुद्रप्रसाद पण्डित, सुदर्शन प्रसाद ढकाल, कामु रजिष्ट्रार शंकरराज जोशी र प्रदेश रजिष्ट्रार कार्यालय धनगढीका रजिष्ट्रार गोकुल प्रसाद बोहरालाई थप अनुसन्धान गरेर कारवाही गर्नुपर्ने सिफारिस गरेको हो । आयोगको प्रतिवेदनमा सहकारी प्रशिक्षण केन्द्रका पूर्वप्राचार्य खेमराज विष्टलाई पनि कारवाही गर्नुपर्ने सिफारिस गरेको हो भने विभागकै पूर्व उप-रजिष्ट्रारहरु टोलराज उपाध्याय, खिमानन्द आचार्य, सुरेन्द्र राज पौडेल र शशिकुमार लम्साललाई पनि कारवाहीका लागि सिफारिस गरेको छ । यस्तै, शाखा अधिकृतहरु रघुवंश कँडेल, केशवबहादुर थापा, सन्देशप्रसाद जोशी, निरोज घिमिरे, मेनुका घिमिरे, बासुदेव भट्टराई र कानुन अधिकृत राजेन्द्र नेपाललाई पनि थप अनुसन्धान गरेर कारवाही गर्नुपर्ने उल्लेख छ । सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सहकारी संस्थाको सुरु दर्ता गर्दा नै सम्भाव्यता, आवश्यकता, वित्तीय क्षमता तथा पूर्वाधार तयारीको कुनै पनि विश्लेषण नै नगरी देशभरी कार्यक्षेत्रको स्वीकृती दिइएको, संस्थाको कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र एवं शाखा कार्यालय खोल्नको लागि पनि हचुवाको भरमा नियामक निकायबाट स्वीकृती लिइएको पाइएकोले कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको बताएको छ । सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ जारी भए पश्चात् पनि नियामक निकायमा रहेका पदाधिकारीहरु (सहकारीमा संलग्न कर्मचारीहरु, सहकारी अधिकृत, उप-रजिष्ट्रार, रजिष्ट्रर लगायत) तथा प्रदेश एवं स्थानीय तहले बहुउद्देश्यीय तथा विविध नाम राखी ऐनको भावना तथा सहकारीका मान्य सिद्धान्त विपरीत संस्था दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न, स्वीकृती दिने लगायतका कार्य गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । उपर्युक्त तरिकाबाट सहकारी संस्था दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न तथा थप गर्न स्वीकृति दिने एवं सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यमा संलग्न भेटेसम्मका पदाधिकारीहरुको विवरण उल्लेख गर्दै आयोगले कारवाही गर्न सिफारिस गरेको बताएको छ । ‘जाँचबुझ आयोगलाई दिइएको कार्यावधि अनुसार ती सबै पदाधिकारीहरुको विस्तृत अध्ययन गर्न साधन स्रोत र समयको अभावले सम्भव नभएकोले उल्लेख गरिएअनुसार सहकारी संस्थाहरुको दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न तथा थप गर्न स्वीकृति दिने, सहकारी संस्थाहरुको एकीकरण गर्ने लगायतको कार्यमा संलग्न नियामक निकायका पदाधिकारीहरु तथा सहकारी संस्थाहरुका सञ्चालक एवं सहकारी अभियन्ताहरुको सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारवाही सिफारिस गर्न सिफारिस गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।