उडिरहेको विमानमा पाइलटले नै अर्को पाइलटलाई चक्कु हानेपछि...

फ्लाइट एफजेड १०७३ संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।

काठमाडौं । दुबईबाट इजरायल जाँदै गरेको एक विमानमा पाइलटहरूबीच झगडा भएपछि विमान साउदी अरबमा अवतरण गरिएको छ ।

विमानमा सवार एक इजरायली यात्रुले पत्रकारहरूलाई चालक दलका सदस्यहरूले यात्रुसँग सहयोग मागेको र त्यसपछि यात्रुहरूले एक पाइलटलाई नियन्त्रणमा लिएर बाँध्न सहयोग गरेको बताएका छन् ।

फ्लाई दुबईको उक्त उडान बुधबार बिहान दुबईबाट उडेको थियो । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ का अनुसार उडान भरेको करिब दुई घण्टापछि विमानले आपतकालीन संकेत जारी गरेको थियो ।

केही मिनेटपछि उक्त संकेतलाई अपहरणको संकेतमा परिवर्तन गरिएको थियो । तर पछि फेरि सामान्य आपत्कालीन संकेतमा परिवर्तन गरिएको थियो ।

नाम नखुलाइएका इजरायली अधिकारीहरूले सञ्चारमाध्यमलाई एक पाइलटले अर्का पाइलटलाई चक्कु प्रहार गरेको बताएका छन् । 

अधिकारीहरूका अनुसार ती पाइलटले विमान अपहरण गर्न वा विमान दुर्घटनाग्रस्त गराउन खोजेका हुन सक्छन् । यद्यपि, आक्रमण गर्ने पाइलटको उद्देश्यबारे अहिलेसम्म स्पष्ट जानकारी छैन र यसबारे कुनै आधिकारिक बयान पनि आएको छैन ।

इजरायली सञ्चारमाध्यमका अनुसार उडानका क्रममा पाइलट र सहपाइलटबीच झगडा भएको थियो । त्यसपछि विमानले आपतकालीन संकेत पठाएको थियो र केही समयका लागि विमान अपहरण भएको आशंका उत्पन्न भएको थियो ।

फ्लाइट एफजेड १०७३ संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । विमानमा करिब १५० देखि १८० जना यात्रु सवार थिए, जसमा अधिकांश इजरायली नागरिक थिए ।

फ्लाइटराडार २४ का अनुसार उडान भरेको करिब दुई घण्टापछि विमानले सुरुमा स्क्वाक कोड ७७०० पठाएको थियो । यो सामान्य आपतकालीन अवस्थाको संकेत हो ।

विमानका क्याप्टेन र फस्र्ट अफिसर घाइते

फ्लाई दुबईले घटनामा क्याप्टेन र फर्स्ट अफिसर दुवै घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय समयअनुसार बिहान ८ः४४ बजे एयर ट्राफिक कन्ट्रोल सेन्टरमा आपत्कालीन अवतरणका लागि संकेत प्राप्त भएको थियो ।

त्यसको करिब एक घण्टापछि विमान सुरक्षित रूपमा रनवेमा अवतरण गरेको थियो ।

यात्रुहरूले इजरायली सञ्चारमाध्यमलाई साउदी अरबतर्फ विमान मोडिनुअघि एक पाइलट चक्कु प्रहारबाट घाइते भएको बताएका छन् ।

यास्मिन नामकी एक महिलाले दुबईबाट तेलअभिभ जाँदै गरेको उक्त उडानमा आफ्नी छोरी पनि सवार रहेको बताइन् ।

उनकी छोरीले फोन गरेर विमानभित्र चिच्याएको आवाज सुनेको बताएकी थिइन् । एक पाइलटले सहयोगका लागि गुहार मागिरहेको उनले आमालाई बताएकी थिइन् ।

यास्मिनले समाचार एजेन्सी एपीलाई भनिन्, ‘विमानले नियन्त्रण गुमाउन थालेको थियो। सबै जना चिच्याउन थाले । उनीहरूलाई अब आफ्नो ज्यान बच्दैन भन्ने लागेको थियो ।’

रोयटर्ससँग कुरा गर्दै यास्मिनले दुई अन्य पाइलटले विमानको नियन्त्रण सम्हालेको बताइन् । त्यही क्रममा अन्य यात्रुहरू हातमा चक्कु बोकेको व्यक्तितर्फ दौडिएका थिए ।

एक इजरायली अधिकारीले च्यानल १२ सँग भने, ‘एउटा अत्यन्त गम्भीर दुर्घटना हुनबाट जोगिएको छ ।’

‘द जेरुसेलम पोस्ट’ले पनि एक नाम नखुलाइएका इजरायली अधिकारीलाई उद्धृत गर्दै ‘ठूलो दुर्घटना हुनबाट बालबाल जोगिएको’ जनाएको छ ।

इजरायली सञ्चारमाध्यमसँग कुरा गर्दै नाम नखुलाइएका अधिकारीहरूले एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताएका छन् ।

ती पाइलटको उद्देश्य ‘या त विमान अपहरण गर्नु वा विमान दुर्घटनाग्रस्त गराउनु’ हुन सक्ने बताइएको छ । यद्यपि, आक्रमणको उद्देश्य पुष्टि भइसकेको छैन र यसबारे आधिकारिक बयान आउन बाँकी छ ।

विमानमा सवार एक इजरायली यात्रुले पत्रकारहरूलाई चालक दलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन र बाँध्न सहयोग गर्न यात्रुसँग आग्रह गरेको बताएका छन् ।

एक प्रत्यक्षदर्शीले भने, ‘यहाँ केही मानिसका कमिज रगतले भिजेका छन् ।’

विमानको पछाडिको भागमा रहेका दुई पाइलट अगाडि आएर विमान अवतरण गराउन सहयोग गरेका थिए । एक यात्रुले भने, ‘मैले चिच्याएर उनीहरूलाई दौडिएर आउन र विमानको नियन्त्रण सम्हाल्न भनेँ ।’

उडानका क्रममा के भएको थियो ?

फ्लाइटराडार २४ को तथ्यांकअनुसार साउदी अरबको आकाशमाथि पुगेपछि विमानले अचानक आफ्नो दिशा परिवर्तन गरेको थियो र तीव्र रूपमा तल झर्न थालेको थियो ।  विमान दुई मिनेटभन्दा कम समयमा १७ हजार फिट अर्थात् ५ हजार मिटरभन्दा बढी तल झरेको थियो ।

स्थानीय समयअनुसार बिहान ८ः२१ बजे विमान ३४ हजार फिटको उचाइमा उडिरहेको थियो ।

अचानक तल झर्न थालेको करिब १० मिनेटपछि विमानले करिब सात मिनेटसम्म आपत्कालीन संकेत पठाएको थियो ।

५ः४० बजे विमान केही समयका लागि जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । केही मिनेटपछि यो फेरि साउदी अरबतर्फ मोडिएको थियो र त्यसपछि अवतरण गर्न थालेको थियो ।

विमान तेलअभिभको बेन गुरियन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर यो उत्तरपूर्वी साउदी अरबस्थित ताबुक विमानस्थलमा अवतरण गरेको थियो ।

यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई विमान तल झर्न थालेपछि आफूहरूलाई ज्यानको डर लागेको बताएका छन् ।

रोयटर्ससँग नाम नखुलाउने सर्तमा एक इजरायली अधिकारीले पाइलटहरूबीच हात हालाहाल भएपछि दुवैले आपतकालीन संकेत पठाएको बताएका छन् ।

यद्यपि, दुवैमध्ये कुनै पाइलटले जानाजानी आपत्कालीन संकेत पठाएको हो वा होइन भन्ने तत्काल स्पष्ट हुन सकेन ।

इजरायली प्रसारक एन १२ न्युजका प्रमुख राजनीतिक विश्लेषक अमित सेगलले एक्समा पाइलटहरूबीच उडानकै क्रममा हात हालाहाल भएको देखिएको र त्यसपछि पूरै मध्यपूर्वमा उच्च सतर्कता अपनाइएको बताएका थिए ।

उनको उक्त पोस्ट पुनः पोस्ट गर्दै इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले घटनाका कारण मध्यपूर्व, विशेषगरी इजरायलमा सर्वसाधारण र सुरक्षा निकायहरू उच्च सतर्कतामा पुगेको बताएका थिए । उनले घटना यसभन्दा गम्भीर नबनेकोमा राहत व्यक्त गरेका थिए ।

जेरुसेलम पोस्टको रिपोर्टअनुसार सम्भावित आपतकालीन अवस्थासँग जुध्न तयारी गर्दै इजरायली वायुसेनाले आफ्नो सतर्कताको स्तर बढाएको थियो ।

इजरायली प्रधानमन्त्री कार्यालयले भने उक्त घटनालाई विमान अपहरणका रूपमा नलिइएको जनाएको छ ।

यसअघि इजरायलका तीन सुरक्षा अधिकारीले रोयटर्सलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त उडानका विषयमा अधिकारीहरूसँग छलफल गरेको बताएका थिए ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा सेना प्रमुख अयाल जमिरले वायुसेना कमान्डर तथा अन्य सैन्य अधिकारीसँग घटनाको अवस्थाबारे मूल्यांकन गरेको जनाएको छ ।

फ्लाईदुबईका प्रवक्ताले पनि उडानले ‘मार्गमै एउटा घटनाको सामना गरेको’ पुष्टि गर्दै सम्बन्धित अधिकारीहरूसँग आफ्ना टोलीले सहकार्य गरिरहेको बताएका छन् ।

फ्लाई दुबईले दुबई र तेलअभिभबीच दैनिक उडान सञ्चालन गर्छ । यो हवाई मार्ग इजरायली नागरिकबीच निकै लोकप्रिय मानिन्छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)

Share News