५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ
काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ । यसअघि गोप्य रूपमा आफ्नो पक्षमा चुनावी नतिजा पार्न व्यस्त व्यवसायीहरू सोमबारदेखि सार्वजनिक मञ्चबाट पनि चुनावी अभियानलाई तीव्रता पारेको उद्घोष गरेका छन् । महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा हुन सुरु भएको छ । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् भने अन्य पदका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । महासंघले विधान संशोधन गरेर यस वर्षबाट वरिष्ठ उपाध्यक्ष बन्नका लागि पनि पहिले कार्यसमिति सदस्य बन्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित सञ्चालक समितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । महासंघको वरिष्ठ उपाध्यक्षमा सोमबार हेमराज ढकाल नेतृत्वको प्यानल घोषणा भएको हो । हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका ढकालको टिममा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठले सोही पदमा दोहोर्याउने घोषणा गरेकी छन् । यही प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन् । महासंघले विधान संशोधन गर्दै यस पटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्ष हुने व्यवस्था गरेको छ । यसअघि एउटा मात्रै जिल्लानगर उपाध्यक्ष हुने व्यवस्था थियो । वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएकी छन् । महिला उपाध्यक्ष पनि यस वर्षदेखि सुरु गरिएको हो । ढकाल प्यानलले आफूलाई समावेशी, अनुभवी र क्षमतावान व्यवसायीको समूह भएको दाबी गरेको छ । ६ जना पदाधिकारीमा तीन जना महिला छन्, जुन पदाधिकारीमा ५० प्रतिशत हिस्सा हो । यस्तो छ व्यावसायिक पृष्ठभूमि वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल एक अनुभवी उद्योगीका रूपमा परिचित छन् । अहिले वस्तुगत उपाध्यक्षको रूपमा महासंघमा काम गरिरहेका उनी हेरिटेज ग्रुपका अध्यक्षसमेत हुन् । नेपालमा म्याट्रेस व्यवसायको सुरुवात एवं व्यवसाय विस्तार गर्ने श्रेय हेमराज ढकाललाई नै जान्छ । वस्तुगत उपाध्यक्ष बन्नुअघि उनी कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् । झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सोमबार उम्मेदवारी घोषणा गर्दै ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए । उनले सबै उद्योगीहरू सशक्त भई एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए । हेमराज ढकाल ढकालले भने, ‘अर्को समूहले पनि उम्मेदवारी घोषणा गर्ने सुनेको छु । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई अनुरोध गर्न चाहन्छु ।’ यस्तै, एसोसिएट तर्फकी उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ गरगहना व्यवसायी हुन् । ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनी मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी छन् । ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषदको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । सार्क चेम्बर अफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघ संगठनमा काम गरेको अनुभव उनीसँग छ । ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् । ‘विदेशमा पुगेर पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ‘प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’ यस्तै, जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार उमेश डालमिया पनि पूर्वका परिचित र अनुभवी व्यवसायी हुन् । महासंघको कार्यकारिणी सदस्यका रुपमा काम गरिरहेका उनी मेला समिति संयोजकको जिम्मेवारीमा पनि छन् । डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६ देखि २०५८ सम्म अध्यक्ष भएर काम गरेको थिए भने झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनिसकेका छन् । धरानबाट औद्योगिक व्यवसाय सुरु गरेका उनी बिर्तामोडमा रहेको रेडियो भिजनका सञ्चालकसमेत हुन् । उनी व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । डालमियाले जिल्ला नगरका व्यवसायीहरूको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने उनको भनाइ छ । उमेश डालमिया नेपाल सरकारसँग सहकार्य गरेर व्यवसायीका समस्या दह्रो रूपमा राख्नका लागि आफू नेतृत्वमा जान चाहेको उल्लेख गर्दै उनले व्यवसायीको समस्या समाधानका लागि आफू अग्रपंक्तिमा उभिने धारणा राखे । ढकालकै प्यानलबाट जिल्ला नगरको उपाध्यक्षका लागि कल्पना गैरेले पनि उम्मेदवारी घोषणा गरेकी छन् । पाल्पा घर भएकी उनी कैलालीको धनगढीमा रहेर व्यवसाय गर्दै आएकी छन् । उनी स्वास्थ्य व्यवसायी हुन् । उनी पनि महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छिन् । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् । कल्पना गैरे गैरेले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् । यस्तै, वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ पनि अनुभवी व्यवसायी हुन् । सिन्धुपाल्चोक घर भएका श्रेष्ठले बागमती आर्टस् एण्ड ह्याण्डिक्राफ्ट सञ्चालन गर्दै आएका छन् । हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न उनको महत्त्वपूर्ण योगदान छ । नरेशलाल श्रेष्ठ पर्यटन, ऊर्जा, स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी र अनुभव छ । नेपाल निर्यात परिषदको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । यस्तै, ढकाल प्यानलबाट व्यवसायी कमला श्रेष्ठ पनि महिला उपाध्यक्षको उम्मेदवार बनेकी छन् । तीन कार्यकाल महासंघको कार्यसमिति सदस्य बनिसकेकी उनीसँग चार दशक व्यवसाय गरेको अनुभव छ । उनी हाल महासंघको महिला उद्यमी विकास समितिको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी ब्युटी पार्लर व्यवसायी हुन् । उनी सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी केयरको सञ्चालक हुन् । उनी नेपाल ब्युटिसिएन संघको संस्थापक अध्यक्षसमेत हुन् । कमला श्रेष्ठ श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य व्यवसाय बनेको बताइन् । सुरुवाती दिनमा ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु, अब मलाई सबैले विश्वास गर्ने अपेक्षा छ ।’ चण्डीदेखि चन्द्रसम्मको साथ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल नेतृत्वको प्यानललाई आधा दर्जन बढी पूर्वअध्यक्षहरूले समेत साथ दिएका छन् । सोमबार आधा दर्जन पूर्वअध्यक्ष उनको उम्मेदवारी घोषणासभामा उपस्थित थिए । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि घोषणासभामा उपस्थित भएका थिए । अध्यक्ष ढकालले उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवार अनुभवी र क्षमतावान रहेको भन्द्र प्रशंसासमेत गरेका थिए । आफू निर्विरोध अध्यक्षमा निर्वाचित भएको विषय स्मरण गर्दै उनले सकेसम्म अहिले पनि निर्विरोधरूपमा निर्वाचित हुन आग्रह गरेका थिए । उनले अर्का समूहले पनि उम्मेदवारी घोषणा गर्ने सूचना पाएको उल्लेख गर्दै सकेसम्म मिलेर अगाडि बढेमा राम्रो हुने र हुनै नसके स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । कार्यक्रममा पूर्वअध्यक्ष चण्डीराज ढकाल, पशुपति मुरारका, रविभक्त श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पनि उम्मेदवारी घोषणा गरेका सबै व्यवसायी अनुभवी र क्षमतावान भएको बताएका थिए । ढकाल समूहले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ८ जना पूर्वअध्यक्ष आफ्नो समूहमा रहेको प्रचार गरेको छ । उनीहरुले सोमबार पूर्वअध्यक्षहरू शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठको नाम आफूलाई समर्थन गरेको सूचीमा राखेको थियो । यद्यपि, पूर्वअध्यक्षहरूले आफूहरूलाई निमन्त्रणा आएकोले शुभकामना दिन मात्रै गएको र खुलेरै कुनै पनि टिममा नलागेको धारणा राखेका छन् । कार्यक्रममा गोल्छा, राणा र विनोद श्रेष्ठ भने उपस्थित थिएनन् । महासंघमा पूर्वअध्यक्ष फ्याक्टरले ठूलो काम गर्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष खोज्दै अर्को समूह अर्को समूहले भने चैत पहिलो साता उम्मेदवारी घोषणा गर्ने बताएको छ । सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । स्रोतका अनुसार अहिले वर्तमान जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष द्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुची देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्ष बन्नेछन् । सो समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा शिव घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलराज पाण्डे र जिल्लानगर उपाध्यक्षमा कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ रहेका छन् ।
कुखुराको दाना उत्पादन गर्ने भ्याली पेलेट फिडको आम्दानी ४ अर्ब नाघ्यो, बैंकमा ऋण २.१० अर्ब
काठमाडौं । भ्याली पेलेट फिड प्राइभेट लिमिटेडले सन् २०२५ मा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.५५ प्रतिशत अर्थात् ५१ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँ तथा सन् २०२१ मा ३ अर्ब १० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार दाना पुनः संरचना गरेपछि बिक्री परिमाण बढेको र विशेषगरी ब्रोइलर दाना खण्डमा ग्राहक स्वीकृति सुदृढ भएकाले आम्दानी वृद्धि भएको हो । कुल आम्दानीमध्ये करिब ८६ प्रतिशत हिस्सा ब्रोइलर दाना खण्डबाट आएको जनाएको छ । सञ्चालन नाफामा पनि सुधार देखिएको छ । ब्याज, कर तथा ह्रासकट्टी अघिको नाफा मार्जिन सन् २०२४ मा ४.९९ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ५.६५ प्रतिशत पुगेको छ । खुद नाफा मार्जिन १.२३ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ। ब्याज खर्च घटेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । ग्रस नगद सञ्चिति ६ करोड ७० लाख रुपैयाँबाट बढेर १२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसले आन्तरिक नगद प्रवाहमा सुधार आएको देखाउँछ । सन् २००८ अगस्टमा स्थापना भएको कम्पनीको कारखाना मकवानपुरको हेटौंडामा रहेको छ । कम्पनीले कुखुरा पालनका लागि चार प्रकारका पेलेट दाना तथा ब्रोइलर ब्रीडरका लागि म्यास दाना उत्पादन गर्दै आएको छ । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको वार्षिक उत्पादन क्षमता ७० हजार मेट्रिक टन पुगेको छ । कम्पनीका अनुसार दाना उद्योग अत्यन्तै विखण्डित र प्रतिस्पर्धात्मक छ । संगठित तथा असंगठित दुवै प्रकारका उद्योगहरू बजारमा सक्रिय छन् । उत्पादनमा फरकपन कम भएकाले मूल्य निर्धारणमा साना तथा मध्यम उत्पादकहरूको क्षमता सीमित हुन्छ र बजारकै माग-आपूर्ति अवस्थाले मूल्य तय हुने हुँदा बजार उतारचढावले व्यवसायमा असर पार्ने गरेको जनाएको छ । कम्पनीको व्यवसाय प्रत्यक्ष रूपमा पोल्ट्री उद्योगसँग जोडिएको छ । कुखुरा पालन क्षेत्रमा बर्ड फ्लुजस्ता रोगको प्रकोप वा मासु उपभोगमा कमी आएमा दाना उत्पादक कम्पनीहरूको बिक्री तथा नाफामा प्रत्यक्ष असर पर्ने जोखिम रहेको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३९ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ ऋण लिएको छ। अघिल्लो वर्ष कम्पनीको कुल ऋण ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ रहेको थियो ।
भारतीय विद्यालयको ‘टार्गेट’मा नेपाली विद्यार्थी, खुलेआम प्रचारवाजी
काठमाडौं । अत्याधुनिक पूर्वाधार, स्मार्ट कक्षा र अन्तर्राष्ट्रियस्तरको शिक्षाको दाबी गर्दै नेपालका निजी विद्यालयहरूले नेपालमै गुणस्तरीय शिक्षाको नारालाई अगाडि सारिरहेका बेला सीमापारका भारतीय विद्यालयहरूले भने नेपाली विद्यार्थी तान्न आक्रामक प्रचार अभियान चलाइरहेका छन् । सामाजिक सञ्जालदेखि स्थानीय मिडियामा भारतीय विद्यालयका आकर्षक विज्ञापन देखिन थालेका छन् । कतिपय विद्यालय नेपालमै आएर कन्सल्टेन्सीमार्फत अभिभावकसँग सम्पर्क बढाइरहेका छन् भने कतिपयले प्रत्यक्ष रूपमा ठूला विज्ञापन प्रकाशित गरिरहेका छन् । उनीहरूले नेपाली विद्यार्थीलाई भारततर्फ आकर्षित गरिरहेका छन् । आवासीय सुविधा, अन्तर्राष्ट्रिय प्रमाणपत्र र तुलनात्मक रूपमा कम शुल्कको प्रलोभनसहित विशेषगरी पश्चिम बंगालको सिलिगुडी, दार्जिलिङलगायतका क्षेत्रका विद्यालयहरूले प्रचार तीव्र पारेका छन् । खुला सीमा र भिसा नचाहिने व्यवस्थाले भारत नेपाली विद्यार्थीका लागि सहज गन्तव्य बनेको छ । सिलिगुडीस्थित मोदी पब्लिक स्कुलले नेपालका चर्चित पत्रिकामा ठूलो विज्ञापन प्रकाशित गर्दै सन् २०२६/२७ का लागि नर्सरीदेखि कक्षा १२ सम्म भर्ना खुला गरेको जनाएको छ। १२ वर्षदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले आवासीय सुविधा र अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय शिक्षा दिने दाबी गरेको छ । विद्यालयका अनुसार त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाली छन् । यद्यपि ठ्याक्कै संख्या खुलाइएको छैन । विद्यालयले नेपाली विद्यार्थी भएकाले पढाइमा कुनै असहजता नहुने दाबी गरेको छ। कक्षा ११/१२ मा वाणिज्य, विज्ञान र मानविकी विषय अध्यापन हुँदै आएको छ । भारतीय विद्यालयको यस्तो प्रचारले नेपालमै विद्यार्थी रोक्ने उद्देश्यले खुलेका निजी विद्यालयमाथि थप चुनौती खडा गरेको छ । विदेशीलाई छुट, हामीलाई रोक भारतीय विद्यालयले नेपालमा खुला रूपमा प्रचार गर्न पाउनु कति उचित हो भन्ने प्रश्न उठे पनि यस विषयमा स्पष्ट कानुनी व्यवस्था छैन । प्याब्सनका पूर्व अध्यक्ष डीके ढुंगाना भन्छन्, ‘नेपालमा प्रचार प्रसार गर्न विदेशीहरूलाई छुट छ । तर, हामीले अन्य देश गएर गर्न पाइँदैन, पटक–पटक सरकारलाई यो विषयमा झकझक्यायौं तर सुनुवाइ भएन ।’ उनका अनुसार समस्या ऐन–कानुनमै छ । ‘हामीले गरिरहेको कुरालाई राज्यले सुन्ने, यसलाई प्रमोशन गर्न सहयोग गर्ने यो सामाजिक उद्योग हो । यसलाई हामीले जोगाउनुपर्छ भन्ने हिसाबले गर्नुपर्ने,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘यसमा राज्यको ठूलो कमजोरी छ । अभिभावकलाई बाहिर जान खुला छ । हामीकहाँ आउन सजिलो छैन, धेरै प्रक्रिया झन्झटिला छन्, नेपालमा कुनै विद्यार्थीले पढ्न आउँछु भन्दा पनि टुरिष्ट भिसामा आउनुपर्छ, यो भनेको स्पष्ट कानुनको व्यवस्था नहुँदाका समस्या हुन् ।’ उनले नेपाललाई शिक्षा हब बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भने विज्ञापनको युगमा पूर्ण रोक सम्भव नभए पनि नियमन आवश्यक रहेको बताउँछन् । सीमा क्षेत्रका विद्यार्थी भारतमै सुदूरपश्चिमदेखि पूर्वी सीमासम्मका धेरै अभिभावकले आफ्ना छोराछोरी भारतीय विद्यालयमा पढाइरहेका छन् । रोजगारीका कारण अभिभावक भारतमै बस्नुपर्ने अवस्था, खुला आवतजावत र सस्तो शुल्कले भारत रोजाइमा परेको छ । झापाको काँकडभिट्टाकी कमला गौतम आफ्ना दुई छोरासहित सिलिगुडीमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘नेपालका सरकारी विद्यालयमा छोराछोरी पढाउँदा राम्रो पढ्न पाउँदैनन् भन्ने पिर, निजीमा पढाउँदा हामी जस्ताले शुल्क तिर्नै गाह्रो, यहाँ शुल्क पनि सस्तो पढाइ पनि राम्रो, दुइटा छोरा पढाउन आनन्दै छ ।’ ‘कतिपय बाध्यताले छोराछोरी भारत पढाउँछन् कतिपय रहरले हुने खानेले भारतमै पनि अझ राम्रा विद्यालयमा पढाउँछन्, हामीजस्ता काम गर्दै पढाउनेहरू ठीक्कको विद्यालयमा पढाइरहेका छौं, ’उनले थपिन् । उनका अनुसार सिलिगुडीका विद्यालयमा उल्लेख्य संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन् । राजनीतिक अस्थिरता र नीतिगत विवाद प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी नेपाली विद्यार्थी बाहिरिनुका दुई प्रमुख कारण औंल्याउँछन्, ‘विद्यालयको स्तर र राजनीतिक अस्थिरता ।’ उनी भन्छन्, ‘कहिले नेपाल बन्द, कहिले केही आन्दोलन हुन्छन् जो अभिभावकले सहन सक्दैनन् । राजनीतिक दल, विद्यार्थी संगठनले प्रक्रिया नपुर्याएर गरेको कामले विद्यालयमा ठूलो समस्या खडा गरेको छ ।’ परीक्षा प्रणालीबारे पनि उनको असन्तुष्टि छ । ‘निजी विद्यालयमा पढेको विद्यार्थी नेपालमै बसेर काम गर्छन् भन्ने पनि छैन, उनीहरू विदेशमा गएर पनि काम गर्न सक्छन्, नेपाली विषय नेपालीबाटै परीक्षा दिइरहेका छन् भने भयो त किन सामाजिकलाई पनि नेपालीमै गराउनुपर्छ भन्ने मान्यताले पनि धेरै बच्चाहरू बाहिरिएका छन्,’ अधिकारीले भने । निजी विद्यालय नै विदेशमुखी शिक्षाविद् डा. विष्णु कार्की भन्छन्, ‘जुन हिसाबले नेपाली विद्यार्थी नेपालमै रोक्छौं भनेर धमाधम विद्यालय खुले उहाँहरूले नेपाली विद्यार्थीलाई नेपाल पढाएर विदेशमै पठाउने उद्देश्य राखे ।’ उनका अनुसार तल्लो कक्षादेखि नै विदेश उन्मुख पाठ्यक्रम र काउन्सिलिङले विद्यार्थी विदेशतिर मोडिएका छन् । ‘निजी विद्यालयको गुणस्तरमाथि शंका होइन, उनीहरूले शुल्क पनि राम्रो लिइरहेका छन् र शिक्षा पनि राम्रो दिइरहेका छन् तर, जुन विद्यार्थीलाई बाहिरै पठाउने गरी तयार गरिन्छ यो राम्रो भएन ।’ विदा र राजनीति नै मुख्य समस्या शिक्षाविद् कोइरालाका अनुसार अत्यधिक सार्वजनिक बिदा, शिक्षामा दलगत राजनीति र अस्थिर शासन प्रणालीले अभिभावक दिक्क भएका छन् । उनी भन्छन्, ‘नेपालमा रहेका नीजी विद्यालयले अंग्रेजी पढाउनुलाई ठूलो मान्दा रहेछन्, घोकाउने भनेको असल कुराहरू भन्दा रहेछन्, मैले यो विषयमा प्याब्सन, ऐन प्याब्सन र हिसानका साथिहरूलाई पटक पटक सम्झाएँ अंग्रेजी पढाएरमात्र हुँदैन र घोक्न सिकाएर मात्र काम हुँदैन । तर सुध्रने प्रयास गरेनन् । जसका कारण अभिभावक आफ्ना छोराछोरीलाई भारत पठाउन चाहन्छन् ।’ उनका अनुसार भारतमा तुलनात्मक रूपमा शुल्क कम हुनु पनि अर्को कारण हो । सरकारसँग छैन तथ्यांक भारतमा कति नेपाली विद्यार्थी अध्ययनरत छन् भन्ने स्पष्ट तथ्यांक सरकारसँग छैन । उच्च शिक्षाका लागि ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको मात्र अभिलेख राखिन्छ, विद्यालय तहको छैन । कोइराला भन्छन्,‘चाँदबाग र राई स्कुल जस्ता विद्यालयमा त कति नेपाली छन् भन्ने तथ्य सरकारसँग हुँदैन भने भारतमा कति विद्यार्थी छन् भन्ने तथ्य राख्न पनि गाह्रो पहल नै गरेको पाइँदैन ।’ डीके ढुंगानाका अनुसार कक्षा १ देखि १२ सम्मका १० हजारभन्दा बढी विद्यार्थी भारतमा अध्ययनरत रहेको अनुमान छ। केही वर्षअघि गरिएको अध्ययनमा यो संख्या २५ हजारभन्दा बढी देखिएको थियो । ‘यो विषयमा सरकारले गर्नुपर्ने काम भनेको यो यो क्षत्रका विद्यार्थी यो यो विद्यालयमा अध्ययन गर्छन् भनेर राख्नुपर्थ्यो । यसमा स्थानीय प्रदेशदेखि संघीय सरकारले काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘केटाकेटीलाई न्यूनतम यति क्षमता हुनैपर्छ भनेर ग्यारेन्टी गर्न सकिन्छ ।’ सरकारी तथ्यांकअनुसार कक्षा ५ मा करिब १५ लाख विद्यार्थी पुग्दा कक्षा १२ सम्म आइपुग्दा संख्या झरेर करिब २ लाखमा सीमित हुन्छ । बाँकी विद्यार्थी कहाँ हराए ? यसमा राज्यको ध्यान नगएको शिक्षाविद्हरूको आरोप छ ।