सार्वजनिक संस्थानको नाफा डेढ अर्ब रुपैयाँ, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत वर्ष सार्वजनिक संस्थानहरुले डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सरकारले सार्वजनिक गरेको पहेलो किताबमा सार्वजनिक संस्थानहरुले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको हुन् । सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार २५ वटा संस्थान खुद नाफामा रहेका छन् जसको खुद नाफा ४३ अर्ब २ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी १७ संस्थान खुद नोक्सानीमा रहेका छन् जसको खुद नोक्सान ४१ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा वित्तीय क्षेत्र खुद नाफामा र अन्य ५ क्षेत्रको कार्यसम्पादन मिश्रित अवस्थामा रहेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा करिब २५ अर्ब रुपैयाँले घटेको छ । क्षेत्रगत संस्थानमध्ये व्यापारिक क्षेत्र अघिल्लो आर्थिक वर्षमा करिब ३७ करोड रुपैयाँ नोक्सानमा रहेकोमा गत आर्थिक वर्षमा करिब ३८ अर्ब रुपैयाँ नोक्सानमा रहेको छ । व्यापारिक क्षेत्रको नोक्सानीको ठूलो हिस्सा नेपाल आयल निगमको रहेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४३ करोड नोक्सानमा रहेको निगम गत आर्थिक वर्षमा करिब ३८ अर्ब नोक्सानमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र लागतअनुसारको मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमको नोक्सानी बढेको हो । त्यसैगरी, जनपोयोगी क्षेत्र अन्तर्गत नेपाल विद्युत प्राधिकरणको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भई करिब ७ अर्ब नाफा बढेको देखिन्छ भने नेपाल दूरसञ्चार कम्पनीको पनि करिब १ अर्बले नाफा बढेको छ । पछिल्लो आर्थिक वर्षमा समग्र कारोबारबाट भएको खुद नाफा (कर र लाभांश पश्चात्) तथा नोक्सान रकम अघिल्लो आर्थिक वर्षसम्मको नाफा र नोक्सान (समायोजन नगरेको)सँग मिलान गरी हुन आउने रकमलाई सार्वजनिक संस्थानको सञ्चित नाफा र नोक्सानमा देखाउने गरिएको छ । यस्तो रकम आर्थिक वर्ष २०७८/७९ सम्ममा ५२ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार रुपैयाँ, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४४० अमेरिकी डलर र प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १७५२ अमेरिकी डलर पुग्ने अनुमान छ । यस्तै, चालू आर्थिक वर्षमा प्रतिव्यक्रि कुल ग्राहस्थ उत्पादन ८.१ प्रतिशतले वृद्धि भई १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन १ लाख ६९ हजार ३८ रुपैयाँ रहेको थियो । [pdf id=413057]

२५ सार्वजनिक संस्थान नाफामा हुँदा १७ घाटामा, सरकारलाई सवा ६ अर्ब लाभांश

काठमाडौं । सरकारी स्वामित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा संस्थान नाफा रहेको बताइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै २५ वटा संस्थान नाफामा र १७ वटा संस्थान घाटामा रहेको बताएका छन् । उनले सरकारले लगानी गरेको निकायबाट सवा ६ अर्ब लाभांश प्राप्त भएको पनि बताएका छन् । उनले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि बताएका छन् । सरकारको संस्थनहरुमा असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ ।सार्वजनिक संस्थानको संचालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय सार्वजनिक संस्थान तथा बोर्डहरु खारेजी तथा मर्जरको पनि चर्चा छ । सोमबार प्रस्तुत हुने बजेटमार्फत् सो विषय उल्लेख हुने सम्भावना पनि छ । प्रशासनिक खर्च घटाउन दुई दर्जन संस्थान तथा बोर्ड मर्जर तथा खारेजीको प्रक्रियामा लैजाने तयारी गरेको बुझिएको छ ।