काठमाडौं । क्रिप्टोकरेन्सी उद्योगकै सबैभन्दा ठूलो भनिएको चोरीको घटनापछि विश्वको प्रमुख क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्सले चोरीमा संलग्न व्यक्तिहरूसँग सम्बन्धित डिजिटल सम्पत्ति रोक्का गरेको छ ।
चोरी भएको रकम ६ अर्ब ३० करोड अमेरिकी डलर अर्थात करिब ९ खर्ब ५८ अर्ब नेपाली रुपैयाँ बराबर छ ।
क्रिप्टोकरेन्सी भनेको इन्टरनेटमार्फत किनबेच तथा कारोबार गर्न सकिने डिजिटल मुद्रा हो । बाइनान्स यस्तो मुद्रा किनबेच गर्ने विश्वका ठूला प्लेटफर्ममध्ये एक हो ।
समाचार संस्था रोयटर्सका अनुसार ह्याकरहरूले बाइनान्सको सुरक्षा प्रणालीमा प्रवेश गरी ठूलो परिमाणमा क्रिप्टोकरेन्सी चोरी गरेका हुन् । अमेरिकी अनुसन्धान संस्थाहरूले यस घटनामा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन् ।
ब्लकचेनसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था टीआरएम ल्याब्स र चेनालिसिसले चोरीमा उत्तर कोरियाली ह्याकरहरू संलग्न रहेको बताएका छन् । टीआरएम ल्याब्सका अनुसार ह्याकरहरूले बाइनान्सका १० वटा ब्लकचेन नेटवर्कमा रहेका डिजिटल वालेटलाई निशाना बनाएका थिए ।
उनीहरूले करिब २० मिनेटमै चोरी भएको अधिकांश रकम अन्यत्र सारेका थिए । डिजिटल वालेट भनेको क्रिप्टोकरेन्सी राख्न र कारोबार गर्न प्रयोग हुने विद्युतीय खाता हो ।
घटनापछि बाइनान्सले अन्य साझेदार संस्थाहरूसँग मिलेर चोरी भएको रकम खोज्ने र रोक्का गर्ने काम अघि बढाएको छ । अहिलेसम्म करिब ३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति पत्ता लगाइएको छ । बाँकी ३ अर्ब ३० करोड डलरको अवस्थाबारे भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।
बाइनान्सकी सहसंस्थापक यी हेले ह्याकिङका कारण भएको सम्पूर्ण नोक्सानी कम्पनीले बेहोर्ने बताएकी छन् । कम्पनीका अनुसार ग्राहकले जम्मा गरेको रकममा असर परेको छैन । रोकिएको रकम निकाल्ने सेवा पनि आगामी ४८ घण्टाभित्र पुनः सञ्चालन गर्ने तयारी छ ।
टीआरएम ल्याब्सले यसपटकको चोरीको तरिका यसअघि उत्तर कोरियासँग जोडिएका साइबर आक्रमणसँग मिल्दोजुल्दो रहेको जनाएको छ । सन् २०२५ मा क्रिप्टोकरेन्सी कारोबार गर्ने अर्को कम्पनी बाइबिटमा भएको ह्याकिङमा पनि उत्तर कोरियाको संलग्नता रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको थियो ।
यस घटनाको असर विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा पनि परेको छ । शुक्रबार एसियाली बजारमा बिटक्वाइनको मूल्य करिब ३ प्रतिशत घटेर ७६ हजार ४६९ डलरमा झरेको थियो । यो पछिल्लो ६ साताकै न्यून मूल्य हो । त्यस्तै, इथरको मूल्य पनि ३ प्रतिशतभन्दा बढी घटेर २ हजार १८५ डलरमा पुगेको थियो ।
विश्लेषकहरूले यस घटनाले डिजिटल सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । उनीहरूका अनुसार विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्ममा यति ठूलो चोरी हुनुले लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्छ ।
यसअघि पनि क्रिप्टोकरेन्सी कारोबार गर्ने विभिन्न कम्पनीबाट ठूलो रकम चोरी भएको थियो । तर, यसपटकको ६ अर्ब ३० करोड डलर बराबरको चोरीलाई यस क्षेत्रकै अहिलेसम्मको सबैभन्दा ठूलो घटना मानिएको छ ।
इजरायलको चुनावी नतिजा र अबका चुनौती
चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन