५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगारी
काठमाडौं । करिब एक वर्षअघिको कुरा हो । गत वर्ष भदौको अन्तिम साता काठमाडौं अशान्त थियो । जेन्जी आन्दोलनको रापले देशभरका व्यवसायहरू त्रसित थिए । त्यही उत्तेजित भीडको निसानामा नेपालको व्यावसायिक सफलताको पर्यायवाची बनेको भाटभटेनी सुपरमार्केट पर्यो । जेन्जी आन्दोलनमा बौद्ध शाखा मात्र होइन, देशभरका झन्डै २० वटा शाखाहरूमा क्षति पुग्यो । १२ वटा स्टोर त हेर्दाहेर्दै खरानीको थुप्रोमा परिणत भए । अन्ततः झन्डै १० महिनापश्चात बौद्धको भाटभटेनी पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ करोड रुपैयाँको भौतिक क्षति बेहोर्यौं,’ उनी भन्छन्, ‘भवनमात्र होइन, भित्रका अर्बौंका सामानहरू पनि जलेर सखाप भए ।’ बुधबारदेखि सञ्चालनमा आएकाे बाैद्धस्थित भाटभटेनी । तर भाटभटेनी व्यवस्थापनले हार मानेन । विगतमा जे– भयो सबै बिर्सिएर अगाडि बढ्ने भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको दृढ इच्छाशक्तिले अहिले धमाधम स्टोरहरू पुनः सञ्चालनमा आउन थालेका छन् । बौद्ध शाखा पुनः सञ्चालनमा आउनु भाटभटेनीको मात्र जित नभई नेपाली व्यवसायीहरूको आत्मविश्वासको पुनः उदय पनि हो । अहिलेको नयाँ भवन पहिलेभन्दा आधुनिक, सुरक्षित र प्रविधियुक्त बनाइएको छ । ‘क्षतिपश्चात हामीले २५ प्रतिशतसम्म थप लगानी गरेर स्टोरहरूलाई अपग्रेड गरेका छौं,’ पौडेलले भने । किनमेल गर्दै सर्वसाधारण । बौद्ध शाखाको पुनःनिर्माणमा मात्रै १०० करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले जानकारी दिए । स्टोरभित्रको सामग्रीमा करिब ६० करोड रुपैयाँ र भवन पुनःनिर्माणमा थप ५०/५५ करोड रुपैयाँ खर्च भएको छ । उनका अनुसारस्टोरहरूमा नयाँ प्रविधि, आधुनिक प्रणाली र ग्राहकमैत्री सुविधाहरू थपिएका छन् । त्यसैले पुनःनिर्माण लागत क्षतिको मूल्यभन्दा २०/२५ प्रतिशत बढी पुगेको छ । कसैको रोजगारी गुमेन भाटभटेनीले देशभर १० हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ । पौडेलले कम्पनीले अब विगतलाई पछाडि छाडेर अगाडि बढ्ने बाटो रोजेको बताए । ‘हाम्रो जित भनेकै जलेका स्टोर पुनः सञ्चालनमा ल्याउनु हो । त्यही हाम्रो चेयरम्यानको निर्देशन पनि थियो,’ उनले भने, ‘राज्यलाई कर तिर्ने, रोजगारी जोगाउने र ग्राहकलाई सेवा दिने हाम्रो प्राथमिकता हो ।’ स्टोर जल्दा हजारौं रोजगारीहरूको भविष्यमाथि संकट मडारिँदा पनि भाटभटेनीले आफ्ना कर्मचारीलाई एक्लो छाडेन । १८ वर्षदेखि कम्पनीमा आबद्ध रेडिमेड विभागकी इन्चार्ज पूजा निरौला त्यो दिन सम्झिँदा अहिले पनि भावुक बन्छिन् । ‘त्यो दिन सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ । धेरै नै पीडादायी थियो,’ पूजाले गला अवरुद्ध पार्दै भनिन् । उनीजस्ता १० हजार बढी कर्मचारीका लागि कम्पनीले अभिभावकको भूमिका निभायो । स्टोरहरू बन्द हुँदा पनि कुनै पनि कर्मचारीलाई भाटभटेनीले जागिरबाट निकालेन । अन्य शाखाहरूमा व्यवस्थापन गरेर सबैलाई रोजगारीको ग्यारेन्टी गरियो । १५ वर्षदेखि कार्यरत सुपरभाइजर सरिता व्यञ्जनकार भन्छिन्, ‘कम्पनीले हामीलाई सेवा–सुविधामा कहिल्यै तलमाथि गरेन, त्यसैले हामी झन् बढी उत्साहका साथ काममा फर्किएका छौं ।’ खुसी छन् स्थानीय बौद्ध शाखा पुनः सञ्चालनमा आएपछि ग्राहकहरू उत्साहित देखिएका छन् । उद्घाटनकै दिन किनमेल गर्न पुगेका ग्राहकहरूले भाटभटेनी बन्द हुँदा दैनिक उपभोगका सामग्री किन्न असहज भएको अनुभव सुनाए । गोकर्णकी जमुना तामाङले भाटभटेनी बन्द हुँदा एउटै सामानका लागि धेरै पसल धाउनुपर्ने अवस्था आएको बताइन् । ‘हामी त खुल्ने दिन कुरेर बसेका थियौं, एउटै छानामुनि सबै सामान पाइने भएकाले निकै सजिलो हुन्छ,’ उनले भनिन् । अन्य ग्राहकहरूले पनि भाटभटेनीमा खोजेका अधिकांश सामान सहज रूपमा उपलब्ध हुने भएकाले पुनः सञ्चालनले राहत मिलेको प्रतिक्रिया दिएका छन् । नारायणटारकी मञ्जु कुमारी र बौद्धकी सुमिना तामाङको अनुभव पनि उस्तै छ । सामानको गुणस्तर र छनोटका लागि धेरै विकल्प पाइने हुनाले उनीहरू यो स्टोर खुल्ने पर्खाइमा थिए । नयाँ ब्राण्डका इलेक्ट्रोनिक आइटम, किचनवेयर र फेसनका सामग्रीहरूले स्टोर सजिएको छ । भाटभटेनीले हाल उपत्यकाका मुख्य शाखाहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । विराटनगर, बिर्तामोड र धरानका स्टोरहरू पनि दशैं अगाडि नै खुल्ने तरखरमा छन् । भाटभटेनीको यात्रा रोकिएको छैन । अहिले २७ वटा स्टोर सञ्चालनमा छन् भने आगामी वर्ष थप ४ वटा थपिनेछन् । ‘हाम्रो लक्ष्य देशको कुना–काप्चामा पुग्नु हो । पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने हाम्रो लक्ष्य छ,’ सीओओ पौडेलले भने । खरानीबाट बौरिएको भाटभटेनी नेपाली कर्पोरेट क्षेत्रका लागि एउटा बलियो उदाहरण बनेको छ ।
मार्जिन लेण्डिङका लागि भिजन सेक्युरिटिजले जुटायो १.५० अर्ब ऋण, दोस्रो ठूलो ब्रोकर
काठमाडौं । भिजन सेक्युरिटिज प्रालिले मार्जिन लेण्डिङ (मार्जिन ट्रेडिङ) सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले उक्त सेवा सञ्चालनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋणको व्यवस्था गरिसकेको जनाएको छ । कम्पनीका अध्यक्ष राजकुमार तिमल्सिनाका अनुसार मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । बैंकसँगको प्रक्रिया समयमै पूरा भए चालु आर्थिक वर्षकै असार मसान्तभित्र सेवा सुरु गरिने र केही ढिलाइ भए पनि साउनदेखि सेवा सञ्चालनमा ल्याइने उनले बताए । ‘मार्जिन लेण्डिङ सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाइरहेका छौं। यसका लागि बैंकबाट ऋण लिइसकेका छौं । सेवा सुरु भएपछि कारोबार थप बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको कार्यविधिका आधारमा कम्पनीले आफ्नै आन्तरिक कार्यविधि तयार गरिरहेको छ । ग्राहकलाई कति रकमसम्म कर्जा दिने, ब्याजदर कसरी निर्धारण गर्ने तथा जोखिम व्यवस्थापनसम्बन्धी विषय कम्पनीको आन्तरिक नीतिअनुसार तय गरिनेछ । तिमल्सिनाले बैंकबाट प्राप्त कर्जामा न्यून प्रिमियम थपेर ग्राहकलाई मार्जिन कर्जा उपलब्ध गराइने बताए । ‘ठूलो परिमाणमा कर्जा लिँदा बैंकले कम ब्याजदरमा ऋण उपलब्ध गराउँछ । त्यसमा सञ्चालन खर्च, आवश्यक जनशक्ति तथा अन्य व्यवस्थापन खर्च जोडेर न्यून प्रिमियमसहित ग्राहकलाई कर्जा प्रवाह गर्ने योजना छ,’ उनले भने । मार्जिन लेण्डिङ सेवा सञ्चालनमा आएपछि लगानीकर्ताले एउटै स्थानबाट धितोपत्र कारोबारसँगै कर्जा सुविधा पनि प्राप्त गर्नेछन् । यसले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । तिमल्सिनाका अनुसार आगामी आर्थिक वर्षमा कम्पनीको ऋणभार केही बढ्ने भए पनि मार्जिन कारोबारबाट ब्याज आम्दानी थपिने भएकाले व्यवसायको आम्दानी आधार अझ विविध र सुदृढ बन्ने अपेक्षा गरिएको छ । हाल कम्पनीको कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर कमिसनबाट आउँछ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवाबाट प्राप्त हुने शुल्कलगायत अन्य स्रोतबाट हुने गरेको छ । १४० प्रतिशत बढ्यो आम्दानी भिजन सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४०.२२ प्रतिशत अर्थात् २४ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सेयर बजारमा कारोबार बढेसँगै सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर शुल्क वृद्धि भएकाले आम्दानी पनि बढेको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीको कुल कारोबार रकम १६७ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पुगेको थियो । गत वर्ष आम्दानी बढेसँगै खुद नाफा २२ करोड १० लाख रुपैयाँ आर्जन गरेको जनाएको छ कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । साथै यस अवधिमा कुल कारोबार रकम ९२ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ । दोस्रो ठूलो ब्रोकर बन्न सफल वि.सं २०६४ पुस स्थापना भएको भिजन सेक्युरिटिजको मुख्य व्यवसाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लगानीकर्तालाई सेयर खरि-बिक्री सेवा उपलब्ध गराउने र सोबाट कमिसन आम्दानी गर्ने हो । साथै नेप्सेको ट्रेडिङ सदस्य तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निक्षेप सदस्यका रूपमा समेत कार्यरत छ । कम्पनीले हाल देशभर १२ वटा शाखा मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीको नेतृत्व अध्यक्ष तिमल्सिनाले गरिरहेका छन् । उनीसँग एलएलबी र एमबीएस शैक्षिक योग्यता रहेको छ । उनी आरएमडीसी लघुवित्त वित्तीय संस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका पूर्वसञ्चालकसमेत हुन् । साथै उनी नेपाल इन्भेस्टमेन्ट फोरमका पूर्वअध्यक्ष पनि हुन् । त्यसैगरी कम्पनीका सञ्चालक कुशल न्यौपानेसँग वित्तीय तथा पुँजीबजार क्षेत्रमा एक दशक बढीको अनुभव रहेको छ । गत वर्ष ९२ वटा धितोपत्र दलाल (ब्रोकर)कम्पनीमध्ये भिजन सेक्युरिटिज तेस्रो स्थानमा थियो । चालु आर्थिक वर्षको १० महिनामा कम्पनीले आफ्नो स्थान सुधार गर्दै दोस्रो स्थान हासिल गरेको दाबी गरेको छ । यद्यपि कम्पनीको बजार हिस्सा गत वर्ष ३.७३ प्रतिशत रहेकोमा चालु आवको १० महिनामा घटेर ३.४८ प्रतिशतमा झरेको छ । कम्पनीका अनुसार सक्रिय ग्राहक संख्या झण्डै १ लाख ३८ हजार पुगेका छन् । जसमा खुद्रा (रिटेल) र संस्थागत दुवै प्रकारका लगानीकर्ता रहेका छन् । चालु आवको ९ महिनासम्म कम्पनीको खुद सम्पत्ति ५४ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल दायित्व (गैर-नगद सुविधासहित) ३९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
डिजिटल कारोबारसँगै मौलायो वित्तीय अपराध
काठमाडौं । घटना– १ एक साताअघि फेसबुक चलाइरहेका बेला सुवर्ण यादवको मेसेन्जरमा सुमित मण्डलको नामबाट मेसेज आयो, ‘विमानस्थलको अध्यागमन विभागमा मलाई रोकिएको छ । मलाई अप्ठयारो पर्यो । ५० हजार रुपैयाँ तुरुन्तै चाहियो,’ उनको मेसेजमा लेखिएको थियो । सुवर्णले आफूसँग पैसा नभएको बताए । केही समयलगत्तै पुनः सुमितले ‘२० हजार पठाइदिएको छु तर मलाई ५० हजार पठाएमात्र निकाल्न मिल्छ’ भन्दै मेसेज गरे । तिनले सुवर्णलाई ह्वाट्सएपमा क्युआरकोडसमेत पठाए । उनको मेसेजले सुवर्ण लोभिए । उनलाई कृषि विकास बैंकको क्युआर ह्वाट्सएपमा आयो । सुवर्ण हौसिए र आफू काम गर्ने अफिसको प्रमुखसँग मागेर ५० हजार पठाए । पटक–पटक गरेर उनले १ लाख ५० हजारजति पठाए । केही क्षणमै अध्यागमन विभागमा भएको दावी गर्ने ती व्यक्तिले उनलाई मेसेन्जरमा ब्लक गरिदिन्छन् । त्यसपछि बल्ल सुवर्णले आफू ठगिएको थाहा पाए । घटना– २ कपिलवस्तुबाट प्लस टु अध्ययन गर्न सीता मगर काठमाडौं आइन् । केही दिन आफन्तकोमा बसिसकेपछि उनले बिस्तारै कोठा खोजेर बस्ने योजना बनाइन् । उनी पनि सामाजिक सञ्जालमा चलाइरहन्थिन् । फेसबुकमा कोठा खोजिदिने विज्ञापन उनले देखिन् । कोठा आवश्यक परे म्यासेज र कल गर्नु भनेर आकर्षक विज्ञापन देखिन् । सीतालाई एउटा कोठा चाहिएको थियो । उनले आफ्नो आवश्यकताअनुसार कोठा विज्ञापनमा देखिन् अनि उनले तुरुन्तै विज्ञापनमा देखिएको नम्बरमा फोन गरिन् । कुराकानीकै सिलसिलामा उनले कोठा खोज्नुभन्दा अगाडि एडभान्स पैसा हाल्नुपर्ने शर्त थाहा पाइन् । कोठा खोजिदिने अफिसले पनि उनलाई अगाडि सेवा शुल्कस्वरूप ५ हजार हाल्दिनुपर्ने बताइन् । सीताले पैसा दिएको एक सातामा कोठामा पाउने शर्तमा पैसा दिइन् । पैसा दिएको केही दिनसम्म ती व्यक्ति निरन्तर उनको सम्पर्कमा थिए । कोठा खोजिदिने र खोजिरहेको मात्र जवाफ पाउने गर्थिन् उनी । दुई सातासम्म कोठा खोजिरहेको मात्र जवाफ पाएपछि सीताको मनमा चिसो पस्यो । केही दिनपछि उनले पुनः सम्पर्क गर्न खोज्दा फोन अफ थियो । कोठा खोजिदिने मानिसले उनलाई ह्वाट्सएप र फेसबुकमा ब्लक गरिसकेका थिए । सीताले सबैतिरबाट ब्लक भएको पाएपछि आफू ठगिएको थाहा पाइन् । न उनले कोठा पाइन् न त पैसा । त्यसपछि उनी उजुरीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगिन् । घटना– ३ केही महिनाअघि बिदा मनाउन चन्द्र श्रेष्ठ नेपाल आए । बिदा सकिएपछि उनलाई फेरि कतार जानु थियो । उनी पहिलो बिदामा नेपाल आउँदा कम्पनीले नै टिकट उपलब्ध गराएको थियो । पुनः कतार जानुपर्ने हुनाले उनले काठमाडौंकै ट्राभल्समा अनलाइनबाट सम्पर्क गरे। 'ब्लु स्काइ' ट्राभलको नामले प्रहरीकोमा उजुरी परेको छ । चन्द्रले सामाजिक सञ्जालबाट ट्राभल्ससँग सम्पर्क गरेका हुन् । उनले सबैथोक अनलाइनबाट हुने भएकाले पनि ट्राभल्सको अफिस धाइरहनु पर्ने झन्झट बेहोर्न चाहेनन् । ट्राभल्सको फेसबुक पेजमा सम्पर्क गर्दै उनले मेसेज गरे, ‘कतार जानका लागि टिकट काट्न पाइन्छ ?’ । ट्राभल्सको पेजबाट पनि अगाडि टिकट बुक गर्न पैसा लाग्ने जवाफ पाए । उनले पनि पैसा पठाइदिने बताए । मेसेन्जरमा उनले कुमारी बैंकको क्युआर पाएलगत्तै उनले पैसा पठाए । श्रेष्ठले पैसा पठाए पनि टिकटको कन्फर्मेसन भने पाएनन् । टिकट बुक गर्न पैसा हालेको त्यसको न रिसिभ पाए न बुक भएको मेसेज नै पाए । उनलाई ट्राभल कम्पनीको पेजबाट केही मिनेटमै फेसबुकबाट ब्लक गरियो । त्यसपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । लगत्तै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । प्रविधिले वित्तीय क्षेत्रमा सहजता बढाएको छ । सहजता र सुविधासँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढाएको छ । प्रयोगकर्ताहरू दिनहुँ डिजिटल ठगीको सिकार भइरहेका छन् । मानिसहरूलाई भुक्तानी गर्न टाढा–टाढा जानुपर्ने झन्झटबाट मुक्त भएका छन् । यसले गर्दा मानिसको समय बचत र प्रविधिको प्रयोगले सहजतासमेत थपेको छ । नेपालमा विद्युतीय भुक्तानी सेवा स्थापित भइसकेको छ । डिजिटल कारोबार लोकप्रिय बन्दै गएको देखिन्छ । जति–जति प्रविधिको विकास उत्ति नै वित्तीय अपराधको जोखिम पनि बढेर गएको छ । पछिल्लो समय मानिसहरूले उपहार परेको, कोठा खोजिदिने, बैंकबाट बोलेको तथा अनलाइनस सपिङ् गर्नका भनेर ठगीको धन्दा बढिरहेका छन् । प्रविधिको विकास भए पनि वित्तीय साक्षरता नबढ्दा मानिसहरू आर्थिक कारोबारमा फस्न थालेका हुन् । सोसल मिडिया ह्याक तथा फेक आइडी, बैंक तथा वालेट अफिसबाट बोलेको, बैंक तथा वालेट ह्याक गरेर ओटीपी, लट्री तथा पार्सल पठाएको, वैदेशिक रोजगारको प्रलोभन, भिडियो सेयरिङ ब्लाक मेलिङ, अनलाइन जब, अनलाइन टिकेटिङ, मास्टर कार्ड गेमिङ, अनलाइन मार्केटिङ तथा अनलाइन सपिङ र अनलाइन ट्युसन जस्ता कार्यमा ठगी गर्ने बढेका छन् । यी सबै ठगीमा पैसाको कारोबार हुने गरेको छ । कुनै न कुनै हिसाबले मानिसहरू ठगिने गरेका छन् । ठूला–ठूला रकम बैंक खातामा र सानामा क्युआर साइबर ब्यूरोका अनुसार विभिन्न शीर्षकमा ठगी भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ६४२ वटा वित्तीय ठगीको उजुरी परेको थियो । ३ हजार बढी क्युआरबाट ठगीमा परेका उजुरीकर्ताहरू छन् । ब्यूरोले थोरै–थोरै रकम क्युआरबाट कारोबार हुने गरेको खुलेको बताउँछ । अधिकांश वित्तीय ठगीको उजुरीमा बैंक खातादेखि क्युआर पठाएर ठगी हुने गरेको ब्यूरोका प्रवक्ता दिलिप गिरी बताउँछन् । उनका अनुसार ठूला–ठूला रकम ठगिनेमा खातामा उजुरीकर्ताले बैंक खाता पठाउने गरेको खुलेको छ । साना कारोबारमा भने विभिन्न बैंक तथा अन्य क्युआर कम्पनीका क्युआर स्क्यान पठाएर ठगी गर्नेहरूको संख्या बढेको छ । प्रवक्ता गिरीका अनुसार वित्तीय साक्षरता हुँदाहुँदै पनि शिक्षित पुरुष तथा गृहिणीहरू डिजिटल कारोबारीको ठगीमा पर्ने गरेका छन् । नेपालीहरूमा अझै पनि वित्तीय साक्षरता भइनसकेको उनले जानकराी दिए । ‘सित्तैमा कसैले पैसा र उपहार दिँदैनन् । तर मानिसहरू अनाहकमा सामाजिक सञ्जालको आकर्षक विज्ञापन देखेर ठगीमा पर्ने गरेको छन्,’ प्रवक्ता गिरीले भने । ठगीमा पर्ने महिला धेरै फेसबुकमा अपरिचित कम्पनी र व्यक्तिले गरेका विज्ञापनबाट ठगिनेको संख्या बढिरहको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले जानकारी दिए । विज्ञापनको रोजगार, पार्सल आएको र सामान खरिद गरेर ठगीमा परेको भन्दै उजुरी दिनेको संख्या बढिरहेको उनको भनाइ छ । ‘दैनिक ५० जनाको हाराहारीमा निवेदन लिएर आउने गरेका छन्,’ ती अनुसन्धान अधिकृतले विकासन्युजसँग भने, ‘अनलाइन स्क्याममा परेका भन्दै पीडितहरू आउँछन् । तर उनीहरूले क्युआरबाट पैसा पठाउने गरेका छन् ।’ उनका अनुसार ५ हजारदेखि २ लाखसम्म ठगीमा परेको भन्दै उजुरी लिएर आउने गरेका छन् । उनले अधिकांश पीडितहरू २० देखि ३५ वर्ष उमेर समूहका मानिसहरू रहेको जानकारी दिए । पुरूषभन्दा बढी महिलाहरू अनलाइनका विभिन्न प्लेटफर्मको स्क्याममा पीडित बनेका छन् । २ हजार उजुरीमध्ये १८ सय क्युआरबाट पैसा पठाएर ठगीमा पर्ने गरेको ती अधिकृतले बताए । ग्राहकले कारोबारको निरीक्षण गर्नुपर्ने ग्राहकले बेला–बेलामा कस्तो कारोबार भइरहेको भनेर हेर्नुपर्ने फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा बताउँछन् । गलत बाटोबाट वा सही तरिकाले पैसा आएको हो होइन, त्यसलाई पहिचान गरेमा पनि कानुनको फन्दामा नपरिने उनको बुझाइ छ । ‘ह्याक गरेर पैसा लानेले पनि अन्तिममा एउटै खातामा लैजाने गरेका छन्,’ सापकोटाले भने, ‘बैंक तथा ग्राहकले सुरुमा थाहा पाउन सकेमा त्यस्तो ठगीबाट बच्न सकिन्छ ।’ सीईओ सापकोटाका अनुसार ह्वाटस्एप नम्बर अरूले थाहा पाएर ह्याक हुने सम्भावना बढी हुन्छ । ग्राहकले कसरी पैसा आएको र किन आएको छ भनेर पत्ता लगाउन सकेमा यस्तो अवस्था सिर्जना नहुने बताउँछन् । असामाजिक प्रवृत्ति भएकाले गर्छन् सोसल मिडियामा अपराध डिजिटाइलेजसनको माध्यमबाट हुने अपराध फरक विशेषता भएका मानिसले मात्र गर्न सक्ने मानसिक अस्पताल पाटनका डा. अनन्त अधिकारीले जानकारी दिए । असामाजिक प्रवृत्ति भएका मानिसहरू अपराधिक गतिविधिमा सहभागी हुने गरेको उनको ठम्याइ छ । ‘मानव मनोविज्ञानको एउटा मुख्य शत्रु भनेको अपराध गर्न तयार रहनु हो । प्रविधिको विकाससँगै मानिसहरूले यसलाई अपराधीकरणको साधन बनाएका छन्,’ डा. अधिकारी भन्छन्, ‘पुरानो समयमा भौतिक रुपमा लुट्ने, चोर्ने र हत्या गर्थे । अहिले भने समयको विकाससँगै प्रविधिको विकासले अपराध गर्ने माध्यम फेरियो । मानिसहरूले डिजिटिल माध्यमलाई अपराध गर्ने स्थान बनाएका छन् ।’ डा. अधिकारीले भौतिक संसारमा जस्तो घटना हुन्थ्यो भर्चुअल माध्यममा त्यस्तै घटना दोहोरिन थालेको बताए । खराब मनोवृत्ति भएकाले गलत कर्ममा लाग्ने गरेको उनको भनाइ छ । आपराधिक मनोवृत्ति भएका मानिसहरूले सोसल मिडियामा पूर्णरुपमा अध्ययन गरेर मात्र विज्ञापन गर्ने डा. अधिकारीको बुझाइ छ । उनीहरूले सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको माध्यम ठानेर अपराध कर्म गर्ने गरेको उनले बताए ।