दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुनरागमन, फर्कायो ताज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको बैंकिङ समूहमा सेयर मूल्यका आधारमा फेरि नम्बर वान बनेको छ । नबिल बैंकको सेयर मूल्यलाई पछि पार्दै एक दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नम्बर वान बनेको हो । कुनै बेला स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको ‘हटकेक’का रूपमा लिइन्थ्यो । कुनैबेला दोस्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी स्टयाण्डर्ड चार्टर्ड बैंक नै थियो । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले विभिन्न गतिविधि सामना गर्दा प्रत्यक्ष प्रभाव सेयर मूल्यमा पर्‍यो । बैंकहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब हुँदा बैंकिङ समूहको सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकमा स्ट्याण्डर्ड चार्टर्ड थियो । तर, राष्ट्र बैंकले बैंकहरूको चुक्ता पुँजी न्यूनतम ८ अर्ब पुर्याउन निर्देशन दिएपछि भने विस्तारै बैंकको सेयर मूल्य ओरालो लाग्याे । सो व्यवस्था गरेपछि बैंकका विदेशी लगानीकर्ताले नेपाल छोड्ने चेतावनीसमेत दिएका थिए । तर, नेपाल राष्ट्र बैंकले एफपीओ जारी गरेर पुँजी पुर्याउन सुझाएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको थियो । तत्कालीन समयमा बैंकले प्रतिकित्ता १ हजार २९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता सेयर एफपीओ जारी गरेर पुँजी वृद्धि गरेको देखिन्छ । बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले नबिललाई पछि पारेसँगै एक दशपछि पुनः वाणिज्य बैंकहरूमा सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकका रुपमा पहिलो नम्बरमा उक्लिएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता २.६२ प्रतिशत अर्थात् १४.१० रुपैयाँले घटेर ५२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेकाे तथ्यांकमा उल्लेख छ । बिहीबार बैंकको सेयर २३ हजार ६५५ कित्ता सेयर १९३ पटक खरिदबिक्री हुँदा १ करोड २३ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । थोरै शाखा कार्यालयमार्फत् उल्लेख्य नाफा कमाइरहेको यस बैंकको पुँजी पनि अन्य बैंकको भन्दा कम छ । कम पुँजीमा पनि उल्लेख्य व्यवसाय गरेर उच्च लाभांश वितरण गरिरहेकाले बैंक लगानीकर्ताको रोजाइमा पर्न थालेको छ । गत वर्षको नाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । केही वर्षअघि वाणिज्य बैंकहरूमा सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको ताज नबिल बैंकले खोसेको थियो । तर, आज त्यही ताज खोस्दै स्टयाण्डर्ड चार्टर्ड बैंक पहिलो बनेको हो । सेयरधनीहरूले ३६औं वार्षिक साधारणसभामा बोल्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सञ्चालक समिति र व्यवस्थापन समूहलाई आग्रह गरेका थिए । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका थिए । नभन्दै एकवर्ष पछि सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको रुपमा उक्लिएको हो । नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८.२० प्रतिशत अर्थात् ४६ रुपैयाँ घटेर ५१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज बैंकको सेयर प्रतिकित्ता ५६१ रुपैयाँमा कारोबार खुलेको थियो । बैंकको २ लाख ५४ हजार ९७९ कित्ता सेयर २ हजार ८४३ पटक खरिद बिक्री हुँदा १३ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नम्बर वान पुगेर तेस्रो स्थानमा झरेको एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता १.२० प्रतिशत बढेर ५०४ रुपैयाँ रहेको छ । बैंकले वितरण गरेको २९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएपछि नम्बर वानबाट झरेको थियो ।

दाजुभाइको दोस्ती, सरकारको तक्मा

काठमाडौं । बिहीबार सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै १६ वटा व्यक्ति तथा संस्थालाई सम्मान गर्‍यो। सम्मानित हुनेमा ढकाल दाजुभाइ पनि परे । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आइएमई बैंकलाई सम्मानित गर्यो भने रेमिट्यान्स क्षेत्रतर्फ बढी कर तिरेको भन्दै आईएमई रेमिटलाई सम्मान गर्‍यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको नेतृत्व गरिरहेका छन् भने नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकाल आइएमई रेमिटका सञ्चालक तथा को-फाउण्डर हुन् । उनीहरू दुवै दाजुभाइले सँगै सम्मान थापेका छन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल दाजुभाइ हुन् । नेपाली उद्योग व्यवसायी क्षेत्रमा एउटा नयाँ उदाहरण बनेका ढकाल दाजुभाइले सरकारलाई उच्च कर तिरेर नयाँ उदाहरण पस्केका छन् । सम्भवतः बढी कर तिरेर सरकारबाट सँगै सम्मानित हुने दाजुभाइमा ढकाल दाजुभाइ नै पहिलो हुनुपर्छ । व्यावसायिक जीवनमा एकपछि अर्को सफलता हासिल गरिरहेको ढकाल दाजुभाइले आइएमई ग्रुपमार्फत् व्यवसाय विस्तार गरिरहेको छ । एउटा सामान्य किसानको छोराबाट सुरु भएको ढकाल दाजुभाइको व्यवसाय अहिले देशभर फैलिएको छ । दुवै दाजुभाइ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत आधा दर्जनभन्दा बढी कम्पनीको संस्थापक छन् भने अन्य धेरै कम्पनीहरूमा उनीहरूको लगानी छ । बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल दाजुभाइको व्यवसायिक सुरुवात भने वि.स २०४८ सालबाट भएको हो । अध्यक्ष ढकालले वि.स २०४८ सालमा कोल्ड स्टोर स्थापना गरेपछि उनको परिवारको व्यवसाय सुरु भयो । उनले त्यसपछि कार्गो व्यवसायमा हात हाले । चन्द्र ढकालभन्दा उमेरले १० वर्ष कान्छा हेमराज उनका व्यवसायका सारथी हुन् । ‘सानैदेखि सँगै काम गर्याैं, धेरै मिहिनेत गर्‍यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टिमले गर्छ,’ ढकालले यसअघि विकासन्युजसँग भनेका थिए, ‘मेरो सफलतामा मेरो टिमको भूमिका महत्वपूर्ण छ ।’ ढकाल दाजुभाइ अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनीहरूले रेमिट्यान्स, बैंक, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी गर्‍यो, त्यसमा उनीहरू सफल बनिरहेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैंक, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी छ । यी कम्पनीहरूको संस्थापक नै ढकाल दाजुभाइ हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा.लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आइएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता छ । अन्य धेरै कम्पनीमा आइएमई ग्रुपको लगानी छ । यी कम्पनीहरूमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरूको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । जसको नेतृत्व हेमराज ढकालले गरिरहेका छन् । ढकाल दाजुभाइलाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । यस्तै, अहिले आइएमई ग्रुपले पेपर उत्पादनमा पनि हात हालेको छ । व्यावसायिक जीवनमा सफल भएसँगै ढकाल दाजुभाइ व्यवसायीहरूको छाता संस्थाको नेताको पनि अग्रपंत्तिमा छन् । दाजु चन्द्र हाल महासंघको नेतृत्व गरिरहेका छन् भने भाइ हेमराज नेपाल उद्योग परिसंघको नेतृत्वको लाइनमा छन् । आइएमई ग्रुपले सुरु गरेको व्यवसायले त्यो क्षेत्रकै नेतृत्व गरिरहेको छ । बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले नेतृत्व गरिरहेको छ । ग्लोबल आइएमईले हाल सबैभन्दा ठूलो बैंकको परिचय बनाएको छ भने रेमिट क्षेत्रमा आइएमई रेमिट विश्वासिलो रेमिट्यान्स कम्पनीको रूपमा उदाएको छ । पर्यटनतर्फ चन्द्रागिरि हिल्स प्रख्यात छ । व्यवसायमा पारदर्शिता मन पराउने ढकाल अहिले अर्बपतिको लाइनमा रहेको बुझाइ धेरैको छ ।

विजयको विजययात्रा, लाखबाट अर्बपति

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । उनी केही वर्षदेखि निरन्तर सबैभन्दा बढी कर बुझाउने व्यक्तितर्फको सूचीमा पर्दै आएका छन् । बिहीबार आयोजित कार्यक्रमामा अर्थमन्त्री डा. प्रकाशशरण महतले शाहलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरे । व्यक्तिगततर्फ सर्वाधिक कर तिरेर पहिलो पटक बैंकर्स पृथ्वीबहादुर पाँडे सरकारबाट सम्मानित भएका थिए । त्यसपछि धेरै वर्षसम्म व्यवसायी सिद्धार्थ समशेर जवरा सम्मानित भए । सर्वाधिक आयकर तिरेर शाहले तेस्रोपटक सरकारबाट सम्मानित हुने अवसर पाएका छन् । यसअघि एकपटक उनकै छोरी जया शाह पनि व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रूपमा सम्मानित भएकी थिइन् । लाखबाट अर्बपति शाह सन् १९४८ मा नेपालगन्जमा जन्मिएका थिए । नेपालगन्जमा जन्मिए पनि ललितपुर जावलाखेल शाहको पुर्ख्यौली घर हो । उनको परिवारले सन् १९५० को दशकमै परम्परागत तरिकाले स्थानीय मदिरा उत्पादन गरी बिक्री गर्दै आएको थियो । जब १९६९ मा शाह अमेरिकाबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किए, उनले मदिरा उत्पादनमा आधुनिक प्रविधि प्रयोग गरेर व्यापार गर्नुपर्छ भन्ने सोचलाई मूर्तरूप दिए । उनले आधुनिक प्रविधियुक्त नयाँ डिष्टिलरी खोल्न आफ्ना बुबा रामनारायण शाहसँग ३० लाख रुपैयाँ जुटाइदिन आग्रह गरे । उनका बुबाले छोराको आग्रह स्वीकार्दै रकम जोहो गरिदिए । त्यही बीउ पुँजी र २० जना कामदारबाट सन् १९७० मा सुरु भएको जावलाखेल डिष्टिलरी आज अर्बौं मूल्यको भएको छ भने हजारौंले काम पाएका छन् । साथै, २२ वर्षको उमेरमा सुरु गरेको उनको कम्पनीले ५ दशक व्यावसायिक जगतमा पृथक पदचाप सिर्जना गरेको छ । जावलाखेल डिष्टिलरी नेपाली निजी लगानीमा सुरु भएको पहिलो डिष्टिलरी हो । त्यसबेला उनको कम्पनीले ह्विस्की र रम उत्पादन गथ्र्यो । सन् १९७३ मा जावलाखेल डिष्टिलरीले नेपालमै पहिलोपटक भोड्का उत्पादन सुरु गरेको थियो, जसको नाम हो- रुस्लान भोड्का । जुन आज पनि मदिरा पारखीको रोजाइमा पर्ने गर्छ । शाह यो क्षेत्र प्रवेश गर्नुअघि भैरहवामा बेलायतको चर्चित कम्पनी स्नोल्याण्डको लगानीमा भैरहवा डिष्टिलरी सञ्चालनमा थियो । त्यसले जिन, ह्विस्की र रम उत्पादन गरिरहेको थियो । त्यसबेला काठमाडौंमा तीन वटा डिष्टिलरी थिए । मदिरा बजारको आकार पनि सानो थियो । अहिले दर्जनौ ठूलो मदिरा उद्योग छन् । त्यसमा पनि जावलाखेल डिष्टिलरीका उत्पादनले कुल बजारको सबैभन्दा ठूलो हिस्सा लिएको छ । ‘जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज’ बढी कर तिर्ने संस्थाका रूपमा मात्रै नभई नेपालको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल संस्था हो । र, यस संस्थाका संस्थापक ७५ वर्षीय शाह अहिले पनि मदिराको क्षेत्रमा थप राम्रो कसरी गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानमा जुटिरहेका हुन्छन् । उनलाई छोरा राजबहादुर शाहले साथ दिएका छन् । प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापकीय नेतृत्व लिएपछि कम्पनीको नाफा उच्च त भएको छ नै कम्पनीका संस्थापक विजय शाहलाई उच्च करदाता अवार्डको विजयी यात्राले पनि निरन्तरता पाएको छ । मदिरा आधुनिकरणको जग सन् १९५० को दशकअघि देशमा डिस्टिल गरी उत्पादित मदिरा सिलप्याक गरेर बेच्ने उद्योग थिएनन् । त्यसबेला नेपालमा मदिरा कारोबार ठेक्का प्रणालीमार्फत हुन्थ्यो । सरकारले तराई र सहरी क्षेत्रमा पाँच वर्षका लागि बोलकबोल गरी मदिराको ठेक्का लगाउँथ्यो । पहाडमा मदिराको ठेक्का सकार्ने कोही हुन्थेन । क्षेत्र तोकेर मदिराको ठेक्का आह्वान गरिन्थ्यो । बडाहाकिमसमक्ष डाक बडाबड हुन्थ्यो । बोलकबोलका क्रममा बडाहाकिमले जसको बोलीपछि टेबुल ठटाउँथे, ठेक्का उसैले पाउँथ्यो । नगदै धरौटी राखेर ठेक्का पाएको क्षेत्रमा ठेकेदारले मदिरा उत्पादन गरी बिक्री वितरण गर्थे । पुर्ख्यौली पेसा, भट्टीलाई डिष्टिलरीमा रूपान्तरण गर्न तथा राजामहाराजाले चलाएको देशमा निजी लगानीमा त्यसरी संस्था चलाउने साहस आफूले गरेको शाहले बताएका छन् । हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गत हिमालयन डिष्टिलरी, एसियन डिष्टिलरी, विजय डिष्टिलरी, रोलिङ रिभर डिष्टिलरीलगायत करिब दर्जन कम्पनी सञ्चालनमा छन् । ती कम्पनीमार्फत रुस्लान भोड्का, रोयल स्ट्याग ह्विस्की, ब्लु डाइमण्ड जिन, गोल्डेन ओक ह्विस्कीलगायत १८ किसिमका मदिरा उत्पादन भइरहेका छन् । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रवद्र्धन गरेको हिमालयन डिष्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत पनि छ ।