काठमाडौं । चीनसँगको व्यापारिक आवागमन डेढ महिनादेखि ठप्प रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ । दशैंंका बेला बजारमा वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले सरकारले कात्तिक १ देखि ३ गतेसम्म नाका अस्थायी रूपमा सञ्चालन गर्न लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको निरन्तनरको प्रयासपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको मन्त्रालयले जनाएको छ । खुला रहने अवधिमा यात्रुवाहक सवारीसाधनलाई नभई मालवाहक कार्गो ट्रकलाई मात्र आवतजावत गर्न दिइनेछ ।
चाडपर्वका बेला आवश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजता ल्याउन नाका सञ्चालन गर्न लागिएको मन्त्रालयको भनाइ छ । नेपाल–चीन व्यापारको महत्त्वपूर्ण मार्ग मानिने तातोपानी नाका लामो समय बन्द रहँदा आयातकर्ताले सामान भित्र्याउन समस्या भोग्दै आएका थिए ।
यसअघि भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकासँगको सम्पर्क अवरुद्ध बनाएको थियो । त्यसको केही दिनपछि भदौ १४ गतेदेखि चीनले तातोपानी नाका पनि बन्द गरेपछि नेपाल–चीन सीमापार व्यापार थप प्रभावित भएको थियो । प्राकृतिक विपत्ति र नाका बन्द हुँदा चाडपर्वका लागि चीनबाट आयात गरिने सामग्रीको आपूर्तिमा समेत अवरोध पुगेको हो ।
नेपाली पक्षले गरेको आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरेपछि सीमित अवधिका लागि नाका खोल्ने सहमति जुटेको हो । तीन दिन सञ्चालन हुँदा व्यवसायीलाई रोकिएको व्यापारिक गतिविधि अघि बढाउन र आवश्यक सामान आयात गर्न केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
तर, छोटो अवधिका लागि नाका खुल्दा बजारमा देखिएको आपूर्ति समस्या कति समाधान हुन्छ भन्ने विषय आयात हुने सामानको परिमाण र ढुवानीको गतिमा निर्भर रहनेछ ।
दशैंको सामान बाटोमै रोकिँदा असर
यस वर्ष बाढी र नाका बन्दका कारण चीनबाट दशैंलाई लक्षित गरी ल्याइएका सामग्री समयमै नेपाल भित्रिन सकेनन् । रसुवागढी क्षेत्रमा आएको बाढीले दशैंंका लागि ल्याइएका तीन सयदेखि चार सय कन्टेनर बगाएको र केही सवारीचालक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो ।
नेपालमा दशैंका बेला चीनबाट ठूलो परिमाणमा लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तु आयात हुने गर्छन् । रसुवागढी र तातोपानी दुवै नाकाबाट हुने आपूर्ति प्रभावित भएपछि आयातकर्ताले सामान भित्र्याउन कठिनाइ भोग्नुपरेको छ ।
सामानको ढुवानी अवरुद्ध हुँदा बजारमा केही वस्तुको उपलब्धता घट्नुका साथै मूल्यसमेत बढेको व्यवसायीको भनाइ छ । चाडपर्वमा माग बढ्ने तर आपूर्ति नियमित नहुने अवस्थाले उपभोक्ताको खर्चमा थप दबाब पर्ने जोखिम छ ।
तातोपानी नाका तीन दिनका लागि खुल्ने निर्णयले तत्कालीन व्यापारिक अवरोध केही कम गर्न सक्ने भए पनि चीनसँगको व्यापार नियमित बनाउन दीर्घकालीन व्यवस्था आवश्यक देखिएको छ । बाढीपहिरोबाट प्रभावित सीमावर्ती पूर्वाधारको पुनःस्थापना र दुवै देशबीचको समन्वय प्रभावकारी नबनाए आयात–निर्यातमा यस्तै समस्या दोहोरिन सक्नेछ ।