…त्यसपछि बने गोल्ड मेडल पाएकै विषयको विभागीय प्रमुख
काठमाडौं । जब कक्षा ५ मा उनी जिल्ला टपर भए, १०५ रुपैयाँ पुरस्कार पाए । यो पुरस्कारले उनको जीवनमा ठूलो प्रभाव पार्यो । त्यसपछि उनले अझ बुझेर पढ्न थाले । उनी जहिले कक्षामा प्रथम हुन्थे । उनको प्रथम हुने क्रम कहिल्यै रोकिएन । पाँच कक्षामा जिल्ला टप गरेका उनी वि.सं. २०६८ सालमा स्नातकोत्तर तहमा द्वन्द्व, शान्ति र विकास विषयमा पनि टप गरे । र, भए त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिस्ट । अहिले उनी त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको प्रमुखकारूपमा काम गरिरहेका छन् । उनी अर्थात् पीताम्बर भण्डारी । उनको घर तनहुँ हो । उनले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढे । ४ कक्षा पढ्दा एबीसीडी लेख्न सुरु गरे । सरकारी विद्यालयमा त उनलाई गाह्रो परेन । जब उनी सदरमुकाम बसेर निजी विद्यालयमा पढ्न थाले त्यसपछि उनलाई समस्या भयो । पहिलो दिन विद्यालय जाँदा उनलाई साथीहरुले अंग्रेजीमा सोधे, उनलाई बुझ्नै गाह्रो हुन्थ्यो । ती दिनहरू स्मरण गर्दै पीताम्बरले भने, ‘एबीसीडी लेख्न नजान्ने मान्छे कहाँ बोल्न सक्थें, साथीहरूले जेभन्दा पनि म टाउकोमात्र हल्लाएर जवाफ दिन्थें ।’ पीताम्बरले ५ कक्षादेखि १० कक्षासम्म दमौलीमा रहेको कन्काइ आवासीय माविमा पढे । सोही स्कुलबाट उनले एसएलसी (हालको एसईई) दिए । एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याए । एसएलसी पास गरिसकेपछि पीताम्बरको यात्रा काठमाडौंतर्फ लाग्यो । काठमाडौं आएर नेपाल साइन्स क्याम्पसमा विज्ञान पढ्न सुरु गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजबाट बीएस्सी सके । आइएस्सी साइन्स क्याम्पस, बीएस्सी त्रिचन्द्र कलेजबाट गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषय लिएर पढे । अन्ततः उनी २०६८ सालमा द्वन्द्व, शान्ति र विकास विषयबाट गोल्ड मेडल हात पार्न सफल भए । डाक्टर बन्न दबाब पीताम्बरका तीन जना दाजुभाइ र एक दिदी छन् । उनीहरू सबै पढेलेखेका छन् । उनका बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान थियो । बुबा आफैं पनि भारतको बनारसमा पढेर गाउँमै शिक्षण पेशामा आवद्ध थिए । ‘बुबा जहिले बिहानै उठ्नुहुन्थ्यो, मैले बुबालाई देखेर नै पढ्नुपर्छ भन्ने लागेको हो, बुबाले पनि हामीलाई पढ्नुपर्छ भन्नुहुन्थ्यो, त्यही भएर पनि हुनुपर्छ हामी सबै भाइबहिनी पढाइमा ध्यान दिन्थ्यौं,’ पीताम्बरले पढाइको पारिवारिक माहोल सुनाउँदै भने । पीताम्बरले आइएस्सी सकेपछि एमबीबीएस पढ्नुपर्छ भन्ने दबाब घरबाट थियो । उनले थपे, ‘दाइ र बुबालाई म डाक्टर भएको हेर्न मन थियो । तर, मलाई फिटिक्कै थिएन, म स्कुल पढ्दै सामाजिक विषयतिर ढल्किसकेको थिएँ ।’ डाक्टर बन्नुपर्ने दबाबपछि मन नलगाइ भएपनि एक/दुई ठाउँ परीक्षा दिए । तर, उनको नाम निस्केन । उनले भने, ‘नोट नबनाउने, घोकेर नपढ्ने बानीले यहाँ आएर असर गर्यो, परिवारको इच्छा डाक्टर, मेरो इच्छा समाजशास्त्रतिर, तालमेल मिलेन ।’ उनलाई आलेख लेख्न मन पर्थ्याे । कक्षा १० मा पढ्दै गर्दा जिल्लामा रहेका पत्रिकामा राजनीतिक स्तम्भमा विचार लेख्थे । रेडियो सुन्ने र पत्रिका पढ्ने बानी उनको धेरै थियो । त्यो बेला निस्कने मुना पत्रिका नछुटाएर पढ्थे । ‘पाठ्यपुस्तक भन्दा बढी रेडियो सुन्ने पत्रपत्रिका हेर्ने बानी थियो, बीबीसी नसुनेर राती कहिल्यै सुत्दिन थिएँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा आवद्ध भएर भाग लिँदा पनि पढाइलाई नै सहयोग पुग्थ्यो । ‘अहिले विद्यालय, विश्व विद्यालयमा यस्तो पाइँदैन, औपचारिक शिक्षामा मात्र पढाइ सीमित भएको पाइन्छ, धेरै भए मनोरञ्जनात्मक दृष्टिमा होमिने या त जीविकोपार्जनका लागि कमाइमा ध्यान दिनुपर्ने यस्तो हुँदापनि सीपमूलक शिक्षा भएन,’ उनले भने । समाजसँग नजिक हुने विषयवस्तुमा आवद्धता बढाउन थालेपछि उनलाई दुईवटा खुट्टामा उभिएर जानु राम्रो लागेन । त्यहीबेला उनले त्रिभुवन विश्व विद्यालयमा पहिलो पटक द्धन्द्ध, विकास र शान्ति विभागको भर्ना खुलेको सूचना देखे । त्यसपछि उनले इन्ट्रान्समा नाम निकालेर त्यही भर्ना भए । पहिलो ब्याजमा उनी सर्वोत्कृष्ट भएर गोल्ड मेडलिस्ट भए । गोल्ड मेडलिस्ट बनेपछि… कुनै पनि पुरस्कारले छुट्टै हौसला दिन्छ । ५ कक्षामा पाएको १५० रुपैयाँको खुसी एक थियो भने, २०६८ सालमा पाएको यो पदकको खुसी अर्कै थियो । उनलाई त्यसपछि अन्त काम खोज्न जान परेन । उनले जुन विषयबाट पदक पाए, पछि त्यही विषय अन्तर्गतको विभागकै प्रमुखका रुपमा काम गर्न सुरु गरे । गोल्ड मेडलिस्ट भइसकेपछि के हुँदो रहेछ ? भन्ने विकासन्युजको जिज्ञासामा उनले भने, ‘यसले विगतको संघर्षलाई न्याय गरेको जस्तो देखिन्छ, अर्को साथीभाई, समाज, इष्टमित्रले गर्ने व्यवहार, सम्मान त एक प्रकारको हुन्छ नै, त्योभन्दा सामाजिक चाप पनि उत्तिकै हुँदो रहेछ ।’ यो पदक पाएकाहरूलाई कुनै ठाउँमा आवेदन खुलेको छ भने अरुलाई भन्दा गोल्ड मेडलिस्टहरुलाई प्राथमिकता हुन्छ । तर, यसलाई कुनै कानुनीरुपमा अंकभार गरेको छैन । कतिपय अवस्थामा पदक प्राप्त गरेरमात्र केही हुँदैन । ‘निरन्तर त्यो विषयसँग साक्षात्कार गरिएन भने आफैंलाई हिनता बोध पनि गराउँछ, त्यो अनुसारको आफ्नो प्रस्तुति हुनुपर्छ,’ उनले भने । पढ्ने कसरी ? तपाईं कसरी अध्ययन गर्नुहुन्छ ? घोकेर वा बुझेर ? कतिलाई घोकेरै कण्ठ हुन्छ, बुझ्न सजिलो हुन्छ भने कतिपयलाई बुझेर पढ्ने बानी हुन्छ । जे होस् मान्छेले अध्ययन गर्ने आफ्नै तरिका हुन्छ । स्कुलदेखि स्नातकोत्तरसम्म टप भएका पीताम्बरको दिमाग तीक्ष्ण थियो । शिक्षकले पढाएको कुरा उनले पछि दोहोर्याएर पढ्न पर्दैन थियो । त्यसैले होला उनी आफुले पढ्दा कहिल्यैपनि नोट बुक बनाएर अध्ययन गरेनन् । ‘साथीहरू स्कुलमा पढेको कुरा घरमा आएर नोटमा सार्थे, धर्सा तानेर चिटिक्क मिलाउँथे । तर, मैले त्यस्तो कहिल्यै गरिनँ, यो मेरो कमजोरी भन्ने कि के भन्ने,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनको पढ्ने बानी थिएन । जति हुन्छ दिमागले क्याच गर्थ्यो । पढ्दा एक अनुच्छेदले के भन्थ्यो त्यसको आशय बुझ्थे उनी । उनी भन्छन्, ‘यसको मतलब मैले नपढेरै टप भइन्छ भनेको होइन, पढ्ने तर बुझेर पढ्ने ।’ विद्यार्थीलाई पढ्दा लगाव र मिहिनेत चाहिने उनी सुनाउँछन् । उनका अनुसार पढाइमा धेरै समय एउटै विषयमा बिताउनु भन्दा पनि धेरै विषयवस्तुहरूलाई समायोजन गर्ने कला हुनुपर्छ । ‘म धेरै साथीहरुलाई एउटै विषयमा घण्टौं घोकिरहेको देख्छु, त्यो नगरौं, हरेक एक घण्टा पढिसकेपछि ५/१० मिनेट त्यसको आफैंले समीक्षा गर्नुपर्छ, घोकेर भन्दा सम्झेर बुझेर पढेको कुरा दिमागमा बस्छ ।’ उनी बिहानको समय बढी पढ्थे । उनलाई एकै ठाउँमा बसेरभन्दा घुम्दै पढ्न मन पर्छ । ‘मैले पढ्दा वाक्यहरु याद गर्न तिर कहिल्यै लागिनँ, एउटा हरफमा दुई तीनवटा शब्द हुन्थे त्यसलाई बढी ध्यान दिन्थें,’ उनी भन्छन्, ‘एउटा शब्द पढिसकेपछि त्यो शब्दसँग जोडिने अरु कुन-कुन शब्दावली हुन्छन्, त्यस्तो शब्दहरू बुन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ पढाइमा संरचनाले पनि फरक पार्ने उनी बताउँछन् । ‘हाम्रो परीक्षा प्रणाली र पढाउने शैली पनि बदल्नुपर्छ, किताब र नोटमा जुन कुरा छ त्यही मात्रै पढाउने अभ्यास छ,’ उनी भन्छन्, ‘त्यसले कोर्सका लागि त राम्रो गर्ला तर विद्यार्थीको ज्ञानको दायरा बढाउन मद्दत गर्दैन ।’ विदेश जान मन लागेन अहिले नेपालमै बसेर पढ्ने भन्दा विदेश जानेको संख्या बढिरहेको छ । विश्वविद्यालयहरूबाट गोल्ड मेडलिस्ट भएकाहरू पनि स्वदेशमा काम पाइएन भनेर विदेश गइरहेका छन् । तपाईंलाई विदेश जान मन लागेन भन्ने जिज्ञासामा उनले भने, ‘मैले आइएस्सी पढ्दापढ्दै विश्वविद्यालयका इमेल खोज्ने काम गरेँ, जब म लेख्न थाले त्यसपछि मलाई दुई किसिमले अप्ठ्यारो भयो, एउटा म लेख्न थालिसकेको थिएँ, अर्को अब विदेश जाँदा ढिलो हुन्छ भन्ने भयो ।’ पीताम्बर स्नातकोत्तर पढ्दै गर्दा देशको अवस्था र उनले लिएर पढ्ने गरेको विषय मिल्दोजुल्दो थियो । देशमा सशस्त्र युद्ध चलिरहेको थियो । ‘मलाई स्वदेश बस्न धेरै कुराले साथ दियो, पढ्ने विषय, देशको परिस्थिति र समय, त्यसैले पनि म विदेश गइनँ,’ उनले भने । अर्को उनको संगत पनि विदेश गएर फर्केका र नेपालमै केही गर्नुपर्छ भन्नेहरूसँग भयो । त्यसैले पनि आफू विदेश नगएको अनुभव सुनाए । त्रिचन्द्र कलेजबाट बीएस्सी वातावरण विज्ञानमा उत्तीर्ण गरेका उनको मुख्य विषय तथ्यांकशास्त्र र वातावरण विज्ञान थियो । धेरै साथीहरूले भौतिकशास्त्र पढिसकेपछि अमेरिका जान सहज हुन्छ भन्थे । भौतिकशास्त्र पढेका उनका धेरै साथी अहिले पनि अमेरिकामै छन् । ‘आफ्नै देशमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु । तर, अहिले हाम्रो देशको शैक्षिक अवस्था देख्दा मन दुख्छ,’ निराश हुँदै उनले भने ।
अमेरिकामा बसेर नेपाली साहित्य कोरिरहेका ‘गोल्ड मेडलिस्ट’
काठमाडौं । एउटा लेखकलाई लेखेर बाँच्न कति सहज छ ? यो प्रश्नको जवाफ लेखक स्वंयमलाई दिन मुस्किल छ । त्यसैले हुनुपर्छ एउटा गन्तव्यमा हिँडेका उनले अर्कै गन्तव्य रोज्नुपर्यो । अर्थात्, हिँडिरहेको बाटोले अर्कै मोडमा पुर्यायो । मोड थियो घरदेश र परदेश । अन्ततः उनले परदेश नै रोजे, अनि लेखे, ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’ हुन त उनी जस्तै धेरै व्यक्तिको जीवनमा यो गीत मेल खान्छ । रहर वा बाध्यताले परदेशिनेहरूको पीडा फरक हुन्छ । यो गीत ठ्याक्कै उनकै जीवनमा मेल खाए पनि उनले परदेशी फिल्मको लागि लेखेका थिए । नेपाली साहित्यको पोको बोकेर हिँडेका उनी अहिले सात समुन्द्र पारी छन् । भन्न त उनी भन्छन्, ‘मैले बिरानो भूमिबाट नेपाली भाषा साहित्यलाई थप मजबुत बनाएको छु ।’ उनले भनेजस्तै परदेशबाट भएपनि उनको कलम नेपाली साहित्यकै लागि चलिरहेको छ । वि.सं २०५४ सालमा नेपाली साहित्यबाट लारी स्वर्णपदक पाएका लालगोपाल सुवेदी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेक्चरको रुपमा भेटिनुपर्थ्याे वा कुनै कलेजको प्रिन्सिपलको रूपमा भेट्नुपर्थ्याे । तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नु पर्छ । उनले नेपालमै अवसर नपाएको पनि होइन । व्याकरण, समालोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । ‘भाग्य भनौं वा मिहिनेत अचानक अमेरिकाको चिठ्ठा पर्यो, उतै हानिएँ,’ उनले भने । साहित्यमा रूची एउटा-एउटा प्रतिभा सबैमा हुन्छ । तर, कसैले आफ्नो प्रतिभालाई चिन्न सक्दैनन् । लालगोपालले आफूमा भएको प्रतिभामात्र चिनेन्, प्रतिभामै जीवन खोजे । पहाडी जिल्ला स्याङ्जाको क्याक्मीमा जन्मेका लालगोपाल सुवेदीलाई गाउँको सम्झना त्यति छैन । उनी कक्षा ४ पढ्दै काभ्रे आइपुगे । काभ्रेमा होस्टेलमै बसेर पढाइ सुरु गरे । बाआमासँग खेतबारी गर्दै विद्यालय जानेबेला उनी एक्लै बसेर पढ्न थाले । पढाइको लागि काभ्रे आएपनि बाल मस्तिष्कमा गाउँ घुम्थ्यो । उनी पढ्ने विद्यालयमा हरेक साता अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो । कहिले गीत गाउने, नाच्ने, कहिले कवीता लेख्ने, कहिले निबन्ध लेख्ने । यस्ता कार्यक्रममा उनी सधैं भाग लिन्थे । बालापन सम्झदै उनले भने, ‘मलाई निबन्ध, गीत लेख्न खुब मन पर्थ्यो, सधै भाग लिन्थेपनि र मैले भाग लिएको कार्यक्रममा सधै पहिलो नै हुन्थें, जसले गर्दा मलाई झन बढी रूची लाग्थ्यो ।’ लाल गोपालले ११ वर्षको उमेरमा ‘आमा’ शिर्षकको कविता लेखेका थिए । त्यो कविता २०४१ सालमा बालक भन्नेपत्रिकामा छापियो । उनको विद्यालयमा भित्तेपत्रिकामा निस्कन्थ्यो । त्यतिबेला नै उनी निबन्ध, गीत रचनाहरू लेखेर छाप्ने गर्थे । ‘नेपाली साहित्यप्रतिको सानैमा झुकाव थियो । तर, लेखकमाथिको सम्मान भने बुझदै गएपछि थाहा पाएँ,’ उनले भने । एक मोहर पाउँदा लालगोपाल कक्षा ४ मा पढ्दा विद्यालयमा कविता वाचन प्रतियोगिता भयो । प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीले भाग लिए । उनले कितावमा रहेको एउटा कविता वाचन गरेर सुनाएका थिए । कविता राम्रो वाचन गरेकोमा १ मोहर पुरस्कार पाएका थिए । ‘जानी नजानी सुरु गरेको साहित्य यात्रामा विस्तारै प्रेम बस्यो, यस्तो प्रेम कि सात समुन्द्रले पनि हाम्रो सम्बन्धलाई तोड्न सकेन,’ उनले भने । उनी कक्षा १० पढ्दा राष्ट्रिय स्तरको बालकवी गोष्ठी भयो । त्यसमा उनी द्धितीय भए । उनले सुरुमा रानी ऐश्वर्यको हातबाट पुरस्कार पाए । त्यसपछि उनको लेखनले गति लिँदै गयो, राष्ट्रिय स्तरमा हुने हरेक साहित्य कार्यक्रममा उनी भाग लिन थाले । वि.सं. २०४७ सालमा राष्ट्रिय कविता महोत्सव प्रतियोगिता भयो । त्यो बेला राजाले नै कविताको शीर्षक दिने चलन थियो । उनले छन्द कविता प्रस्तुत गरे । त्यसका लागि निकै मिहिनेत गरे । स्कुलमा हुने कार्यक्रमदेखि नै मैले जित्नुपर्छ भन्ने मान्यता उनमा थियो । उनले भने, ‘त्यसका लागि दुई हरफ थानकोट गएर लेखेँ , दुई हरफ धुलीखेल गएर लेखेँ, ती लेखेका मध्ये उत्कृष्ट हरफ छनोट गरर प्रस्तुत गरेँ पछि द्धितीय भएँ ।’ त्यो बेला देशभित्र बाहिरबाट १४ सय बढी प्रतियोगी थिए । त्यसमा उनी तृतीय भए । उनले राजा विरेन्द्रको हातबाट पुरस्कार थापे । पुरस्कारमा दुई हजार थियो । ‘मेरो विद्यार्थी जीवनको खर्च प्रतियोगिताका पुरस्कारले चलाएको हुँ ’उनले भने । प्लस टु पछिको पढाई रूची साहित्यमा भएपनि उनले काठमाडौं आएर कमर्श पढ्न थाले । साहित्यमा रूची राख्ने मान्छे किन कमर्श लाइनतिर जानुभयो ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘त्यो बेला कमर्श, साइन्स लिएर पढ्ने विद्यार्थीहरूको पहिचान छुट्टै हुन्थ्यो, धेरै साथीहरूले पनि यही भने, मैले पनि त्यही पढेँ ।’ एसएलसीपछि उनी शंकरदेव विद्यालयमा भर्ना भए । पढ्दै गर्दा पनि राष्ट्रिय स्तरमा भइरहेका हरेक कार्यक्रममा भाग लिन्थे । उनको पढाइ पनि राम्रो थियो । पढाइ राम्रो भएका कारण उनले वि.सं २०५४ सालमा नेपाली विषयबाट त्रिभुवन विश्व विद्यालयबाट लारी स्वर्ण पदक प्राप्त गरे । अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयबाट माधवप्रसाद घिमिरेका गीति नाटकमा मानवतावाद विषयमा पीएचडी गर्दै छन् । लाल गोपालले वि.सं २०४८ सालमा दिपेन्द्र प्रहरी स्कुलमा प्रावि तहमा अध्यापन गराएका थिए । त्यसपछि पनि उनले विभिन्न विद्यालयमा पढाए । पहिले उनलाई राम्रो स्कुल खोज्नुपर्थ्यो भने, त्रिविबाट स्वर्ण पाईसकेपछि काम खोज्न परेन । ‘पहिले मैले जागिर खोज्नु पर्थ्याे, गोल्ड मेडलिस्ट हुँदा त मलाई जागिर खोज्दै आयो, त्यसपछि युनाइटेड एकाडेमीमा पढाउन सुरु गरें,’ अध्यापनका दिनहरू स्मरण गर्दै उनले भने । साहित्यका १८ वटा कृति लालगोपालको मुल विधा कविता हो । तर, उनी कथा बाहेक अरु विधामा पनि कलम चलाउँछन् । गिती नाटक, व्याकरण, निबन्ध समालोचनामा बढी कलम चलाउँछन् । उनले गीत पनि लेखेका छन् । उनले लेखेका गीतमध्ये सबैभन्दा चलेको गीत परदेशी फिल्मको ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो’ हो । उनले लेखेका करिब २० वटा गीत रेकर्ड छन् । ‘आजभोलि गीत लेख्नेहरूले नै पैसा दिएर गीत रेकर्ड गर्न लगाउँछन्, नयाँ नयाँहरूले बढी पैसा दिन्छन्, उनी भन्छन्, ‘जसले गर्दा गीतको गुणस्तर पनि खस्कन थाल्यो, साथीहरूको पनि बाध्यता थियो होला ।’ ‘फूलको देशमा छन्द्ध’ (कविता संग्रह), ‘नेपाली कविताको सिद्धान्त र विकासक्रम’ (समालोचना), ‘पुतलीलाई जामा’ (बालकथा संग्रह), ‘देवता जस्तै नेपाली, मन्दिर जस्तै मान्छे’ लगायतका १८ बढी कृति प्रकाशन भएका छन् । यतिका कृति लेखेर कति पैसा कमाउनुभयो ? भनेर सोध्दा उनले भने, ‘धेरै हैन, नढाटेर भन्दा लाख जति कमाएँ, जसले मलाई भात खान सक्ने बनायो ।’ कामको सम्मान अवार्डमा साहित्यमा जति लालगोपालले योगदान पु¥याए उति नै उनलाई देशले सम्मान पनि दियो । उनले पाएका अवार्डले उनको घरका भित्ता रंगिएका छन् । उनि भन्छन, ‘बच्चादेखि पुरस्कार र सम्मान थाप्ने बानी परेको मलाई राष्ट्रले पनि उत्तिकै सम्मान दिएको छ, यही सम्मानले मलाई अहिलेपनि यो क्षेत्रमा जीवित राखेको छ । ’ लालगोपालले २०६० सालमा नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार, २०५९ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल, प्रज्ञाप्रतिष्ठान लगायत विभिन्न संघसस्थाबाट अवार्ड पाएका छन् । अमेरिकाको बसाइँ वि.सं २०६६ सालमा चिट्ठा परेर उनको परिवार अमेरिका गयो । त्यहाँ अहिले उनी एउटा ठूलो अपार्टमेन्टमा म्यानेजमेन्टको रुपमा काम गर्छन् । काम गरेवापतको पैसा पनि राम्रै आउँछ । अहिले नेपालको जस्तो भात खान मात्र हैन, भोलिलाई बचत गर्न पनि सकिएको छ । त्यो भन्दा बाहेकको अरु काम उनको अहिले पनि लेखनमै बित्छ । ‘देशभित्र भन्दा बाहिर रहँदा देशको माया लाग्दो रहेछ, अहिले म अमेरिका गएर पनि नेपाली साहित्यकै चिन्तन गरिरहेको हुन्छु,’ उनले आफ्नो अनुभव सुनाए । नेपालमा उनले गर्ने काम र अहिले विदेशमा बसेर गर्ने काम धेरै फरक छ । यहाँ लेखर खाने उनी अमेरिका एउटा भवन म्यानेजमेन्टको काम गर्छन् । नेपालको प्रज्ञा प्रतिष्ठानजस्तै त्यहाँ अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल भन्ने संस्था छ । त्यो संस्थाले अन्तरदृष्टि साहित्य पत्रिका त्रैमासिक रुपमा निकाल्छ भने अनलाई संस्करण पनि छ । लालगोपाल अहिले त्यो पत्रिकाको प्रधान सम्पादकको रूपमा पनि काम गरिरहेका छन् । पठन संस्कृति घट्यो साहित्यको मुल उद्देश्य भनेको आनन्द र शिक्षा सँगसँगै दिनु हो । एकताका थियो, खोजीखोजी पुस्तकहरु पढ्ने । तर, अहिले त्यस्तो छैन । उनी थप्छन्, ‘अहिले इन्टरनेटको जमाना आयो, मान्छेलाई जान्न सुन्न मन लागेको कुरा सहजै मोबाइलबाट हेर्न मिल्छ, त्यसैले पनि पछिल्लो समय पठन संस्कृति घटेको हुनुपर्छ ।’ यो नेपालको मात्र नभई विश्वकै समस्या भएको उनी बताउँछन् । पछिल्लो समय नेपालका अनलाईन संस्करणमा लेखिएका लेखहरु हुन् या कुनै पुस्कार पाएका राम्रा पुस्तक हुन् पहिलेको तुलनामा अहिले बिक्री हुन छोडको उनी बताउँछन् । एकताका हातमा मोबाइल नहुँदा काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिपत्रिका पढ्नलाई मरिहत्ते गर्थे । तर, अहिले यस्तो छैन । समग्ररुपमा हेर्दा अहिले पठन संस्कृति घटेको सुबेदी बताउँछन् । उनी नेपाली भाषाको मात्र नभएर विश्कै भाषाको पठन संस्कृतिमा यस्तो समस्या देखिएको बताउँछन् । विश्वका लेखकहरूलाई हेर्ने हो भने लेखेरै करोडौँ, अरबौँ कमाउनेहरू पनि छन् । नेपालमा पनि लेखेर कमाएका केही व्यक्तिहरु छन् । त्यो भित्र लालगोपालको नाम पर्दैन । कविताका पाठक सीमित हुन्छन् । साहित्यका विभिन्न विधाका पाठक फरक-फरक हुन्छन् । लालगोपालले लेखेका निबन्ध, व्याकरणहरू विभिन्न विद्यालयमा पढाइ हुन्छन् । उनको विद्यालयका लागि सिर्जना गरिएका किताबबाट आर्थिक हैसियत बढ्छ । स्वदेश फर्किने मन लालगोपालका श्रीमती, दुईजना छोरा गरि चारजनाको परिवार छ । स-परिवार अहिले विदेशमै छ । उनलाई फेरि पनि आफ्नै देश फर्कन मन छ । ५३ वर्षको उमेरमा आइपुग्दा सुवेदीको आधा, नेपाल र आधा बाहिरको बसाइँ रह्यो । ‘देश आफुलाई प्यारो हुन्छ, अहिले सबैजना काम गरिरहेका छौँ, अब पछि फर्कने भनेको नेपालमै हो,’ उनी भन्छन् । लालगोपाल आफू विदेश गएर बस्नुलाई अवसरको सदुपयोग गरेको बताउँछन् । ‘यो अवसर हो, यसको सदुपयोग गरेको हुँ, अब नेपाल फर्केर बस्ने मन छ,’ उनी भन्छन्, ‘स्वदेश-परदेश जता भएपनि नेपाली भाषा र साहित्यको चिन्ता लाग्छ, मेरो शरीर जता भएपनि मन नेपाल र नेपाली भाषा साहित्यमै छ ।’
गोल्ड मेडलिस्ट मानुषी, ‘मलाई आफ्नै नामले चिनिनु छ’
काठमाडौं । हरेक व्यक्तिको आफ्नै परिचय हुन्छ । उसलाई आफ्नै नामले चिनिन मन लाग्छ, न कि अरुको नामले । तर, बिडम्बना उनलाई उनीभन्दा पनि बा आमाको नामले बढी चिन्छन् । राम्रो काम गर्दा होस् या नराम्रो फलानाको छोरी भनेर नाम जोडिँदा आफ्नो परिचय हराएको भान हुन्छ उनलाई । यतिसम्मकी कुनै काम गर्दा वा कुनै क्षेत्रमा लाग्दा पनि बाले लगाइदिएको त हो नि भन्ने खालको कुरा सुन्नुपर्छ । यस्तो कुराले आफ्नो निर्णय र क्षमतामाथि नै प्रश्न उठ्ने गरेको उनी बताउँछिन् । भन्छिन् ,‘म हरेक कुरामा सक्षम छु, मेरो आफ्नै क्षमता पनि छ । तर, यहाँ मेरो न क्षमता हेरिन्छ न योग्यता’, विकासन्युजसँग उनले दुखेसो पोखिन् । यही कुरा आफूलाई चित्त नबुझेको गुनासो गर्छिन् मानुषीयामी भट्टराई । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसीला यमीकी छोरी हुन् मानुषी । उनी विद्यार्थीकालदेखि नेपाली राजनीतिमा सक्रिय छिन् । उनी गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट माओवादी केन्द्रकाे तर्फबाट उम्मेद्वार बनेकी थिइन् । तर, जित भने हात पार्न सकिनन् । अहिले समाजवादी पार्टीमा आबद्ध रहेर काम गरिरहेकी छन् । विकासन्युजसँगको कुराकानीमा मानुषीले नेपालमा आफ्नो स्वतन्त्र परिचय बनाउन गाह्रो भएकाे सुनाइन् । ‘मेरो बाबा ममि शक्तिशाली पोजिशनमा हुनुहुन्थ्यो, हुनुहुन्छ, उहाँको आफ्नै परिचय छ, मलाई उहाँहरूको छोरी भनेर चिनिँदा गर्व महसुस हुन्छ । तर, मेरो पनि आफ्नै क्षमता, चरित्र र चाहना छ,’ उनले भनिन् । उनी आफूलाई सामाजिक र राजनीतिक प्रोफाइल बनाउन गाह्रो भएको बताउँछिन् । ममाथि विश्वास नै गरिँदैन १० वर्षे जनयुद्ध लडेर नेपालमा गणतन्त्र ल्याउन बाबुराम र हिशिलायामीको ठूलो हात छ । राजनीतिमा मात्र होइन, बाबुराम भट्टराई एउटा सफल इन्जिनियर पनि हुन् । मानुषी सानी हुँदा बाआमालाई पढिरहेको देख्थिन्, उनलाई पनि बाआमासँगै पढ्न मन लाग्थ्यो । तर, उनले अरु बालबालिका जस्तै बाआमासँगै दिनचर्या बिताउन पाइनन् । त्यो बेलाको समय परिस्थिति त्यस्तै थियो । बाल्यकालमै कहिले नेपाल कहिले विदेश गर्दै मानुषीको समय बित्यो । उनले बढीजसो बाहिरै देशमा अध्ययन गरिन् । उनका घरमा किताबहरूको संकलन जबरजस्त हुन्थ्यो । विश्वव्यापीरूपमा सबै खालका दार्शनिक, सिद्धान्तहरूको किताब उनको घरमा हुन्थे । जसले गर्दा उनलाई सानैदेखि फराकिलो दृष्टिकोण निर्माण गर्न सक्ने अवसर थियो । यसले उनलाई विश्वलाई हेर्ने दिृष्टकोण बारे थाहा भयो । उनी नेपाल हुँदा कहिलेकाहीँ बाआमासँग गाउँ-गाउँ जाने मेसो मिल्थ्यो । उनलाई गाउँको परिवेश, त्यहाँको शिक्षा, स्वास्थ्य, खानेकुरा फरक देख्दा किन यस्तो हुन्छ भन्ने लाग्थ्यो । ‘मैले लिने हरेक निर्णयमा उहाँहरूकै नाम जोडिन्छ, बाबुराम जहाँ-जहाँ गयो, त्यहाँ आफ्नो छोरी गयो, उसको आफैं निर्णय गर्ने क्षमता छैन भन्ने प्रश्न आउँथ्यो,’ उनी भन्छिन्, ‘नेपाल समाजवादी पार्टीमा आबद्ध हुँदा अझ धेरै प्रश्न खेप्नु परेको छ, मेरो ठाउँमा अरुकोही हुँदा उसले यस्ता प्रश्नको सामना गर्नुपर्दैन । तर, मैले यस्ता चुनौती सामाना गर्नुपर्छ, म आफ्नै विवेकले निर्णय गर्न सक्ने हुँदाहुँदै पनि छोरी भएकै कारण बाउको पछाडि लाग्यो भनेर हेर्ने गरिन्छ ।’ टीयूको राजनीति विद्यार्थी होस् या कुनैपनि संघ संगठनमा पहिले महिलालाई कोषाध्यक्ष बनाउने मात्र चलन थियो । वि.सं. २०६५ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भयो । मानुषीले त्यो निर्वाचनमा सचिवको लागि उम्मेद्वारी दिइन् । त्यहाँपनि उनको बासँगै नाम जोडिएर आयो । त्यो निर्वाचन सम्झँदै उनले भनिन्, ‘म आफैँ सचिवमा उठ्छु भनेर पहिलो पटक छात्राको तर्फबाट उठ्दा पनि मलाई बाबुरामको छोरी भएकै कारण नै सचिवमा उठाउनुपर्ने भन्ने प्रश्न उठे, त्यसको बाबजुत पनि मैले सचिवमा जितेँ ।’ मानुषी आफूले कार्यकर्ताबाटै राजनीति सुरु गरेको भएपनि आफ्नो राजनीतिमा गरेको योगदानलाई कसैले नदेखेको गुनासो गर्छिन् । ‘म नेपालको राजनीतिमा सक्रियरूपमा लागेको २० वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा उठ्दा मेरो २० वर्षको कामलाई हेरिएन, बाकै कारण टिकट पायो भन्ने गरियो, उनी भन्छिन्, ‘कहिलेकाहीँ यस्ता कुराले दिक्क लाग्छ, ममाथि हेर्ने नजर परिवारबादको रूपमा मात्र छ ।’ मानुषीले नेपालभन्दा धेरै विदेशमा पढिन् । उनी सानैदेखि पढाइमा अब्बल थिइन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी गरेकी छन् । उनी आफ्नो पढाइको छनोट देशको समय र परिस्थितिसँग जोडिएको बताउँछिन् । मानुषी पढ्दै गर्दा नेपालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच युद्ध थियो । त्यतिबेला उनलाई इन्जिनियर, डाक्टर बन्न मन लागेन । उनी भन्छन्, ‘त्यो बेला देशमा युद्ध भइरहेको थियो, मलाई यो राजनीतिबारे अझै जान्न मन लाग्यो, मैले अरु विषय लिएर पढ्नुभन्दा राजनीतिकै बारेमा जान्न मन लाग्यो, त्यसैले राजनीतिशास्त्र नै छनोट गरेँ ।’ मानुषी अहिले ३६ वर्षकी भइन् । नेपालमा जनयुद्ध सुरु हुँदा १० वर्षको उमेरमै उनले प्रवासमा समय बिताउनु पर्यो । उनको कलिलो उमेर नेपालभन्दा बाहिर बित्यो । जनयुद्ध हुनुभन्दा अगाडि ७ वर्षको हुँदा उनकी आमा स्नातकोत्तर पढ्न बेलायत गएकी थिइन्, त्यतिबेला उनी पनि त्यहीँ गइन् । ‘जुन उमेरमा मेरो बाल्यकाल गुज्रियो, यसले आज पनि झकझक्याउँछ, समयले जहिले नेताको छोरी भनेर सम्झाइदिएको हुन्छ,’ उनी भन्छिन्, आफू हरेक कुरामा अब्बल हुँदा पनि बाआमाको पथ समाएको भन्ने आरोपहरू ममाथि लाग्छ ।’ मानुसी प्लसटुमा विज्ञान पढ्दा पनि टपर नै थिइन् । स्नातकोत्तरमा पनि उनी राजनीतिशास्त्रबाट गोल्ड मेडलिस्ट नै बनिन् । पदक पाउनका लागि होइन मिहिनेत विद्यार्थी राजनीतिमा गोल्ड मेडल पाउनेहरूको संख्या औंलामा गन्ने पनि हुँदैनन् । तर, त्रिभुवन विश्व विद्यालय राजनीतिसँगै पढाइमा पनि गोल्ड मेडल पाउनेमध्येकी एक विद्यार्थी हुन् मानुषी । उनले आजभन्दा १२ वर्ष पहिले ‘राजनीतिशास्त्र’ विषयमा उत्कृष्ट नम्बर ल्याउँदै गोल्ड मेडल प्राप्त गरेकी थिइन् । तर, त्यो मेडलले आफ्नो बायोग्राफीमा एउटा बुँदा थप्नुबाहेक अरु खासै काम नगरेको उनकाे अनुभव छ । यो पदक पाउँदा के लाभ पाइन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘केही लाभ हुन्छ भन्ने मलाई थाहा छैन, कहिँलेकाहीँ तपाईंहरुले गोल्ड मेडलिस्ट भनेर सम्झनुहुन्छ त्यही हो, अर्को एउटा तक्मा, सर्टीफिकेट पाएँ त्यही हो ।’ उनलाई आफू पढेको विद्यालय र पदक पाएको विषयबाटै सेवा गर्ने ईच्छा थियो तर, अवसर नै नपाएको सुनाउँछिन् । उनी थप्छिन्, ‘अब कति गुनासो मात्र गर्ने, यसैमा केही गरौँ भन्ने सोच थियो, ठ्याक्कै तीन वर्ष पहिले त्रिभुवन विश्व विद्यालयमै सेवा आयोग खुल्याे । तर, यत्रो वर्ष हुँदा समेत अहिलेसम्म टीयू सेवा आयोगले परीक्षा नै लिएको छैन ।’ त्यहीँको गोल्ड मेडलिस्ट, त्यहीँ काम गर्छु भन्दा पनि टीयूले पूर्णरुपले ढोका खोल्न नसकेको उनको गुनासो छ । उनीसँगै मेडल पाएका साथीहरु कहाँ के गर्छन् भन्ने पनि उनलाई त्यति थाहा छैन । तर, उनी आफ्नो हकमा यो मेडलले खासै प्रभाव नपारेको बताउँछिन् । तर, यो मेडलले उनलाई साथीभाईले हेर्ने नजर गर्ने व्यवहारमा भने फरक भयो । स्नातकोत्तरमा मात्र होइन मानुषी हरेक वर्ष आफ्नो कक्षामा टप हुन्थिन् । उनी भन्छिन्, ‘म जहिले कक्षा टप हुँदै आएकोले होला यो मेडल पाउँदा नि त्यति महत्व लागेन । तर, साथीभाईले गर्ने व्यवहारमा भने फरक भएको महसुस गरेँ ।’ मानुषी यो पदक पाउँछु भनेर मिहिनेत नगरेको बताउँछिन् । नेपालमा युवाको सम्मान भएन मानुषी नेपालमा सबैभन्दा ठूलाे समस्या भनेको युवाले काम नपाउनु रहेको बताउँछिन् । उनका अनुसार देशमा सम्मानजनक काम नहुँदा हजारौं युवाहरु विदेश गइरहेका छन् । ‘प्लस टुपछि विद्यार्थी पाउनै गाह्रो छ, हामी संकटमा छौं, यहाँ केही न केही गडबड भइरहेको छ, हामीले एउटा कालखण्ड संविधान बनाउनमा खर्च गर्याैं, यहाँ धेरै छलफलहरु भए, त्यहाँ हामीले आधारभूत आवश्यकता, शिक्षा स्वास्थ्य दक्षिण एशियाका कतिपय देशमा नभएको आवास फण्डामेन्टलको राम्रो सुविधा दिएको छ,’ उनी भन्छिन्, ‘त्यसलाई थेग्नको लागि केही प्लान त हुनुपर्याे नी ।’ मानुषी आफूले बनाउन चाहेको अबको नेपाल सबल आर्थिक अवस्था राम्रो शिक्षा प्रणाली भएको बताउँछिन् । ‘हामीलाई अभावै अभाव जीवन जिउन बाध्य पार्ने केही तत्व छन्, विभेद छ, म यसको अन्त्य भएको हेर्न चाहान्छु,’ उनी भन्छिन्, ‘यो अभियान आजको भोलि हुन भने गाह्रो छ ।’ भारत बेलायत लगायतका विभिन्न देशमा अध्ययन गरेकी मानुषी आफूलाई बाहिर बस्नै मन नलागेको बताउँछिन् । शासकीय प्रणालीको विकल्प मानुषी देशमा काम गर्ने युवा विदेश गएको र खाडीमा गएर श्रमिकको रूपमा काम गरेको दोष सरकालाई दिन्छिन् । ‘अहिले सबैभन्दा बढी काम वडा अध्यक्षले गर्छ । तर, बजेट सबैभन्दा बढी संघमा रहन्छ, अनि दोष फेरि संघीयतालाई दिइरहेका छौं, यसका लागि कानून बनाउनु पर्याे, गर्न सकिने धेरै काम छन् । तर, भइरहेको छैन,’ उनी भन्छिन्, ‘यसमा बाधक भनेको शासकीय प्रणाली हो ।’ उनी अहिलेकाे शासकीय प्रणालीको विकल्प प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनसक्ने बताउँछिन् । ‘व्यवस्थापिका पूर्ण समानुपातिक हुनुपर्याे, कार्यपालिका प्रत्यक्ष निर्वाचित हुनुपर्यो यति गर्न सकियो भने मात्र पनि धेरै परिवर्तन हुन्छ,’ उनले भनिन् । नेपाल नबन्नुको पछाडिको सबैभन्दा ठूलो कारण नै राजनीति भएको उनकाे भनाइ छ । महिला भएकै कारण भोग्नु परेको समस्या मानुषीलाई घरभित्र कहिल्यै महिला अथवा छोरी भएको महसुस भएन । तर, जब उनी नेपालमा आएर सार्वजनिकरूपमा देखिन थालिन् त्यसपछि उनलाई छोरी भएको महसुस हुन थाल्यो । उनी भन्छिन्, ‘मलाई परिवारभित्र कहिल्यै छोरी भएको अनुभव भएन, बुबाआमाले त्यस्तो व्यवहार नै गर्नुभएन, बिना विभेद हुर्किएँ । तर, राजनीतिमा आएर अलि पब्लिक फेस भयो, अनि म महिला हुँ, तिमी केटी हौ, तिमी नानी हो भन्ने खालको व्यवहार हुन थाल्यो ।’ उनलाई अहिलेपनि कुनै न कुनै रुपमा पितृसतात्मक सोच देखा परिरहेकाे अनुभव हुन्छ । उनकाे काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्दाको एउटा प्रसंग रोचक छ । चुनावी प्रचारमा जाँदा धेरैजसो ठाउँमा उनको कुरा सुन्ने भन्दा पनि कपाल हेर्ने मान्छे बढी हुन्थे । ती दिन स्मरण गर्दै उनी भन्छिन्, ‘नानी किन यति सानै उमेरमा कपाल फुल्यो भन्ने कुरा हुन्थ्यो, त्यसपछि त मैले कपाल नै कालो बनाएँ । ’ ‘प्रकृतिले जे दियो त्यही हो भन्ने कुरा थियो । तर, सबैले सोध्न थाले, कपालमै केन्द्रित हुन थालेपछि भएन, अब केही गर्नुपर्याे भन्ने लाग्यो’ उनले थपिन्, ‘कोही पुरुषको कपाल फुलेको छ, तालु खुइलेको छ भने चर्चाको विषय नै हुँदैन ।’