अर्थतन्त्रले सही बाटो समाएको छ, नतिजा देखिन समय लाग्नेछ
मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घर जग्गा र शेयर कारोवारमा ठूलो गिरावट आएको थियो । अर्को, सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र संभावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको थियो । कतिपय वाह्य परिस्थितिका कारण पनि अर्थतन्त्रमा सिथिलता आउनुमा थप योगदान पुगेको थियो । बजेटमा प्रस्तावित सुधार र कार्यान्वयनको स्थिति मैले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेका छन् । सरकारी खर्च तर्फ वित्त अनुशासनलाई जोड दिइएको छ । स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले आयोजनाको प्राथमिकिकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ। त्यसै गरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ । अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको छ। जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको छ। जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ । त्यसैगरी, राजस्व परिचानलमा क्रमशस् सुधार भएको छ । बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको छ।कर प्रणालीमा सुधारका लागि उच्च स्तरिय समिति गठन भई समितिले काम गरिरहेको छ । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशस् खुकुलो बनाउँदै लगिएको छ । हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजिकरण समितिलाई क्रियाशिल बनाई काम अगाडि बढाइएको छ । सम्मानीय प्रधानमन्त्री तथा मेरो उपस्थितिमा निजी क्षेत्र, अर्थविद र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको छ । वर्तमान आर्थिक अवस्था र परिणामहरु माथी उल्लेख गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरु क्रमशस् चलायमान भएका छन् । यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको छ । त्यसैगरी भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ । वित्तीय क्षेत्र तर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ । जसबाट ब्याजदर क्रमशस् घट्दै गएको छ । हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको छ । २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ । निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु २४४ अर्ब पुगेको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ । घरजग्गा र शेयर कारोवार बढ्न शुरु भएको छ । हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । त्यसैगरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै, हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ । अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन् । २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब ले बचतमा रहेको, रु ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ । विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो । चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको छ । आगामी कार्यदिशा सरकारले शुरु गरेका आर्थिक र वजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिनेछ।अल्पकालमा सरकार र निजी क्षेत्र बिच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिइनेछ । आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषण गरी त्यसको तयारी शुरु गरेको छ । लगानी सम्मेलन अघि नै लगानी सँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइनेछ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा संभावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको छ । दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युतको विकास, पर्यटन, कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर संभावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ। समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ । थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ । सबै सुधारका प्रयासले नतिजा दिन केहि समय लाग्नेछ । मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरुको यथार्थ सुचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्मविश्वास कायम गर्नेछ । (अर्थमन्त्री डा. महतले बुधबार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा राखेका मन्तव्य)
प्याजको मूल्यमा मनोमानी, चीनबाट आयात गर्न व्यवसायी सक्रिय
काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन दिनअघि शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा अचानक प्रतिबन्ध लगाइदियो । हरेक खाद्यान्नदेखि कृषि उपजमा छिमेकीकै भर गर्ने नेपालमा भारतको प्रतिबन्धनको फाइदा यहाँका व्यापारी र बिचौलियाले मजाले लुटिरहेका छन् । भारतले नेपालमात्र होइन, अन्य कुनै पनि देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको सिधा असर नेपालीको भान्छासम्म पुगेको छ । नेपालीहरूको भान्छा एक्कासि महँगो हुन पुगेको छ, मात्र एउटा प्याजको भाउका कारण । भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउले आकास छोइसकेको छ । अहिले बजारमा प्याजको मूल्यमा मनपरी वृद्धि भएको छ । उपभोक्ताले महँगोमा प्याज खरिद गर्नुपरेको गुनासो गरिरहेका छन् । तर, सुनुवाइ कतैबाट हुने देखिँदैन । अहिले फाट्टफुट्ट केही पसलमा मात्रै प्याज पाइन्छ । तर, उनीहरूले किलोमै ७० देखि ८० रुपैयाँसम्म भाउ बढाएको र प्रतिकिलाे १ सय ४० रूपैयाँसम्म बिक्री गरिरहेकाे उपभोक्ताको गुनासो छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार एक राजपत्र प्रकाशित गर्दै चालू डिसेम्बर महिना अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको थियो । भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसको प्रत्यक्ष मार भने नेपालीको भान्छामा परेको छ । अहिले नेपाली बजारमा प्याजको हाकाकार देखिएको छ । काठमाडौंलगायत अन्य बजारमा व्यापारीले मनखुसी प्याजको मूल्य बढाएका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको हाहाकार देखिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ बताउँछन् । ‘नेपालमा प्याज आउने भनेकै भारतबाट हो । त्यहाँबाट नआएपछि समस्या त हुने नै भयो,’ श्रेष्ठले विकासन्युजसँग भने, ‘नेपालमा सिजनमा मात्रै प्याज उत्पादन हुन्छ । प्रत्येक नेपालीको भान्छामा प्याजको प्रयोग हुन्छ । नेपालमा उत्पादित प्याजले २ प्रतिशत भान्छा पनि धान्दैन ।’ अलि–अलि कहीँ कतैबाट व्यवसायीले जोहो गरेर ल्याएको प्याज बजारमा बिक्री भइरहेको उनले बताए । ‘एक साता अगाडि १ सय देखि १ सय २० रुपैयाँ किलोमा बिक्री भएको प्याज आज मंगलबार १ सय ३५ देखि ४० रुपैयाँसम्ममा बिकिरहेको छ । बजारमा स्टक नै छैन । केही आएको बिक्री भएको हो ।’ अन्य सहरी क्षेत्रमा प्याजको मूल्य १ सय ५० रूपैयाँ नाघेको छ । ‘केही व्यापारीले चीनबाट प्याज आयात गर्न लागेको भन्ने पनि सुन्नमा आएको छ,’ श्रेष्ठ भन्छन्, ‘नेपालको केसमा विशेष व्यापारिक सम्पर्क भनेको भारतीय व्यापारिक केन्द्र तथा व्यापारीसँग हो । र, नजिकको बजार पनि भारत हो । चीनबाट पनि प्याज आयात गर्न नसकिने त होइन । तर, प्याज आउनै समय लाग्छ । फेरि चीनमा व्यापारिक सम्बन्ध पनि स्थापना गर्नुपर्यो । कानुनी प्रक्रिया पनि छन् । अहिले नै भन्न सकिने अवस्था छैन ।’ श्रेष्ठले बजारमा आलुको अभाव भने नभएको बताए । गत शुक्रबार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै अहिले आलुको आपूर्ति सहज भएको उनको भनाइ छ । नेपाल कृषि उपज आलु, प्याज तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि केही व्यापारीले व्यापारिक मित्रताका आधारमा पहल गरेर थोरै मात्रामा प्याज उपलब्ध भएको जस्तो देखिएको बताए । ‘आउन नसक्ने सामानलाई बजार ल्याएर बेच्दा अलिकति महँगो त पर्ने नै भयो,’ उनले भने ‘राष्ट्रियस्तरबाट पनि केही पहल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । एक–दुई दिनमा सरकारको निर्णय पनि आउला ।’ केही व्यवसायीले चीनबाट पनि प्याज निर्यात गर्न लागेको खबर सुन्नमा आएको उनले बताए । ‘सामान लोड भइसकेको भए पनि नेपाल भित्रिन १०–१२ दिन त लागिहाल्छ,’ उनले भने, ‘यता, व्यवसायीले चीनबाट अर्डर गर्ने र उता भारतको प्रतिबन्ध खुल्ने भयो भने नेपाली बजारमा चिनियाँ प्याज बिकाउन गाह्रो हुन्छ ।’ उपभोक्ता हितमा कसले बोल्छ ? उपभोक्ता हितबारे सोच्ने र बोल्ने फुर्सद सायदै कसैलाई होला । उपभोक्ता अधिकारकर्मीबाहेक सरकारले पनि यसबारे बोलेको कमै सुनिन्छ । हाल भइरहेको प्याज हाहाकार र यसको अचाक्ली मूल्यवृद्धिप्रति उपभोक्ता अधिकारकर्मी के भन्छन् त ? ‘सरकारले भारतसँग कूटनीतिक पहल नगर्दा तस्करी भएर प्याज नेपाल भित्रिरहेको छ । नेपाल, बंगलादेश र भुटानका हकमा नेपालले भारतलाई चिठी लेख्यो भने भारतले निर्यात खुलाउने सम्भावना छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘यसको मतलब नेपालमा प्याजको अभाव छैन भन्न खोजिएको हो । तर, बजारमा त प्याज छैन ।’ अझै विस्तृत बानियाँकै शब्दमाः नेपाल र भारतबीच खुला सीमाना । २० वटा साइकलमा प्याज ल्याइयो भने पनि एक ट्रक भइहाल्ने रहेछ । साइकलमै ल्याउँदा पनि रोकतोक गर्ने कोही छैन । त्यसरी प्याज भित्रिँदा बजार अभाव हुँदैन । पछि व्यापारीले अभाव देखाएर आफूखुसी मूल्यवृद्धि गर्छन् । उपभोक्ताले महँगो पनि तिर्नुपर्ने अनि राजस्व पनि उठ्ने । यो त आलु र प्याजमा जहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ, त्यो बेलासम्म यही अवस्था आउँछ । नेपालमा उत्पादन भएको आलु र प्याजमा भ्याट हटाउने भने पनि नेपाली आलु हो कि भारतीय कसरी चिन्ने ? आलुमा ठाउँको नाम लेखेको हुँदैन । राति २० देखि २२ वटा साइकलमा प्याज आइरहेको छ । सम्बन्धित निकायले के हेरेर बसेको छ थाहा छैन । ९ देखि १४ प्रतिशत सरकारले कृषि प्यवसाय प्रवद्र्धन कर लगाउने गरेको थियो । अहिले त्यो पनि खुकुलो गरेको छ । चीनबाट प्याज आयात गर्ने कुरा जुन आइरहेको छ, अहिले त्यो सम्भव छैन । स्याउ, लसुनलगायत अन्य वस्तु चीनबाट आयात त हुन्छ । तर, प्याज आयात गर्ने कुरा भन्नासाथ सहज भने छैन । अब प्याज र आलुमा भ्याट फिर्ता नगर्दासम्म हालत यस्तै हुन्छ । भारतले उत्पादन गरेको प्याज र आलुमा भ्याट लगाउने भनेको कुरा सही हो त ? नेपालले उत्पादन गरेका वस्तुमा सरकारले भारतलाई भ्याट लगाउन दिन्छ त ? त्यसैले गर्दा नै प्याजमा भारतले प्रतिबन्ध लगाएको हो । ००० अब कुरा सुनौं सरकारको । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र ठाकुर प्याजको समस्याका विषयमा के कसरी गर्ने भनेर छलफल भइरहेको बताउँछन् । ‘भारत सरकारले आफैं प्याज बाहिरबाट आयात गरिरहेको अवस्था छ । भारतले नै अफ्रिकाबाट १० लाख टन प्याज आयात गरेको तथ्यांकले देखाएको छ,’ प्रवक्ता ठाकुर भन्छन्, ‘हामी पनि वैकल्पिक उपायहरू खोज्दै छौं । भारतलाई अनुरोध गर्ने एउटा बाटो छ । तर, उसले आयात गरेको प्याज मगाउँदा झनै महँगो पर्न जान्छ ।’ उनका अनुसार नेपालले पनि कुन वैकल्पिक माध्यमबाट ल्याउन सकिन्छ वा अफ्रिकाबाट लिएर आउने भन्ने योजना बनिरहेको छ । प्याज नाशवान वस्तु भएकाले ल्याइहाल्न पनि समस्या छ । ‘हामीले गृहकार्य गरिहेका छौं । तर, अहिले नै यो हुन्छ भन्न सक्ने अवस्था छैन,’ ठाकुर भन्छन्, ‘हामीलाई चाहिने खाद्यान्नमा हामी आफैं आत्मनिर्भर हुन सक्नुपर्छ । त्यसका लागि कृषिमै जोड दिने हो ।’ चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा भारत र चीनबाट २ करोड २२ लाख ८२ हजार रुपैयाँको १ लाख २० हजार ७ सय ८४ किलो सुक्खा प्याज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७४ लाख ४ हजार रुपैयाँको १३ लाख २८ हजार ६ सय ११ किलो प्याज आयात भएको थियो ।
पैसाको बोट
इतिहासको कुनै पनि घटनालाई कल्पना गरेकै भरमा पनि मस्तिष्कको पर्दामा हेर्न सकिन्छ, किताबमा पनि बडो सजीव ढङ्गले पढ्न सकिन्छ तर इतिहासलाई आफ्नै हातले छुन भने सकिँदैन । जसरी छत आफ्नै घरको भए पनि र स्वयम् गृहपतिले नै माथि जान चाहेको भए पनि भर्याङ लगाउनै पर्छ, त्यहाँ लालपुर्जा वा घरको स्वामित्वको अभिमानले काम गर्दैन । त्यसरी नै आफ्नै कथाको इतिहाससम्म पुग्न पनि कुनै न कुनै संयोजक वा माध्यमको पुल हालिनु आवश्यक हुन्छ । त्यसैले आज यो पङ्क्तिकार पनि कल्पना र किताबबाट मुक्त भएर हजुरबाका आँखाबाट त्यो समय अर्थात् उहाँले बिताएको युवावस्थाका दिनहरूलाई हेर्ने प्रयत्न गर्दै छ । १९६४ सालको भदौ १३ गतेका दिन अर्थात् तत्कालको राणाकालीन समयको भौगोलिक विभाजन अनुसार थुम ताप्लेजुङको याङ्रूप दोरम्बा, अलिपछि आएर पञ्चायतकालको पाँचथरको अमरपुर र त्यसभन्दा पनि पछि आएर हालको गणतन्त्रले बनाएको हिलिहाङ गाउँपालिकामा जन्मेका मेरा हजुरवा अविकेशर ढकालले २०१६ साल जेठ १३ गतेका दिन भुटानको दागापैला जिल्लामा जन्मेको र जयपुर बुधवारे गाउँ पञ्चायतको वडा नं.५ मा भर्खर मात्र खुलेको प्राइमरी स्कुल जान थालेको आफ्नै नाति अर्थात् अहिले यो कुरो लेखिरहेको म प्रतीक ढकाललाई २०२३/२४ सालतिर झापामा सुनाएका कथाहरू अनौठा अनौठा र अहिलेको पुस्ताले कल्पना पनि गर्न नसक्ने खालका हुन्थे । उहाँले मलाई यस्ता धेरै कुराहरू सुनाउनुभएको छ जसमध्ये आज म बैंक, वित्त, मुद्रा, आर्थिक कारोबार र बजार व्यवस्थाका बारेमा सुनेका केही कुराहरू मात्र पाठकलाई सुनाउन लागिरहेको छु । तर, ती कुराहरूको चर्चा गर्नुभन्दा अगाडि झापाको त्यस क्षेत्रका गाउँहरूको तत्कालीन आर्थिक, सामाजिक, भौगोलिक, जनसाङ्ख्यिक, शैक्षिक र सांस्कृतिक परिवेशको मनमनै कल्पना गरौं किनकि आँखा खोलेरभन्दा आँखा चिम्लेर बढी दृश्यहरू देख्न सकिन्छ । माथि भनिएकै छ-कल्पनाशीलताले हामीलाई इतिहाससम्म पुग्न धेरै सजिलो बनाउँछ । यसो सोच्नुहोस् त-बिचमा आँगन छ । एकातिरको छेउमा गाईभैसी बाँध्ने गुवाली बनाइको छ । अर्कातिर छुट्टै सानो भान्साघर छ । अनि त्यसैका छेउमा थोरै ढुड्गा, माटो र अधिकांश चाहिँ काठले बनेको पालीसहितको सुन्दर घर छ । अनि त्यो घरमा पुग्ने आलीआलीको डोरेटो त छ तर बाटो छैन । जङ्गलका बिचमा बोरा वा अलि सक्नेले त्रिपाल टाँगेर केही छापे पसलहरू खोलिएका छन् र त्यसैलाई नाम चलेको ‘बजार’ भनिन्छ । देश छ तर त्यसको आफ्नो मुद्रा छैन । त्यो देशभरिमै कतै कुनै विश्वविद्यालय छैन । घर हुने त कुरै छोडौं, देश जोड़ने पनि बाटो छैन । जिल्लाभरिमा बडो मुस्किलले एक वा दुई हाइस्कुलहरू चलेका छन र त्यसमा पढाउने शिक्षकहरू प्रायः भारतबाट ल्याइएका छन् । कहीँ कतै अस्पताल छैन, बरु कताकति नाम चलेका धामी झाक्रीहरू छन् र जनताको उपचारको जिम्मेवारी तिनैले बहन गरिरहेका छन् । जिल्लाभरिमा एस.एल.सी. पास गरेका मान्छेको सङ्ख्या औंलामै गन्न सकिने खालको छ । यदि गाउँमै कोही पढेलेखेको मान्छे छ भने ऊ काशी अर्थात् बनारसबाट पढेर आएको हो भन्ने कुरो स्वतः नै बुझिन्छ । काँधमा पित्तलका अक्षरले ‘नेपुफो’ लेखेको बिल्ला लगाएको एकजना मात्र प्रहरी कहीँ कतैबाट गाउँमा आइपुग्यो भने सबै थर्कमान हुन्छन् । जहाँ प्रत्येक घरमा कोही न कोही बिरामी छ र हरेक बेलुकाका पहेँला घाममा प्रत्येक घरमा लागोभागो मन्साउन कोही न कोही ‘जान्ने’ले अवश्यै ‘सेरगेम’ गरिरहेकै छ । पैसा कसैसँग पनि छैन तर जङ्गल सबैतिर छ । आगो ताप्न अँगेनाका वरिपरि बसेका बेला पनि भूतप्रेतका कथाबाहेक अरू केही सुन्न पाइँदैन । सञ्चारका नाममा पूरै गाउँमा एउटा पनि रेडियो छैन र चिठीपत्रको कुरो हुँदा पनि काँचो धागोले बाँधेको पो छ कि भनेर वडो सन्त्रस्त भएर बुझ्नुपर्ने स्थिति छ । अनि बुझेर पनि थोरै घरले मात्र आफ्नो चिट्टी आफैँ पदछन्, अधिकांश घरले त त्यही चिठी वाचन गरिदिनका लागि पनि जान्ने खेतालो खोज्नुपर्ने अवस्था छँदै छ । अविकासको चर्चा गर्दा अहिले हामीले हुम्लाको कुनै विकट गाउँको जस्तो चित्र दिमागमा उतार्छाैं, ठिक त्यस्तै हालत त्यस बेलाको झापाको पनि छ । अझ त्योभन्दा पनि खतरनाक बनाएको छ । औलोको बिगबिगीले झापातिर त भनिन्थ्यो नै – कुनै मान्छेसँग एक मन (४० किलो) चामल छ भने बाँचुन्जेल खान पुगेर काजकिरिया गर्न पनि त्यही चामल पर्याप्त हुनेछ । भन्नुको मतलब सरदर आयुको हालत यस्तो छ । खतराको पक्ष अर्को पनि छ-भारतीय सिमाना नजिकै हुनु । जुनसुकै अपराध गरेर पनि मान्छे लालटिनमा एक ‘पावा’ मट्टितेल पनि नबाली मेची तरिहाल्छ । किसानकै गोरु घोरिएर मेचीपारि पुगिहाल्छन् । दुहुना गाई-भैंसी चोरिन्छन्, हुनेखाने र धनीमानीका घरबाट साइकल चोरिन्छन्, भान्साघरबाट भाँडाकुंडा चोरिन्छन्, कुन्युँबाट धानका बिटा चोरिन्छन् । यति मात्र होइन, खाएर बाँकी रहेको बासीभात पनि चोरिन्थ्यो कहिलेकाहीँ । त्यसैले चोरको पनि वर्गीकरण गरेको थियो तत्कालीन समाजले गोरु चोर, भाँडा चोर, गहना चोर, साइकल चोर, बासीभाते चोर, बाख्रा चौर, टापटिपे चोर आदि भनेर । देश त नेपाल नै हो तर पैसा भने पूरै भारू चल्थ्यो । हामी त सामान्य किनमेल गर्न पनि भारतको सीमावर्ती बजार नक्सालबाडी वा नजिकैको ठूलो सहर सिलिगुडी पुग्थ्यौं । अहिलेको बिर्तामोडमा २/४ वटा छाप्रे चियापसल मात्र थिए जसलाई हामी ‘दोकान’ भन्ने गथ्र्याैं । मूल चोकको बाटो पनि सामान्य चक्रेटोको क्रस मात्रै थियो र सबैभन्दा ठुलो कुरो त अहिलेको बिर्तामोड क्षेत्रमा ७ सय रुपैयाँमा एक बिघा नै जग्गा किन्न सकिन्थ्यो । तर, पनि ठाउँ रुखो हुनाले खेती हुँदैन भनेर हजुरबाले त्यहाँ जग्गा नकिनी अलि माथि बुधबारेको जयपुर भन्ने ठाउँमा आफ्नो परिवार थन्क्याउनुभएको थियो । अनि यही परिवेशमा हाम्रो वंशबाटै स्कुल भर्ना भएको पहिलो भाग्यमानी नाति मलाई हजुरबाले अनौठा लाग्ने किस्साहरू सुनाउनुहुन्थ्यो । म उहाँको सबैभन्दा प्रिय पात्र किन पनि थिए भने उहाँका ६ वटी छोरी र एक भाइ मात्र छोरो जन्मिएका थिए । त्यही एउटा छोराबाट पनि लगातार दुइटी छोरी जन्मेपछि मात्र जन्मेको, सारा देवीद्यौता गुहारेर बल्ल बल्ल पाइएको, त्यस बेलासम्मको एक मात्र नाति थिएँ म । त्यही माथि स्कुल पनि जान थालेको र जाँचमा पनि ‘फस्र्ट’ हुन थालिसकेको मान्छे थिएँ म फुच्चो । अनि त म सानै मान्छे पनि सबैको हाइहाइ हुने नै भएँ । त्यस बेला हाम्रा हातमा पर्ने सबैभन्दा ठुलो दरको पैसा भनेकै पित्तलको १० पैसे सिक्का हुन्थ्यो । त्रिभुवनका पालाको तामाको गहुँङ्गो ५ पैसे ढ्याक पनि चलनचल्तीम थियो तर पनि हामीलाई त्यत्ति काममा आउँदैनथ्यो । त्यो वास्तवमै ढ्याक भएकाले त्यसलाई हामी खोपी खेल्दा मात्र हुत्याउने ढ्याकका रूपमा प्रयोग गर्दथ्यौं । अरू बेला हामीलाई चाहिने पैसा भनेकै पित्तलको १० पैसे र तामाको २ पैसे सिक्का थिए । यो १२ पैसाले ६४ पेजको एउटा रेलमार्का कापी र एउटा सिङ्गो पेन्सिल किन्न पुगिहाल्थ्यो । त्योभन्दा बढी हामीलाई के नै चाहिन्थ्यो र ? अनि चाहियो नै भनेर रोइकराई नै गरे पनि दिन्थ्यो कसले र ? तर, त्यस समयमा पनि हाम्रा हातमा भारतीय सिक्का भने प्रशस्तै पर्दथे । हामीलाई भेट्न आउने हाम्रा आफन्तहरू प्रायः भुटान र भारततिरबाट आउने भएकाले नेपालीभन्दा भारतीय सिक्काहरूमा हाम्रो पहुँच बढी थियो । ती भारतीय सिक्काहरू त आकार, प्रकार, तौल, कुँदिएका चित्र, प्रयोग भएको धातु आदिका आधारमा पनि नेपालका भन्दा झनै विचित्रका देखिन्थे । भुटान र भारतका विभिन्न ठाउँमा बस्ने आफन्तहरूसँग जब रैरकमको हिसाब-किताब मिलाउनु हुन्थ्यो तब मैले हजुरबाले भन्ने गरेको सुनेको थिएँ ‘भारूभन्दा मोरू ठुलो हो ।’ भारू १ रुपियाँको मूल्य नेपालमा मोरू १० आना मात्र हुन्छ । भारूभन्दा मोरू ठुलो हो भनेका बेला उहाँका अनुहारमा एउटा बेग्लै प्रकारको प्रदीप्ति देखिन्थ्यो । मलाई लाग्छ, देश बलियो हुँदा नागरिकले पनि सुरक्षित र बलियो भएको महसुस गर्छन् भनेको यही होला सायद । नेपालको मौद्रिक इतिहासमा कुनै समय भारूभन्दा नेरू ठुलो थियो कि थिएन ? रुपियाँ र दश आनाका अनुपातमा सरकारी हिसाब मिलाइयो कि मिलाइएन ? वा हालको सटही दरको डालो प्रणाली कसरी विकसित हुँदै आयो ? यो मेरो अहिलेको जिज्ञासाको विषय होइन । यस कुराको सत्य तथ्य यस क्षेत्रका विज्ञहरूलाई प्रस्टै थाह छ – म गैरआर्थिक क्षेत्रको मान्छेले केही खोकिरहनै पर्दैन । म त सिर्फ हजुरबाको मौद्रिक ज्ञानका आधारमा उभिएर त्यस समयका बुज्रुक मानिसहरूको धारणा भन्दै छु । त्यस बेलाको मौद्रिक मूल्यअनुसार भारूको मूल्य सानो र नेपाली पैसा मोरूको मूल्य ठुलो थियो । अलि पछि आएर हजुरबाको घरायसी हिसाब–किताबले फेरि अर्कै रूप देखाउन थाल्यो । घरमा पैसा राख्दा पनि भारु र नेरू छुट्टयाएर राख्नै छोडियो । कहिलेकाहीँ पैसा लेनदेन गरेको देख्ने मौका परेका बेलामा हामी भुराले पनि एउटै मुठोमा दुवै देशका नोटहरू मिलाएर राखेको देख्न थाल्यौं । त्यसबेला हजुरबाले भन्न थालिसक्नुभएको थियो- “नेरू भारू सराबरी, दुइटै पैसा बराबरी ।’’ समय आफ्नै गतिमा बगिरह्यो । थाहा छैन कति बेला के के भयो । विदेशमा बस्ने आफन्तहरू पनि हाम्रा घरमा आइरहे, हाम्रो कारोबार पनि चलिरह्यो उहाँहरूसँग । हिसाब-मिलान पनि गरिरहनुपर्याे तर केही समयअघिदेखि नै हजुरबाले भन्न थालिसक्नुभएको थियो ‘अब भारू ठुलो भयो, नेरूको भाउ घट्यो । हिसाब-किताब गर्दा अब यही अनुसार गर्नुपर्छ ।’ आफ्नो पैसा सानो भएको खिन्नता उहाँका अनुहारमा प्रस्टै देखिन्थ्यो तर मौद्रिक विनिमयको दर निर्धारण गर्ने कुरो उहाँको वशको विषय थिएन । हाट भर्न जाने सिलसिलामै एक दिन रोड्याईँ गरी गरी हजुरबाको पुच्छर भएर छिमेकी गाउँमा रहेको शनिश्चरे बजार पुगेँ । यस बजारलाई यतातिरको जनजिब्रोले ‘सन्सरे’ बजार भन्दथ्यो । हो, म पनि त्यहीं पुगेँ । काठको सानो टाँडे घरको बाहिरपट्टि नै बन्दुक बोकेर उभिएको एउटा मानिसमा मेरो नजर पर्यो । त्यो बन्दुके मान्छे र त्यस मान्छेले पहरा दिइरहेको त्यस घरलाई देखाउदै हजुरबाले भन्नुभयो- “यो घर किराइ (भाडा) मा लिएर ब्याङ्क (बैंक) बसेको छ । यो घरभित्र त पैसैपैसा मात्र हुन्छ, ब्याङ्का बसेपछि । हाम्रो घर जत्रो त याभित्र लोठ (नोट) कै थुप्रो होला । क्वै चोर डाकाले पैसा चोरेर लैजान नपाऊन् भनेर बाहिर बन्दुक बोकेको गाठ (गार्ड) उभिएको छ । बाहिर एक जना रुँगालोजस्तो उभिएको देखिए पनि मित्र अरू धेरै जना ‘गाठ’ ट्यान्छ्यान (अटेन्सन) भएर डिप्टीमा बसेका हुन्छन् । ती सबैका हातमा यस्तै बन्दुक हुन्छ । यस ब्याङ्काको नाउँ नेपाल ब्याङ्का हो । यो हाम्रै देशका आफ्नै राजाले खोलेको ब्याङ्का हो । नेपालभरिको पैसा यसमै छ । त्यै भ’र सर्खारले पनि पुलिस पठा’र गाठ राखेको । यो त नेपाल देशको पैसाको बोट हो । यसमा त लोठैलोठ (नोटैनोट) फल्छ ।’’ मैले जीवनमा पहिलो पल्ट कुनै बैंक देखेँ । ती बैंकहरूमध्ये पनि जुद्धशमशेरकै पालामा अर्थात् १९९४ सालको कार्तिक ३० गते स्थापना भएको नेपालकै सबैभन्दा जेठो बैंकका रूपमा रहेको नेपाल बैंक लिमिटेडको एउटा गौरवशाली शाखा देखेँ । त्यो पनि आफ्नै नजिकैको हाट शनिश्चरे बजारमा देखेँ । बैंकमा पैसा राखेको हुन्छ र त्यसलाई कुरा पनि सुरक्षा दिन सिपाही खटिएका हुन्छन् भन्ने पाएँ । तर पैसाको बोट भने हजुरबाले देखाउनु भएन । सोचेँ-घरभित्र जालीले छोपेर राखिएको हुँदो हो । त्यस बोटमा चाहिँ पातका ठाउँमा नोट झुन्डिएका हुँदा हुन् । यो कुरो सुन्नासाथ वास्तवमा मलाई त्यो बोट हेर्ने रहर पलाइसकेको थियो । तर बन्दुक बोकेका सिपाहीहरू उभिएको देखेपछि यताउता तन्केर हेर्ने आँट भने गर्न सकेको थिइँन । के थाहा, ड्याम्म बन्दुक पड्कायो भने त कथा त सक्किहाल्छ नि । बजारबाट फर्केको धेरै दिनसम्म पनि मेरो मनबाट त्यो पैसाको बोट उखेलिनै सकेन । कस्तो हुन्छ होला पैसाको बोट ? अशोक झैँ खिरिलो होला कि चौतारीको वर झैँ झ्याम्म परेको हुन्छ होला ? अथवा कुट्मिरो, कटहर, निवारो, काब्रो, पिँडारी, डुम्री वा के जस्तो ? मेरो दिमागमा पैसाको बोट मात्र खेल्न थाल्यो । कहिलेकाहीँ त सम्झेर झसङ्ग पनि हुन थालेँ–कतै मैले पैसाको बिरुवा भेट्टाएर पनि नचिनेर छोडेर पो हिडेँ कि ? यसलाई चिन्नु धेरै जसरी छ । अनि त के थियो र रात-दिन, सपना विपना सबै बेला म पैसाको बोट कस्तो हुँदो हो भन्ने चिन्तनमै डुब्न थालेँ । अनि एक दिन मौका पारेर हजुरबालाई नै सोधेँ- ‘पैसाको बोट कस्तो हुन्छ हजुरबा ? मलाई पनि देखाउनु न एकपल्ट ! जाऊँ न सन्सरेको नेपाल ब्याङ्का ।’ मैले जिज्ञासा राखेको प्रश्नमै ‘सन्सरेको ब्याङ्का’ भने शब्दावली नपरेको भए त हजुरबाले पैसाको बोटको कुरै नसम्झनु हुने रहेछ । ठुला मान्छेले त कुरो चलेका बेला एउटा प्रसङ्गमा एकपटक भनिदिए कुरै सिद्धियो पो हुने रहेछ त ! तर आफू त ‘सप्रसङ्ग व्याख्या गर’ भन्ने ढाँचामा बानी लागेको विद्यार्थी बिर्सिने कुरै थिएन । सायद मेरो बाल मनमा खेलेका कुराको आयतन अनुमान गर्नुभयो होला हजुरबाले र मलाई तानेर छेउमै बसाएर भन्नुभयो- ‘हेर नाति केटा पैसाको बोट भनेको धान, मकै, कोदो, केरा, सयपत्री, सिमल, तरुल, बाँस, मल्लिँडोको बोटजस्तो विरुवा हुने कुरो होइन । पैसा कुनै पनि प्रकारको बोटमा फल्दैन । तर, सर्खारको हुकुमले ‘न्यामकानुन बना’र पैसा एकै ठाउँमा थुपार्न पनि सक्छ, सबैतिर छर्न पनि सक्छ । यो देशाँ भ’को सप्पै पैसाको मालिक ‘पान्सर्खार’ (श्री ५ को सरकार) हो, अनि सर्खारको सप्पै पैसा यै ब्याङ्कामा भएपछि भएन त यो पैसाको बोट ? तर पान्सर्खारकै पैसाको बोट भए पनि यसमा अन्तको तुलफूलमा जस्तो फूल फुलेर चिचिला लागेर पैसा फल्ने होइन । यसमा त हामी गाउँ गाउँका जनताले नै आफूसँग भएको पैसा लगेर राखिदिनुपर्छ । “मैले हजुरबाको कुरो केही पनि बुझिनँ । म कुरै नबुझेर अलमल्ल परेको भाव अनुहारमै देखियो होला सायद । अनि मेरो बुझाइको स्तरलाई समेत ध्यानमा राख्दै मलाई झाउने गरी हजुरबाले भन्न थाल्नुभयो- ‘कहिलेकाहीँ हामीसँग पनि अलि धेरै पैसा हुन्छ, हो कि होइन ? फलानाले धेरै धान बेच्यो, पाटा (जुट) बेच्यो, मनका मन मकै बेच्यो भन्ने हल्ला त चोर डाँकाले पनि सुन्छन् नि, हैन त ? अनि हामीले त्यो पैसा कसरी जोगाउँछौँ त, थाहा छ तलाईं ? त्यो पैसा हामी सुरक्षाको राम्रो व्यवस्था भएको कुनै घरी, मुखिया, जिम्मुवाल वा जिम्दारकोमा लिएर जान्छौंँ । अनि, कागजमा हिसाब लेखेर उसैको जिम्मा लगाएर छोडेर आउँछौं । उसले हाम्रो पैसा जोगाइदिए बापत सालको सयकडा ५ लिन्छ । यो भनेको तैले अहिले चन्द्रप्रसाद जिम्दारकाँ लगेर १०० रूप्पे राख्न दिइस् र आघौँ यै बेलाँ माग्न गइस् भने तैले ९५ रुप्पे मात्र फिर्ता पाउँछस् । तर, अब ता सुरक्षा दिएवापत साहुले गर्ने यस्तो उल्टो ब्याजकट्टीलाई उल्टाउन अब सर्खारले यो ब्याङ्का बनायो । यो ब्याङ्काले के गर्छ त भन्दाखेरि हामीले लगेर पैसा राखेपछि ‘गाठ’ राखेर जोगाइदिन्छ । अनि, गाउँका ठालुलाई जस्तो सयकडा ५ को हिसाब कटाउनु पनि पर्दैन, यल्ले त झन् उल्टो ब्याज पो दिन्छ त । तैले राखेको १०० रूप्पे साहुको जस्तो घटेर ९५ हुँदैन, बरु उल्टै बढेर एक बर्खमा ११० रूप्पे हुन्छ । अब त देशैभरिका किसानले यसैमा पैसा राख्न ल्याउँछन् । अनि, लु हेर त सर्खारलाई पनि विकास गर्ने छेलोखेलो पैसा यहीँ जम्मा हुने भयो ।’ किसानको पैसा पनि नखोटिईकन जोगियो । झन् उल्टै ब्याज कमाइ भयो । सबैलाई चाहिने पैसा हो, त्यो त यहीँ पो फल्न थाल्यो त ! अनि भएन त पैसाको बोट ? यस्ता कुरालाई त अलि मिलाएर बुझ्नुपर्छ क्या लाटा ? का सिधै पैसाको बोट भनेको हो त मैले ? पैसाको ‘सेन्टर’ पो भन्या हुँ त ! सन्सरे बजारमा सोमनाथहरूको एउटा घर छ होइन ? त्यो घरमा उनेरू त बस्तैनन् । त्यां त अर्कै एउटा बङ्गाली परिवार बस्छ । उल्ले मैनैपिच्छे कँडुवाल बुढालाई किराइ तिर्छ । अब त्यो घर उनेर्का लागि पैसाको बोट भएन त ! लाटा मैनैपिच्छे पैसा फल्ने पैसाको बोट भएन त ! यो ब्याङ्का पनि त्यस्तै झन् ठुलो पैसाको बोट हो भनेको ।’ ? समय यसरी बदलियो कि देशमा २००७ सालमा १०४ वर्ष लामो जहानिया राणाशासनको अन्त्य भयो, रेडियो नेपाल खुल्यो, २००८ सालदेखि त राष्ट्रको बजेट नै सार्वजनिक भएर आउन थाल्यो । लोक सेवा आयोगको स्थापना भयो, निजामती सेवाको गठन भयो, विभुवन विश्वविद्यालयको स्थापना भयो । मुलुक संयुक्त राष्ट्र सङ्घको सदस्य बन्यो । यही कालखण्डमा नेपाल राष्ट्र बैकको स्थापना भयो, देशमा लागू हुने गरी संविधान आयो, बहुदलीय प्रणालीमा आधारित चुनाव भयो र जनताको छोरो विश्वेश्वरप्रसाद कोइराला दुई तिहाई बहुमत प्राप्त गरी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । त्यो सरकार पनि आफ्नै व्यवहारका कारण ढल्यो । देशमा पञ्चायतका नाममा नयाँ व्यवस्थाको सुरुवात भयो । देशलाई बडो वैज्ञानिक ढङ्गले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो । पूर्व–पश्चिम राजमार्गको शिलान्यास गरियो र काम पनि दूर्त गतिले अघि बढ्यो । राष्ट्रको दीर्घकालीन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दक्षिणी सिमाना क्षेत्रमा सेवानिवृत्त सुरक्षाकर्मीहरूलाई पुनर्वास गराइयो । हुलाकी राजमार्गको अवधारणा आयो । यही गौरवमय कालखण्डमा सिद्धार्थ राजमार्ग बन्यो, अरनिको राजमार्ग बन्यो, पृथ्वी राजमार्ग बन्यो र यो सानो र गरिब मुलुक पनि आफ्नै सडक सञ्जालमा गर्व गर्ने ठाउँमा अघि बढ्दै गयो । मुलुक औद्योगिकीकरणका बाटामा लम्किँदै गयो । साँच्चै भन्ने हो भने २०४६ पछि विभिन्न कारणले भन्द भएका उद्योगधन्दा यही कालमा स्थापित भएका थिए । यी सबै उद्योगहरू रोजगारीको राम्रो माध्यम बनेका थिए । परिवर्तनका यी सबै कुराको एक्लो वित्तीय साक्षी बनेर नेपाल बैंक लिमिटेडले भूगोल पार्कबाट देशलाई नियालिरहयो । २०२२ साल माघ १० गतेका दिन सरकारकै अर्को उपक्रमको फलस्वरूप दोस्रो बैंकका रूपमा उदाएको राष्ट्रिय वाणिज्य बैंकको स्थापना नहुञ्जेलसम्मको २८ वर्षको यो लामो कालखण्डमा नेपाली वित्तीय आकाशमा ‘नेपाल बैंक लिमिटेड’ बाहेक अरू कुनै पात्र नै अस्तित्वमा थिएन, जे थियो, एक्लो ‘नेपाल बैंक लिमिटेड’ थियो । अनि त्यही नेपाल बैंक लिमिटेड पनि विराटनगरका जुट मिलहरूबाट उत्पादित छोरी बोकेर सिङ्गै देशलाई एकताको सूत्रमा जोड्न लागिपरेको थियो । जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे, भानुभक्तले रामायणमार्फत भाषिक एकीकरण गरे । त्यसरी नै नेपाल बैंक लिमिटेडले पनि नेपालको वित्तीय क्षेत्रको सहजीकरण र बजारीकरणमार्फत मुलुकलाई जोड्यो । मेरा हजुरबा पुस्ताले जानेको बैंकिङ साक्षरता यसैको उपस्थितिको परिणाम थियो । अनि, यही कालखण्डमा नेपालमा नेपाली मुद्राका प्राचुर्य बढ्यो । सेना र हुलाक जस्ता पुराना संस्थाले जोडेको यस देशलाई नेपाल बैकले इतिहासमै पहिलो पटक बैंकिङ सुविधा दियो । अर्को शब्दमा भन्ने हो भने नेपाल बैंकले बैंकिङ कारोबार गर्न थालेको ठिक १९ वर्षपछि आफैँलाई मार्गनिर्देशन गर्ने आमाका रूपमा राष्ट्र बैंकको स्थापना गर्नुपर्ने परिस्थितिको निर्माण गर्याे । त्यसैले आफ्नी आमा जन्माउने गौरव पनि यही नेपाल बैंक लिमिटेडलाई छ, जो आज संस्थापनाको ८७ औं जन्मोत्सव मनाइरहंदा पनि उत्तिकै तरोताजा र ‘नबैलि’ नै रहेको छ । समयसँगै चाउरी पर्ने त कुरै छोडौं, अझ डिजिटल बैंकिङको सुन्दर अनुहार बोकेर हाम्रो नाति पुस्ताका सामु पनि उत्तिकै ‘ग्याजेट- फ्रेन्ड्ली’ भएर उपस्थित छ । त्यसबेला सेयर बजार पनि थिएन । स्टक एक्सचेन्ज, नेप्से, धितोपत्र बोन्ड, डिबेन्चर इन्भेस्टमेन्ट आदि जस्ता शब्दहरू त सुनिएको पनि थिएन । सहरतिरका मान्छेले सुनेकै भए पनि गाउँतिर यो कुरो पुगेकै थिएन । त्यसबेला पनि हजुरबा बडो ढुक्क भएर भन्नुहुन्थ्यो- ‘सुन र ऊनमा गरेको लगानी कहिल्यै पनि डुब्दैन । यसले जैले पनि नाफा नै दिन्छ ।’ सुन र ऊन सुनको भाउ जहिले पनि बढ्ने नै हो । म जुन समयको कुरो गर्दै छु, त्यस बेला सुनको मूल्य प्रतितोला रू.२०० भन्दा पनि तलै हुँदो हो । हजुरबाको लगानीसम्बन्धी दृष्टिकोण बडो प्रस्ट थियो फाल्टु पैसा हुनेले सुन किनेर राखे हुन्छ । यसले कहिल्यै पनि घाटा हुँदैन । त्यस्तै लगानीको अर्को क्षेत्र ऊन पनि फाइदाकारी हुन्छ । ऊन अर्थात् राडी, पाखी, भेडा, बाख्रापालनसँग जोडिएका सबै क्षेत्र । म अहिले पो आएर कुरो बुझ्दै छु- उहाँले त व्यावसायिक पशुपालनतर्फ पो सङ्केत गर्नुभएको रहेछ । घरव्यवहारका अरू मामिलामा पनि हजुरबा निकै खरो व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त एउटा स्थायी आदेश नै थियो हामी परिवारका सबै सदस्यहरूलाई ‘चाहे जोसुकै बिचमा भए पनि हिसाब र निसाफ सधैं क्लियर हुनुपर्छ ।’ इमान्दारीका साथ भन्छु, जहाँजहाँ हामीले यो सूत्रपूर्ण रूपमा लागू गर्न सक्यौं, त्यहाँको सम्बन्ध सधै सुमधुर रह्यो । तर, हिच्किचाहटका कारणले, मुख फोर्न नसकेका कारणले वा यति नजिकका मान्छेलाई त के भनिरहनुपर्ला र हौ भनेर जहाँजहाँ हामीले यो सूत्र लगाउन सकेनौं, त्योत्यो ठाउँमा आखिर उहाँले नै भन्ने गरेको जस्तो ‘पैसाको मुख रातो भएरै छोड्यो । उहाँको भनाइ नै थियो- ‘हातले दिएर खुट्टाले खोज्ने काम नगर्नू । यो धेरै गाह्रो काम हो । यसो गर्न थाल्यो भने त दुनियाँले पैसा थन्क्याएको व्यान पनि एक दिन डुब्छ ।’ अचेल पो यसो सम्झिँदा लाग्छ, मैले आफ्नो जीवनमा भेटेको पहिलो अर्थमन्त्री भने पनि, हाम्रो गार्हस्थ्य बैंकको कुशल गभर्नर भने पनि, सामाजिक क्षेत्रको व्यवस्थापक भने पनि वा मसँग साक्षात्कार भएका जीवनकै पहिलो मुद्राविज्ञ जे भने पनि उहाँ नै पो हुनु हुँदो रहेछ । मेरो त बैंक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले मैले आफ्नो नाममा खोलेको पहिलो बैंक खाता पनि नेबैलिकै थियो । तर, जिन्दगीले यसरी हुत्यायो कि म झापाको मान्छेको पहिलो बैंक खाता नैबैलिको तानसेन (पाल्पा) शाखामा पुगेर खोलियो । मेरा हजुरबा अब यो धर्तीमा हुनुहुन्न तर उहाँले चोर औंला तेर्स्याएर देखाएको नेपाल बैंक धर्तीमै छ । अब त म आफैं पनि हजुरबा भइसकेको छु । नातिलाई अस्ति नै लगेर नेबैलिको गोठाटार शाखा बसेको घर देखाइसकेँ । म चाहन्छु- अन्तरिक्षमा चन्द्र र सूर्य रहुञ्जेल धर्तीका प्रत्येक हजुरबाहरूले आफ्ना नाति नातिनाहरूलाई औंलो तेर्स्याएर नेपाल बैंकतिर देखाइरहून् । (नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्क, २०८० बाट साभार)