जीडीपीको ४४ प्रतिशत पुग्यो सार्वजनिक ऋण, लक्ष्यभन्दा बढी ऋण लिनुपर्ने बाध्यता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को महिलो महिनामा ४१ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । यससँगै नेपालले तिर्न बाँकी रहेको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको ४३.३४ प्रतिशत पुगेको छ । उक्त ऋणमध्ये १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६८ अर्ब ५४ करोड बाह्य ऋण हो । कार्यालयले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकाेमा साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ । साउन महिनामा नेपालले १९ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण प्राप्ति १२.१२ प्रतिशत तथा बाह्य ऋण प्राप्ति १.६ प्रतिशत रहेको छ । कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण २१.१० प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड र वाह्य ऋण दायित्व २२.२४ प्रतिशत अर्थात् १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कर्यालयका अनुसार सरकारले कुल साउनमा १९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले १७ अर्ब आन्तरिक ऋण भुक्तानी गरेको छ भने २ अर्ब २७ करोड वाह्य ऋण भुक्तानी गरेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा कुल ५ अर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा साउनमा ४३ अर्ब ५९ करोड ऋण प्राप्त भएको कार्यालयले जनाएको हो । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण १२.१२ प्रतिशत तथा वाह्य ऋण १.६६ प्रतिशत रहेको कार्यालय रहेको बताएको छ । यसैगरी खर्च तथा ऋण बढिरहने तर राजस्व संकलन नबढ्ने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने देखिएकाे छ ।

अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ । हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् । साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ । मूल्य फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् । इन्जिन सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ । किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ग्राउण्ड क्लियरेन्स सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ । सिट क्षमता सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ । टायर यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ । सुरक्षा प्रणाली सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ । उच्च गति सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।

अटो शोको हटकेक ‘स्काईवेल’, नेपालमै उच्च रेञ्ज, ४ लाख बढी छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ ‘स्काईवेल बी ११’ । नेपालमा विद्युतीय गाडीमध्ये उच्च रेञ्ज दिने यस गाडी उपभोक्ताको रोजाइमा परिरहेको छ । गाडीको बिक्री जी मोटर्सले गरिरहेको छ । यो गाडी उपभोक्ताको हटकेक बनिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काई वेल बी ११ गाडीले हालसम्मकै उच्चतम रेञ्ज दिन्छ । एक पटक फुल चार्ज गरेपछि ६२० किलोमिटरसम्मको दुरी सवार गर्न सकिने उनको भनाइ छ । कम्पनीले सो गाडीको बिक्री गत वैशाखदेखि सुरु गरेको थियो । असार मसान्तसम्म आइपुग्दा ४० वटा गाडी कम्पनीले बिक्री गरिसकेको गेलालले बताएका छन् । प्रबन्ध निर्देशक गेलालले सो गाडीलाई आफूले पनि नेपालका विभिन्न ठाउँ पुगेर १० हजार किलोमिटर कुदाएकोले अनुभवका आधारमा गाडी आकर्षक रहेको सुनाए । यसरी आफंैले सो गाडी चलाएपछि नेपाली ग्राहकलाई बेच्न सकिने आत्मबल लिएरसो गाडी बिक्री सुरु गरेको बताए । मूल्य र छुट नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकलाई कम्पनीले आकर्षक छुट पनि दिइरहेको छ । कम्पनीले ४ लाख १० हजार रुपैयाँसम्म छुट दिएको उनले जानकारी दिए । उनका अनुसार ४१० किलोमिटर रेन्ज दिने ८० लाख रुपैयाँ मूल्य पर्ने सो गाडीको मूल्य नाडामा बुकिङ गर्दा ७५ लाख ९० हजार पर्नेछ । त्यस्तै, ५२० किमी रेन्ज दिने ९० लाख रुपैयाँ पर्ने गाडीको मूल्य ८५ लाख ९० हजार रुपैयाँमा बुक गर्न सकिनेछ । नाडा अटो शो सकिकएपछि उक्त गाडीहरुमा यसरी छुट नरहने उनले स्पष्ट पारे । बुकिङ गरेपछि पनि टेस्ट ड्राईभ गरेर मात्र गाडी खरिद गर्न उनले ग्राहकलाई सुझाव दिए । गाडीको बारेमा राम्रोसँग बुझेर नै खरिद गर्नुपर्ने धारणा उनको छ । स्काई वेलका विशेषता जी मोटर्सले एउटै ब्राण्डको गाडीहरू मात्र बिक्री गर्ने भएकाले ग्राहकलाई कन्फ्युजन नहुने उनको धारण छ । यस्तै, जी मोटर्सले पार्टपुर्जा र सर्भिसको पनि सेवा दिइरहेको छ । विश्वका ६५ देशहरूमा स्काई वेलका गाडी लोकप्रिय भइरहेको उनले सुनाए । यस गाडीको कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । उनका अनुसार गाडीमा ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री क्षमता छ । केहीले सेवालाई भन्दा बिक्री र नाफालाई बढी ध्यान दिएका हुन्छन् । तर, जी मोटर्स ग्राहकको सेवामा ध्यान दिन्छ,’ उनले भने । स्काई वेल ईयू सर्टिफिकेसन लिने पहिलो चाईनीज गाडी हो । सन् २०१७ सम्म अन्य कुनै पनि चाईनिज गाडीले ईयू सर्टिफिकेसन लिन नसकेको अवस्थामा स्काई वेलले सोही समयमा सो सर्टिफिकेट लिएको उनले उल्लेख गरे । ईयू सर्टिफिकेसन लिनु एक ठूलो सफलता भएको उनले बताए । रेन्ज, लक्जरी, कम्फर्ट, ड्राईभिङ्ग इन्जोएमेन्टका कुरामा ग्राहकहरु सन्तुष्ट रहेको उनको भनाइ छ ।